इनरुवा (सुनसरी): नेपाल सरकारले १६ वर्ष उमेर पुगेपछि नागरिकता लिने व्यवस्था गरे पनि सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गरिरहेका २८ वर्षीय अर्जुन भुजेल हालसम्म नागरिकता प्राप्त गर्न सकेका छैनन्।
आमाबुबाको अत्तोपत्तो छैन, कागजातको नाममा केही छैन। नागरिकताको आधार प्रमाण नहुँदा उहाँ सरकारी पहिचानबाट वञ्चित हुनु परेको हो।
“मलाई मेरो जन्मस्थल कहाँ हो थाहा छैन,” भुजेलले रासससँग भन्नुभयो, “आमाबुबाको नाम, थर, ठेगाना केही थाहा छैन।”
उहाँले बाल्यकाल विराटनगरस्थित कुनै बाल आश्रममा बिताउनुभएको थियो, तर कुन आश्रम थियो भन्नेसमेत उहाँलाई थाहा छैन। नौ वर्षको उमेरमा आश्रमबाट भागेर विराटनगरकै एक होटलमा काम गर्न थाल्नुभएको थियो।
केही समय होटलमा काम गरेर अनुभव बटुलेपछि अहिले इनरुवामा आएर न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आउनुभएको छ। एक वर्षदेखि यहाँ कार्यरत भुजेल पहिले ‘चङ्खे’ नामले चिनिन्थे, तर अहिले अर्जुन भुजेल नाम प्रयोग गर्दै आउनुभएको छ।
“न त आमाबुबा को हुन् थाहा छ, न जन्मथलो,” भुजेलले भन्नुभयो, “त्यसैले नागरिकता बनाउन नसकेको छु।”
उहाँले नागरिकता प्राप्तिमा सहयोगको अपेक्षा राख्दै सम्बन्धित निकायलाई पहल गर्न आग्रह गर्नुभएको छ।


