बेनी (म्याग्दी): म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइनेमङ्गलेमा निर्माण सम्पन्न भएको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी थालेको छ। संयुक्त ऊर्जा लिमिटेडद्वारा निर्माण गरिएको आयोजनाको भौतिक पूर्वाधार तथा विद्युत्गृहमा जडान गरिएका उपकरणहरूको परीक्षण सुरु गरिएको प्लान्ट म्यानेजर विनोद पौडेलले जानकारी दिनुभयो।
पौडेलका अनुसार आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह तथा स्वीचयार्ड सम्बन्धी सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ। टर्बाइनलगायतका आवश्यक मेसिन उपकरणहरू जडान गरी परीक्षण गरिएको छ। आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि आठ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ। जेठ १ गतेभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम तीव्र गतिमा भइरहेको जानकारी दिइएको छ।
कुइनेमङ्गले र चिमखोलाको सीमाक्षेत्र फेदीमा निर्माण गरिएको बाँधबाट सुरुङ र पेनस्टक पाइपमार्फत ल्याइएको पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्मित विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ। आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरुङ र ६३४ मिटर लामो पेनस्टक पाइप प्रयोग गरिएको छ।
करिब रु ३ अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत लगानी गैरआवासीय नेपाली र स्वदेशी नेपालीको छ भने बाँकी ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको छ। नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले आयोजना वित्तीय साझेदारको रूपमा लगानी गरेका छन्।
आयोजनाको सिभिल निर्माण कार्य साकुरा पावर–त्रिपल एस जेभीले सम्पन्न गरेको हो भने इलेक्टो–मेकानिकल पक्षको जिम्मा टोयर हाइड्रोलाई दिइएको थियो।


