झापा: मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीहरूको अनुगमन तीव्र बनाएको छ। बजार अनुगमनका क्रममा म्याद गुज्रिएको उपभोग्य सामग्री फेला परेपछि व्यवसायीलाई जरिवाना गरिएको छ भने सहकारीहरूलाई सचेत गराइएको छ।
नगर उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा भएको अनुगमनमा मेचीनगर–९ स्थित पूजा फुड प्रोडक्सन उद्योगमा म्याद सकिएका पास्ता, सुजी र मैदा फेला परेको थियो। उपभोक्ताको हकमा लापरबाही गरेको भन्दै उद्योग सञ्चालक पुष्पा जैसवाल चौधरीलाई नगरपालिकाले रु ५० हजार जरिवाना गरेको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए। जरिवाना तिरेपछि लापरबाही नदोहोर्याउने सर्तमा उद्योगको तालो खोलिएको हो।
अनुगमन टोलीले मेचीनगर–१० स्थित नन्दा फुड इन्डस्ट्रिज र मेचीनगर–१४ को सिङ्गापुर बेभरेज नेपाल प्रालिमा पनि अनुगमन गरेको थियो। सरसफाइमा कमजोरी देखिएकाले नन्दा फुड इन्डस्ट्रिजलाई सचेत गराउँदै सुधार गर्न निर्देशन दिइएको खाद्य विश्लेषक दिपेन्द्र कार्कीले जानकारी दिए।
यता, नगरपालिकाको सहकारी समन्वय समितिले मेचीनगरका १५ सहकारी संस्थामा स्थलगत अनुगमन गरेको छ। समितिका सचिवसमेत रहेका अधिकृत कार्कीका अनुसार आठ सहकारीले सहकारी मूल्य र मान्यता पालना नगरेको पाइएकाले सुधारका लागि सुझाव दिइएको हो।
अनुगमन गरिएका सहकारीमध्ये मेचीनगर–१० को लङ्कासरी महिला संवृद्धि, तारावारी शान्ति, मेचीनगर–१४ को आपसी समाज, विहानी, मेचीनगर–१२ को सामूहिक अभियान, सब्जीमण्डी कृषि, चारआली तथा मेचीनगर–१३ को आशावादी बहुउद्देश्यीय सहकारी संस्थाहरू रहेका छन्। यस्तै, मेचीनगर–१ देखि ५ सम्मका कृष्ण थुम्की, बौद्धमोड, प्रेरणा, ब्रह्माण्ड अपाङ्ग तथा महिला, पानस, साना किसान, र नकलबन्दा सहकारी संस्थाहरूको पनि अनुगमन गरिएको छ।
अनुगमनमा केही सहकारीमा सञ्चालक समिति बैठक नियमित नभएको, विना धितो ऋण प्रवाह, कर्मचारीलाई नियुक्तिपत्र नदिएको, ऋण फाइलमा आवश्यक कागजात नराखिएको, मासिक प्रतिवेदन नबनाएको, सूचना नटाँसेको, साधारणसभा नगरेको, सदस्य शिक्षा कार्यक्रम नचालिएको, र कर्जा जोखिम कोषको व्यवस्था नभएको जस्ता समस्या देखिएको थियो।
अनुगमन टोलीमा समिति सदस्य दुर्गाप्रसाद सापकोटा, बीपी भट्टराई, जगन्नाथ भट्टराई र सचिव कार्की सहभागी थिए।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उपभोक्ताको अधिकार सुरक्षित गर्न बजार, सहकारी र अन्य क्षेत्रमा नियमित र प्रभावकारी अनुगमन गरिने बताए।
उपप्रमुख उप्रेतीको नेतृत्वमा गरिएको बजार अनुगमन टोलीमा राजस्व शाखा प्रमुख प्रेमप्रसाद पराजुली, खाद्य निरीक्षक सङ्गीता साह, प्रशासनका हरि खतिवडा, घरेलु तथा साना उद्योग कार्यालयका सुरेश गौतम, गुणस्तर तथा नापतौल कार्यालयका विजयनन्द चौधरी, उद्योग वाणिज्य संघका विष्णु बुढाथोकी र प्रहरी सहभागी थिए।


