Tuesday, June 30, 2026
Homeसामाचारसमुद्रमा पाइने ८० प्रजातिका माछा अब एउटै टनेलमा हेर्न पाइने

समुद्रमा पाइने ८० प्रजातिका माछा अब एउटै टनेलमा हेर्न पाइने

काठमाडौँ: समुद्रमा पाइने ६० देखि ८० प्रजातिका माछा अब एउटै टनेलभित्र अवलोकन गर्न पाइने भएको छ। ललितपुरको चिडियाखानासँगै रहेको फुटबल मैदानमा सञ्चालनमा ल्याइएको ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ अहिले सर्वसाधारणको आकर्षणको केन्द्र बनेको छ।

बच्चादेखि युवा–युवतीसम्मलाई लक्षित गरी सञ्चालन गरिएको एक्स्पोमा विभिन्न उमेर समूहका मानिसका लागि खेल, मनोरञ्जन तथा परिकारहरू एकै स्थानमा उपलब्ध गराइएको छ। एक्स्पोमा प्रमुख आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेका छन्।

फिस टनेल समुद्रको गहिराइमा प्रवेश गरेर माछा हेरेको अनुभूति दिने गरी निर्माण गरिएको छ। नेपालमै पहिलो पटक यस्तो टनेल ल्याइएको व्यवस्थापक प्रभाकर लामिछानेले जानकारी दिनुभयो।

त्यस्तै, नेपालमै पहिलोपटक परीक्षण गरिएको सुनामी राइड पनि विशेष आकर्षण बनेको छ। समुद्री सुनामीको अनुभव दिलाउने गरी तयार गरिएको यो राइड यसअघि बुटवल र नेपालगञ्जमा सञ्चालन हुँदा ठूलो भीड लागेको अर्का व्यवस्थापक दीपक दाहालले बताउनुभयो। “काठमाडौँ उपत्यकामा पहिलोपटक ल्याइएको यो राइड दर्शकलाई मन पर्ने विश्वास छ,” उहाँले भन्नुभयो।

एक्स्पोमा फिस टनेल र सुनामी राइडसँगै रोटे पिङ, कोलम्बस, ड्रागन र अन्य रमाइला पिङहरू पनि राखिएका छन्। प्रति दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहने एक्स्पोमा परिवारसहित जान सकिने वातावरण बनाइएको छ।

कला संस्कृति संरक्षण नेपाल मुख्य आयोजक रहेको यस एक्स्पोलाई संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि. ले आयोजना गरेको हो। राजधानी अम्यूजमेन्ट राइड्स नेपाल को व्यवस्थापनमा सञ्चालन भएको एक्स्पोमा जाउलाखेल युवा क्लब ले समेत सहकार्य गरेको छ।

चिडियाखानासँगै रहेकाले एकै पटक चिडियाखाना र फिस टनेल एक्स्पोको मजा लिन सकिने आयोजकहरूको भनाइ छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका