काठमाडौं: संवैधानिक निकायमा गरिएको ५२ नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा नियमित सुनुवाइ भइरहेको हो।
पूर्ण इजलासमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी रहेका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेका १५ वटा रिटमाथि माघदेखि नियमित सुनुवाइ सुरु भएको हो।
बुधबार चौथो दिनको सुनुवाइ सम्पन्न भयो। सामान्यतः बुधबार र शुक्रबार मात्र पूर्ण इजलास बस्ने प्रचलन रहे पनि प्रधानन्यायाधीशकै अग्रसरतामा यस मुद्दालाई प्राथमिकता दिइएको छ।


