महेन्द्रनगर (धनुषा): भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख १२ गते मधुवनी जिल्ला भ्रमण तय भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
यस सन्दर्भमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन शनिबार भारतको जयनगरमा नेपाल–भारत उच्चस्तरीय सुरक्षा समन्वय बैठक सम्पन्न भएको हो। बैठकमा नेपालतर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए। भारततर्फबाट मधुवनी जिल्लाका प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारी, प्रहरी र अर्धसैनिक बलका प्रतिनिधिको सहभागिता रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री मोदीको भ्रमणलाई ध्यानमा राख्दै दुवै देशका सुरक्षा संयन्त्रबीच सुरक्षा तयारी, समन्वय र सूचनाको आदानप्रदानबारे छलफल गरिएको हो।
बैठकमा सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षागस्ती बढाउने, सीमा नाका तथा भन्सार क्षेत्रका सवारीसाधन र व्यक्तिहरूको निगरानी प्रणाली कडा बनाउने विषयमा सहमति भएको छ। साथै, गैरकानुनी हतियार, लागूपदार्थ तथा मानव तस्करी नियन्त्रणका लागि संयुक्त अपरेसन सञ्चालन गर्ने र भ्रमण अवधिभर विशेष सतर्कता अपनाउने सहमति पनि भएको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए।
शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउने, स्थानीय प्रशासन र सुरक्षाकर्मीबीच हरेक १२ घण्टामा अन्तरसमन्वय बैठक गर्ने र सूचनाको तत्काल आदानप्रदान गर्ने निर्णय पनि गरिएको छ।
संभावित अप्रिय घटना रोक्न दुवै देशका सुरक्षा निकायले ‘र्यापिड रिस्पोन्स टिम’ तयार राख्ने र सात बुँदामा कार्यान्वयन गर्न सहमति भएको कडरियाले जानकारी दिए।


