काठमाडौँ, बैशाख १ : नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रबर्द्धन गर्ने उद्देश्यले ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आजदेखि सञ्चालन हुनेछ। यो कार्यक्रम चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा आयोजना गर्ने हो। कार्यक्रम नगरकोटको प्रसिद्ध ‘बतासेडाँडा’ मा हुनेछ।
भ्रमण वर्षभरि चल्नेछ र यसमा एक लाख अन्तर्राष्ट्रिय तथा १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा भ्रमण वर्ष आयोजना गरिएको हो, जसको प्रवद्र्धकको रूपमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड छन्।
कार्यक्रमको सफलताका लागि मण्डन देउपुर नगरपालिकाका नगरप्रमुख टोपबहादुर वाइबाको संयोजकत्वमा एक हजार १०१ सदस्यीय संयुक्त मूल आयोजक समिति गठन गरिएको छ। यस समितिमा चाँगुनारायण नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, शङ्खरापुर नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, मण्डन देउपुर उपप्रमुख विष्णुमणि नेपाल र चारवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू समावेश छन्। यसका साथै नौ वटा उपसमितिहरू पनि गठन गरिएको छ।
भ्रमण वर्षको अवसरमा नगरकोटसँग सम्बन्धित चारवटै नगरपालिकाको पर्यटकीय स्थल, कृषि पर्यटन, स्थानीय जातजाति, वेशभूषा, जात्रा, पर्व र सांस्कृतिक पहिचानलाई उजागर गर्दै होमस्टेको विस्तार गरिने छ। चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले राससलाई जानकारी दिनुभयो।


