वासिङटन डिसी (अमेरिका): स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खादिजा अब्दुल समाद अब्दुल्लाहबीच न्युयोर्कमा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रमा भाग लिन पुग्नुभएका मन्त्री पौडेलले ‘साइडलाइन’ भेटघाटका क्रममा माल्दिभ्सकी समकक्षीसँग स्वास्थ्य क्षेत्रसम्बन्धी सहकार्यलगायत विषयमा विचार–विमर्श गर्नुभएको हो।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका अनुसार उक्त भेटमा दुवै पक्षले आपसी सहयोगका सम्भाव्य क्षेत्रहरूबारे छलफल गरेका थिए।


