काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटवार्ता गरेका छन्। दुई नेताबीच भएको भेटमा द्विपक्षीय व्यापार, इरानसँगको सम्बन्ध, ट्यारिफ नीति र हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरूको अवस्थाबारे गम्भीर छलफल भएको जनाइएको छ।
पत्रकारहरूले राष्ट्रपति ट्रम्पलाई ट्यारिफ (कर) मा कुनै छुटको सम्भावनाबारे सोध्दा उनले स्पष्ट रूपमा भने, “हामी यस विषयमा त्यो ढंगले सोचिरहेका छैनौं। धेरै देशहरू अहिले हामीसँग निष्पक्ष व्यापार सम्झौताको तयारीमा छन्।”
प्रधानमन्त्री नेतान्याहूले पनि व्यापार घाटा घटाउन इजरायल प्रतिबद्ध रहेको जनाउँदै भने, “हामी अमेरिकासँगको व्यापार घाटा चाँडै हटाउने योजनामा छौं। यो हाम्रो लागि सही निर्णय हो र हामी व्यापारमा रहेका अनावश्यक अवरोधहरू पनि हटाउनेछौं।”
ट्रम्प प्रशासनद्वारा ट्यारिफ नीतिसम्बन्धी घोषणा गरेपछि प्रधानमन्त्री नेतान्याहू उनलाई भेट गर्ने पहिलो विदेशी नेता बनेका छन्।


