काठमाडौँ: राजधानी काठमाडौँको वायु प्रदूषण सोमबार पनि उच्च रहेको छ। आईक्यू एयरको बिहान ७:३० बजे गरिएको मापनअनुसार काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ।
आज काठमाडौँको हावाको गुणस्तर सूचकांक (एक्यूआई) २३० मापन गरिएको छ, जुन स्तर ‘अस्वस्थकर’ श्रेणीमा पर्छ। काठमाडौँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्डभन्दा ३१ गुणा बढी पाइएको छ।
हाल विश्वकै सबैभन्दा प्रदूषित सहर भारतको राजधानी नयाँ दिल्ली रहेको छ। तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर परेको छ।
त्यसपछि शीर्ष १० प्रदूषित सहरहरूको सूचीमा क्रमशः भियतनामको हानोई, चीनका बेइजिङ र ग्वानझाओ, म्यानमारको यङगुन, चीनको सांघाई, भारतको मुम्बई र चीनको वुहान रहेका छन्।


