Sunday, June 28, 2026
Homeसामाचारप्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण आजदेखि

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण आजदेखि

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमणका साथै बङ्गालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज बैंककतर्फ प्रस्थान गर्दै हुनुहुन्छ।

थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक औपचारिक रूपमा थाइल्याण्डको भ्रमण हुन लागेको हो। प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको भ्रमण टोली चैत १९ गते दिउँसो १:३० बजे थाइ एयरलाइन्समार्फत बैंककतर्फ प्रस्थान गर्नेछ। प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले भ्रमणको सम्पूर्ण तयारी पूरा गरिसकेको छ। साथै, प्रधानमन्त्री ओलीले भ्रमणबारे सङ्घीय संसद्का दुवै सदनलाई औपचारिक जानकारी गराइसक्नुभएको छ।

चैत २० गतेदेखि सुरु हुने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता हुनेछ, जसमा पर्यटन र संस्कृतिसम्बन्धी दुईवटा तथा निजी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछन्। वार्तापछि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातले संयुक्त प्रेस ब्रिफिङ गर्नेछन्। साथै, प्रधानमन्त्री ओलीले थाइल्याण्डका नरेशसँग पनि शिष्टाचार भेट गर्नुहुनेछ।

प्रधानमन्त्री ओलीले चैत २१ गते बिहान थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नुहुनेछ। दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा उहाँ सहभागी हुनुहुनेछ।

चैत २२ गते प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ। सम्मेलनपछि अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन वार्ता’ गर्ने उहाँको योजना छ। त्यस्तै, मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन सम्झौतामा हस्ताक्षर हुने समारोहमा पनि उहाँ सहभागी हुनुहुनेछ। साँझ बैंककस्थित नेपाली दूतावासमा आयोजना हुने कार्यक्रममा समेत प्रधानमन्त्री ओलीको उपस्थिति रहनेछ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहित २१ जना सहभागी हुनेछन्।

यस भ्रमणका लागि परराष्ट्र मन्त्रालयका दुई अधिकारी अग्रिम रूपमा बैंकक पुगिसकेका छन्। साथै, थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीसहित दूतावासका चार अधिकारी नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी भ्रमण दलमा समावेश हुनेछन्। भ्रमणमा नेपालको निजी क्षेत्रका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीले भ्रमणपूर्व आइतबार पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श गर्नुभएको थियो। छलफलमा नेपालको आर्थिक विकास, पूर्वाधार, ऊर्जा, पर्यटन तथा सांस्कृतिक सहकार्यलाई प्रवर्द्धन गर्दै भ्रमणलाई नेपालको हितमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिइएको थियो।

प्रधानमन्त्री ओली नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका