काठमाडौँ: स्वीट्जरल्याण्डको जेनेभामा नेपालको पर्यटन प्रवर्द्धन गर्दै स्वीस नागरिकलाई नेपाल भ्रमणको निम्तो दिइएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घका लागि नेपाल स्थायी मिसन, जेनेभाको सहकार्यमा आयोजित ‘नेपाल नाइट’ कार्यक्रम मार्फत स्वीट्जरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणका लागि आह्वान गरिएको हो।
सोमबार जेनेभामा सम्पन्न नेपाल नाइटको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटनका अवसर र नेपाली आतिथ्य संस्कृतिको विशेषता प्रस्तुत गर्दै स्वीस पर्यटकलाई नेपाल भ्रमण गर्न निमन्त्रणा जनाउनुभएको छ।
सचिव सिंहले नेपाल र स्वीट्जरल्याण्ड बीचको कूटनीतिक सम्बन्धको इतिहासको चर्चा गर्दै, यी दुई देशका भौगोलिक समानताहरू र स्वीट्जरल्याण्डले नेपालको पूर्वाधार, प्रविधि र पर्यटन प्रवर्द्धनमा गरेको योगदानको स्मरण गराउनुभयो। उहाँले प्रसिद्ध स्वीस भूगर्भविद् र अन्वेषक डा. टोनी ह्यागेनको नेपाललाई विश्वसामु चिनाउन गरेको योगदानको प्रशंसा पनि गर्नुभयो।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले नेपालको पर्यटकीय विविधता, रमणीय भू-दृश्य र पर्यटनका नयाँ पहलहरूको विस्तृत प्रस्तुति दिनुभयो। पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले नेपालमा थप स्वीस पर्यटक र लगानीकर्तालाई स्वागत गर्न नेपाल पूर्णरूपमा तयार रहेको जानकारी दिनुभएको छ।


