काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको चर्को विरोध भइरहेको छ। सत्तारुढ दलहरूभित्रै असन्तुष्टि बढ्दै गएको देखिन्छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला ले पनि यस विषयमा कडा प्रतिक्रिया दिएका छन्। उनले सरकारको यो कदमलाई कुशासनको निरन्तरताको अर्को उदाहरण भनेका छन्।
डा. कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्:
“कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न सरकारले गर्न सक्छ, न पार्टीले। नेपाली कांग्रेसले यसको स्वामित्व लिनै हुन्न। यसरी कति दिन चल्ने र चलाउने? विनाशकाले विपरीत बुद्धि!”
सरकारको यो निर्णयविरुद्ध सर्वसाधारणदेखि विपक्षी दलसम्म चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन्। कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य गरेको र संस्थागत सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई हटाउनु गलत भएको आलोचकहरूको तर्क छ।


