काठमाडौँ: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न विभिन्न पहल सुरु गरिएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै कार्ययोजना तयार पारिएको छ।
“हामीले विमानस्थल सञ्चालनका लागि स्पष्ट कार्ययोजना बनाई प्राधिकरण र सम्बद्ध सबै पक्षहरूसँग सहकार्य गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “सुरुआती चरणमा एयरलाइन्सलाई आकर्षित गर्न विभिन्न प्रोत्साहन कार्यक्रम लागू गरिएका थिए।”
महाप्रबन्धक तिवारीका अनुसार यात्रु भाडादर प्रतिस्पर्धी बनाउँदै विमानस्थलको बजार प्रवर्द्धन र गन्तव्य विस्तारमा ध्यान दिइएको छ। साथै, यात्रु सुविधाका लागि श्रम, मेडिकल परीक्षण तथा भिसा प्रक्रियालाई सहज बनाउन पहल भइरहेको छ। उहाँले ‘समर सेड्युल’लाई निरन्तरता दिँदै विमानस्थललाई विश्वसनीय बनाउन बलियो सहकार्य आवश्यक रहेको औँल्याउनुभयो।
सरकारले विमानस्थलको दिगो सञ्चालन सुनिश्चित गर्न विभिन्न कदम चालेको छ। श्रम स्वीकृति तथा मेडिकल परीक्षण भैरहवाबाटै गरिने, भिसा सेन्टर स्थापना गरिने, र नेपाल नागरिक उड्डयन प्राधिकरणले उपयुक्त व्यापार रणनीति लागू गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको छ। यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चैत ९ गते सरोकारवालासँग छलफल गर्नुभएको छ।
आरएनपी–एआर प्रणालीको कार्यान्वयन
विगतमा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (ILS) को अभावमा खराब मौसमका कारण केही उडानहरू स्थगित गर्नुपरेको थियो। यो समस्या समाधान गर्न भू-उपग्रहमा आधारित ‘रिक्वार्ड नभिगेशन परफर्मेन्स–अथोराइजेशन रिक्वार्ड’ (RNP-AR) अवतरण प्रणाली लागू गरिएको छ। विमानस्थलका अनुसार अब यस प्रणाली प्रयोग गर्न योग्य एयरलाइन्सका जहाज तथा प्रशिक्षित चालक दललाई अवतरण सहज हुने अपेक्षा गरिएको छ।
विमानस्थलको तथ्याङ्कअनुसार विसं २०८१ कात्तिकदेखि नियमित उडान पुनःसञ्चालनमा आएपछि यात्रु सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। सन् २०२४ मा कुल ८,१५७ यात्रु रहेकोमा सन् २०२५ को मार्च २० सम्म मात्र १३,१८१ यात्रुले यो विमानस्थल प्रयोग गरिसकेका छन्। यो वृद्धिले उडान सुधारको सकारात्मक संकेत देखाएको विमानस्थल प्रशासनको निष्कर्ष छ।


