Saturday, June 27, 2026
Homeसामाचारमुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु

मुस्ताङ: हिमाली जिल्ला मुस्ताङमा गत एक वर्षमा लेक लागेर ११ जना पर्यटकको मृत्यु भएको छ। विसं २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी र दुई नेपाली पर्यटकले ज्यान गुमाएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार मुक्तिनाथ मन्दिर दर्शन तथा मुस्ताङ भ्रमण गर्ने भारतीय पर्यटकहरूमा सबैभन्दा बढी मृत्यु भएको छ। मुस्ताङ आउनेमध्ये पाँच जनाको वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ-४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका-२ मा लेक लागेर मृत्यु भएको छ। मृत्यु हुने पर्यटकको उमेर ५८ देखि ८१ वर्षसम्म रहेको छ।

महिनावार मृत्युका तथ्यांक
प्रहरी कार्यालयका तथ्यांकअनुसार विसं २०८१ वैशाखमा दुई, जेठमा एक, असोजमा दुई, कात्तिकमा पाँच र पुसमा एक जनाले लेक लागेर ज्यान गुमाएका छन्। मृत्यु हुनेमध्ये ६३ वर्षीय अमेरिकी नागरिक पनि रहेका छन्।

यसअघि, विसं २०८० मा लेक लागेर १७ जनाको मृत्यु भएको थियो, जसमा ११ विदेशी र ६ नेपाली नागरिक थिए।

रोकथामका उपाय

लेक लाग्ने समस्यालाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, स्थानीय तह, प्रदेश अस्पताललगायत संस्थाहरूले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। पर्चा–पम्प्लेट वितरण, प्रचारप्रसार, वाल पेन्टिङ तथा भित्ते लेखनमार्फत पर्यटकहरूलाई सचेत गराउने प्रयास भइरहेको छ।

लेक लाग्नुको मुख्य कारण
विशेषगरी समथर भूभागबाट उच्च हिमाली क्षेत्रमा हतारहतार यात्रा गर्दा पर्यटकलाई लेक लाग्ने समस्या हुने गर्छ। समुद्री सतहबाट करिब ३,८०० मिटरको उचाइ पुगेपछि लेक लाग्ने सम्भावना बढ्छ। ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त व्यक्ति तथा दीर्घरोगका औषधि सेवन गरिरहेका पर्यटकलाई लेक लाग्ने जोखिम उच्च हुने जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज भुवन क्षेत्रीले बताए।

सरकार र सरोकारवाला निकायहरूले उचित तयारी र सचेतनाका माध्यमबाट लेक लागेर हुने मृत्युदर घटाउने पहल गरिरहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका