Saturday, June 27, 2026
Homeसामाचारआज विश्व पानी दिवस मनाइँदै, संसारभर १३ खर्ब ८६ अर्ब वर्गकिलोमिटर क्षेत्रमा...

आज विश्व पानी दिवस मनाइँदै, संसारभर १३ खर्ब ८६ अर्ब वर्गकिलोमिटर क्षेत्रमा पानी

काठमाडौँ: ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी विश्व पानी दिवस मनाइँदैछ। बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन तथा अत्यधिक पानीको दोहनजस्ता कारणले पानी सङ्कट थप जटिल बन्दै गएको सन्दर्भमा यस दिवसले जागरूकता फैलाउने अपेक्षा गरिएको छ।

हाल जलवायु परिवर्तनका कारण हिमनदीहरू खुम्चिँदै गएका छन्, जसले मानव जीवन तथा प्रकृतिमा गम्भीर असर पार्दै आएको छ। यही कारण यस वर्ष पानी दिवसको मुख्य नारा ‘हिमनदी संरक्षण’ राखिएको छ।

सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न तथा दिगो जल व्यवस्थापनका लागि रणनीतिक पहल अघि बढाउन संयुक्त राष्ट्रसङ्घद्वारा सुरु गरिएको हो।

पानीको तथ्यांक र संकट
विश्वभर कुल ९७.५ प्रतिशत पानी समुद्रमा रहेको छ, जुन नुनिलो भएकाले पिउन, सिँचाइ तथा विद्युत् उत्पादनका लागि उपयोग गर्न सकिँदैन। बाँकी २.५ प्रतिशत पिउनयोग्य भए तापनि यसको वितरण असमान छ। अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार प्रत्येक वर्ष एक जनालाई करिब नौ हजार घनमिटर पानी आवश्यक पर्छ। तर विश्वका करिब एक अर्ब मानिस सुरक्षित पानीको अभावमा जीवनयापन गर्न बाध्य छन्।

नेपालको सन्दर्भमा प्रति व्यक्ति जलस्रोत उपभोग क्षमता तीन हजार ६०० घनमिटर भए पनि हाल उपभोग दर केवल ३९३.५ घनमिटरमा सीमित छ। यसले प्रभावकारी जल व्यवस्थापनको आवश्यकतालाई झल्काउँछ।

जलवायु परिवर्तन र पानी संकट
औद्योगिकीकरण, तापमान वृद्धिजस्ता कारणले परम्परागत जलस्रोतहरू सुक्दै गएका छन्। हिमनदीको ह्रास र हिमताल फुट्ने जोखिम बढेको छ। मानवजनित अतिक्रमण, अनियन्त्रित भूमिगत जल उत्खनन तथा वर्षात्को पानीको उचित संरक्षण अभावले समस्या थप जटिल बन्दै गएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर ४० देखि ६० प्रतिशत पानी चुहावट र दुरुपयोग हुने गरेको छ।

नेपालको रणनीति र प्रयास
नेपाल जलस्रोतमा धनी भए पनि उचित व्यवस्थापनको अभावका कारण धेरै नागरिकले सुरक्षित तथा पर्याप्त पानी पाउन सकेका छैनन्। सरकारद्वारा जल र ऊर्जाबीचको अन्तरसम्बन्धबारे जनचेतना अभिवृद्धि गर्ने, जल उपयोगसम्बन्धी नीतिगत बहस अघि बढाउने तथा सरोकारवालाहरूलाई एकजुट गर्ने उद्देश्यसहित साताव्यापी कार्यक्रम सञ्चालन भइरहेको छ।

नेपालका अधिकांश नदी हिमालय क्षेत्रबाट उत्पन्न भएका छन्। जलवायु परिवर्तनको असर गहिरिँदै गएको सन्दर्भमा हिमनदी संरक्षणलाई विशेष प्राथमिकता दिई कार्यान्वयनात्मक पहल आवश्यक देखिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका