Saturday, June 27, 2026
Homeसुन्दर नेपालसगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही, आरोहणको चहलपहल बढ्यो

सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही, आरोहणको चहलपहल बढ्यो

काठमाडौं: सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो निर्माण तथा ‘रोप फिक्सिङ’ कार्य प्रारम्भ भएको छ। पर्वतारोहण सञ्चालक संघ नेपालले आठ सदस्यीय दक्ष पर्वतारोही टोलीलाई यो जिम्मेवारी दिएको हो। अनुभवी गाइड अशोक लामा नेतृत्वको टोलीले यस वसन्त ऋतुमा सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा आरोहण मार्ग खुलाउनेछ।

संघले व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई सुम्पिएको छ। यस टोलीमा अशोक लामासँगै कर्माग्याल्जेन शेर्पा, पेमनुरबु शेर्पा, मिङदावा शेर्पा, टासी शेर्पा, पासारिन्जी शेर्पा, पास्तान्जेन शेर्पा र टासीनर्बु शेर्पा छन्। टोलीलाई आवश्यक सामग्री तथा उपकरण हस्तान्तरण भइसकेको छ।

सुरक्षित आरोहणका लागि व्यवस्थापन

एट्के कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन कम्पनीले पूर्ण क्षमताका साथ कार्य गर्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार आरोहण मार्ग खुलाउने कार्यमा दक्ष व्यावसायिक आरोही टोली खटिसकेको छ। मौसमअनुसार डोरी टाँग्ने कार्य समयमै सम्पन्न गरिनेछ। यो सिजनमा ६०० भन्दा बढी आरोही सगरमाथा आरोहण गर्ने अनुमान गरिएको छ।

टेन्डर प्रक्रियाबाट जिम्मेवारी हस्तान्तरण

पर्यटन विभागसँगको सम्झौताअनुसार पर्वतारोहण सञ्चालक संघले हरेक वर्ष ‘रोप फिक्सिङ’को कार्य टेन्डर प्रक्रियाबाट सञ्चालन गर्दै आएको छ। सन् २०२५ का लागि एट्के एक्सपिडिसन कम्पनीले यो जिम्मेवारी पाएको छ, जसले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म मार्ग निर्माण तथा डोरी टाँग्नेछ। विगतमा सेभेन समिट ट्रेक्स (२०२४) र इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन (२०२३) ले यो कार्य सम्हालेका थिए।सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माणको जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) को ‘आइसफल डाक्टर’ टोलीले लिएको छ। यसपटक १० जनाको टोली परिचालन गरिएको छ। खुम्बु आइसफल क्षेत्र जोखिमयुक्त भएकाले दक्ष आरोहीहरूलाई सुरक्षित मार्ग निर्माणका लागि खटाइएको छ। आइसफल डाक्टर टोलीले डोरी टाँग्ने, भिरालो क्षेत्रमा भर्‍याङ राख्ने तथा हिमपहिरोको जोखिम न्यूनीकरण गर्ने कार्य गर्नेछ। दोस्रो शिविरसम्मको बाटो निर्माण गर्न झन्डै २० दिन लाग्ने अनुमान गरिएको छ।

सगरमाथा आरोहणको चहलपहल तीव्र

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि आरोहीहरू अनुमति प्रक्रिया पूरा गर्दैछन्। सम्पर्क अधिकृत खटाउने, आधार शिविर व्यवस्थापन गर्ने लगायतका कार्यहरू अघि बढाइएको छ।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले यो सिजनमा अहिलेसम्मकै धेरै आरोही आउने संकेत देखिएको बताए। उनका अनुसार सेभेन समिट ट्रेक्समार्फत मात्र १०० भन्दा बढी आरोही सगरमाथा आरोहणमा जानेछन्। अन्य अग्रणी एक्सपिडिसन कम्पनीहरू सतोरी एडभेन्चर्स, पायोनियर एडभेन्चर्स, हिमालयन गाइड ट्रेक्स, इमाजिन नेपाल ट्रेक एन्ड ट्याग नेपालले पनि आरोहण व्यवस्थापनका लागि तयारी तीव्र पारेका छन्।

सगरमाथा आरोहणका लागि उपयुक्त मौसम सामान्यतया मे महिनामा आउने चारवटा ‘वेष्ट समिट विन्डो’ मध्ये एकमा पर्छ। हावाको गति कम हुने तथा हिउँपर्ने सम्भावना न्यून हुने यी विन्डोहरूमा आरोहीहरू चुचुरोतर्फ अघि बढ्ने गर्छन्।

यस वसन्त ऋतुमा सगरमाथा आरोहण उत्साहजनक हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका