Saturday, June 27, 2026
Homeसुन्दर नेपालनगरकोट भ्रमण वर्ष–०८२ मा होटल व्यवसायीले १० प्रतिशत छुट दिने

नगरकोट भ्रमण वर्ष–०८२ मा होटल व्यवसायीले १० प्रतिशत छुट दिने

भक्तपुर: आगामी वैशाख १ गतेदेखि सुरु हुने नगरकोट भ्रमण वर्ष–२०८२ लाई सफल बनाउन नगरकोटका होटल व्यवसायीहरूले यहाँ आउने पर्यटकलाई वर्षभरि १० प्रतिशत छुट दिने घोषणा गरेका छन्।

बुधबार चाँगुनारायण नगरपालिकामा यहाँका चार नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधिहरूबीच आयोजित छलफलमा होटल व्यवसायीहरूले भ्रमण वर्षलाई प्रवर्द्धन गर्न विशेष छुट दिने निर्णय गरेका हुन्।

चाँगुनारायण नगरप्रमुख जीवन खत्रीका अनुसार, होटल व्यवसायीहरूले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गर्न छुटको घोषणा गरेका छन्। साथै, नगरपालिकाले पर्यटकको बसाइ लम्ब्याउने, पुनः भ्रमण गर्न प्रेरित गर्ने, र उत्कृष्ट आतिथ्य सेवाको प्रवर्द्धन गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ। “करोडौँको लगानीमा सञ्चालित होटल व्यवसायीहरूले भ्रमण वर्ष सफल बनाउन सामाजिक दायित्वअनुसार योगदान गर्नुपर्छ। सबै वर्गका आन्तरिक पर्यटकलाई सहज रूपमा सेवा दिन छुटका प्याकेज आवश्यक छन्,” नगरप्रमुख खत्रीले बताउनुभयो।

नगरकोट भ्रमण वर्ष चार नगरपालिकाहरू – चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्करापुर – को संयुक्त प्रयासमा आयोजना हुँदैछ।

भ्रमण वर्षका लागि तयारी तीव्र
नगरकोट भ्रमण वर्षलाई लक्षित गरी विभिन्न पूर्वाधार सुधारका काम अघि बढाइएको छ। नगरपालिकाले नगरकोट–कमलविनायक सडकखण्ड कालोपत्र गर्न ठेक्का आह्वान गरिसकेको जनाएको छ।

मण्डनदेउपुर नगरप्रमुख टोपबहादुर वाइबाले नगरकोट चार नगरपालिकाको सङ्गमस्थल भएकाले भ्रमण वर्ष सफल बनाउन सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो। चार नगरपालिकाले पर्यटकीय पूर्वाधार तथा भौतिक संरचना निर्माणमा लगानी गर्ने योजना बनाएका छन्।

बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले नगरकोटका होटल महँगो भएकाले भ्रमण वर्षलाई ध्यानमा राख्दै विशेष छुट तथा प्याकेज बनाउन आग्रह गर्नुभयो। साथै, नगरकोटमा खानेपानी सुधारका लागि पहल भइरहेको जानकारी दिनुभयो।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङका अनुसार भ्रमण वर्षको उद्घाटन स्थलका लागि स्थायी संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। समितिले पर्यटन व्यवसायीहरूसँग पुनः छलफल गरी थप निर्णय लिने बताइएको छ।

नगरकोटका वडाध्यक्ष धनबहादुर लामाका अनुसार, भ्रमण वर्ष अवधिभर सबै होटलहरूले आफ्नो परिसरलाई झिलीमिली बनाउने, प्रचारप्रसार गर्ने, र पर्यटकलाई आकर्षित गर्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा पर्यटन व्यवसायी सुगरत्न कंसाकार, नगरकोट भ्रमण वर्ष–२०८२ का सम्पर्क व्यक्ति तथा विज्ञ डा. घनश्याम खतिवडालगायतले नगरकोटमा पर्यटक तान्ने नयाँ कार्यक्रमहरू ल्याइने जानकारी गराएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका