ढोरपाटन (बागलुङ): बेलायती र सिङ्गापुरे सेनामा भर्ती हुन चाहने नेपाली युवाका लागि बागलुङमा आधुनिक प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ। भूतपूर्व चार जना बेलायती तथा दुई जना सिङ्गापुरे लाहुरेसहित छ जनाको संयुक्त लगानीमा करिब रु ५ करोड ५० लाखको लागतमा यो केन्द्र सञ्चालन गरिएको हो।
बागलुङ नगरपालिका–४ डाँडाखेतमा स्थापित यस प्रशिक्षण केन्द्रमा छात्रावासको सुविधा रहेको छ। केन्द्रका सचिव जङ्गबहादुर पुनका अनुसार सन् २०२६ को भर्तीका लागि इच्छुक युवाहरूको भर्ना प्रक्रिया सुरु भइसकेको छ। यसअघि बागलुङ, म्याग्दी र पर्वतका युवाहरूलाई तालिमका लागि पोखरा वा बुटवल जानुपर्ने बाध्यता थियो। यही समस्या समाधान गर्न उनीहरूको पहुँचमा प्रशिक्षण उपलब्ध गराउने उद्देश्यले केन्द्र स्थापना गरिएको हो।
जैमिनी नगरपालिका–३ दमेकका भूतपूर्व बेलायती सैनिक पुनका अनुसार तीन वर्षअघि निर्माण थालिएको यस केन्द्रका लागि ६ रोपनी जग्गा खरिद गरिएको थियो। एकसाथ १०० जना प्रशिक्षार्थीलाई प्रशिक्षण दिन सकिने सुविधा यहाँ छ।
पुनका अनुसार “बागलुङ, म्याग्दी र पर्व क्षेत्रका युवाहरू लाहुरे बन्न इच्छुक छन्, तर उपयुक्त प्रशिक्षण केन्द्रको अभाव थियो। यही आवश्यकता पूरा गर्न हामीले यो केन्द्र सञ्चालनमा ल्याएका हौँ। हालसम्म करिब रु ५ करोड ५० लाख लगानी भइसकेको छ।”
केन्द्रका कोषाध्यक्ष पूर्णबहादुर रानाका अनुसार १८ देखि २१ वर्ष उमेर समूहका युवाहरू बेलायती वा सिङ्गापुरे सेनामा भर्ती हुन योग्य हुन्छन्, तर तालिममा भने १६ वर्ष पूरा गरेपछि प्रवेश पाउन सकिन्छ। राना स्वयं सिङ्गापुर पुलिसबाट अवकाशप्राप्त व्यक्ति हुन्। हाल काठेखोला गाउँपालिका–८ लेखानी स्थायी घर भएका पूर्णबहादुर श्रेष्ठ केन्द्रमा प्रशिक्षकका रूपमा कार्यरत छन्।


