काठमाडौं: पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषयमा अनुसन्धान गर्न गठित छानबिन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ।
उद्घाटन समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइत भएका थिए।
घटना पछि, गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका थिए।
समितिले घटनाको विस्तृत छानबिन गरी, भविष्यमा यस्ता घटनाहरू पुन: नदोहोरिनका लागि पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपायहरू सहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको छ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेखित विषयहरू कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन्।
समितिले कार्यक्रमका लागि विशिष्ट व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्दा सुरक्षा पक्षलाई प्राथमिकता दिनुपर्ने, मञ्चमा प्रज्वलनशील पदार्थहरूको प्रयोगमा रोक लगाउनुपर्ने, र प्रविधिको नाममा जोखिम मूल्यांकन नगरी कार्यक्रमहरू समावेश गर्न नसकिने विषयमा सुझाव दिएका छन्।
समितिको प्रतिवेदनमा भविष्यमा यस्ता घटनाहरू हुन नदिन सुधारका लागि विभिन्न सुझावहरू समावेश गरिएका छन्। यस्ता सुधारहरूमा विस्फोटक रसायन र प्रज्वलनशील पदार्थको अनाधिकृत आपूर्ति र उपयोगमा बन्देज लगाउनुपर्ने, यस्ता कार्यक्रमहरूको आयोजना गर्न अनुमति प्राप्त गर्नुपर्ने, सुरक्षा मापदण्डको पालन गर्दै सुरक्षित विकल्पहरूको प्रयोग गर्नुपर्ने, बेलुन उडाउन हिलियम ग्याँस जस्ता अप्रज्वलनशील ग्याँस प्रयोग गर्नुपर्ने, र आतिसबाजी र विष्फोटक रसायनको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने उल्लेख गरिएको छ।
समितिले आगामी सार्वजनिक कार्यक्रमहरूको व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न आयोजकहरूले योजना बनाउनुपर्ने र स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गर्नुपर्ने पनि सुझाएको छ। यसका साथै, सुरक्षा व्यवस्था, विपद् व्यवस्थापन, र कार्यक्रम सञ्चालन विधिका विषयमा स्पष्ट कार्यविधि मापदण्ड तयार गर्नुपर्ने सुझाव गरिएको छ।


