काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) को अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उत्सवका रंगहरूसँग तुलना गर्नुभएको छ।
उहाँले भन्नुभयो, “फागु पर्वमा खेलिने विविध रङहरू जस्तै, हाम्रो समाज पनि विविधतामा एकताले जोडिएको विशिष्ट पहिचान बोकेको छ।”
नेपालका हिमाल, पहाड र तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइने फागु पर्व पारिवारिक स्नेह, सामाजिक सद्भाव र मेलमिलापको प्रतीक भएको देउवाले उल्लेख गर्नुभयो।
उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “फागु पर्व हाम्रो धार्मिक तथा सांस्कृतिक धरोहर हो। अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष आत्मीयता, पारस्परिक एकता र उल्लासका साथ मनाउँदै आएको छ।”
वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने फागु पर्वले नेपाली समाजलाई अझ बढी एकताबद्ध बनाउने विश्वास व्यक्त गर्दै सभापति देउवाले शुभकामना दिनुभएको छ।
“यो पर्वले सबैको घर-परिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गरोस्,” उहाँको सन्देशमा उल्लेख छ।


