काठमाडौँ: सरकारले डा. रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जना उम्मेदवारमध्ये तनहुँका विकास अर्थशास्त्री डा. काफ्ले कार्यकारी निर्देशक पदमा चयन हुनुभएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निजी सचिवालयद्वारा जारी जानकारीअनुसार, सिफारिस समितिले आवेदन दिएका १० उम्मेदवारमध्ये फागुन १८ र १९ गते भएको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि अन्तिम सूचीमा डा. काफ्ले, डा. कृष्णप्रसाद अधिकारी, र कमल पन्थीलाई समेटी मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।
स्वास्थ्य बिमा सुधारमा सक्रिय भूमिका
मन्त्री पौडेलले गठन गरेको बिमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य हुनुहुन्थ्यो। उक्त कार्यदलले स्वास्थ्य बिमा सुधारका लागि विभिन्न सिफारिससहितको प्रतिवेदन मन्त्री पौडेललाई बुझाइसकेको छ।
यसअघि, डा. काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी पदमा कार्यरत हुनुहुन्थ्यो। बोर्डमा रहँदा श्रमिक र उनीहरूका आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी कार्यक्रम सुरु गर्न उहाँले अग्रसरता लिनुभएको थियो। उहाँको नेतृत्वमा राहत रकममा ४०० प्रतिशत वृद्धि तथा बिमा कार्यक्रममा शतप्रतिशत वृद्धि गर्ने निर्णय भएको थियो। साथै, गम्भीर रोगका लागि श्रमिक बिमा कार्यक्रम उहाँकै पहलमा आरम्भ भएको थियो।
समृद्ध अनुभव र विज्ञता
डा. काफ्ले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा एक दशकभन्दा बढी वरिष्ठ अधिकारीका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँले विभिन्न विकास रणनीति निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। अर्थशास्त्रमा विद्यावारिधि (PhD) हासिल गरेका डा. काफ्ले लामो समयदेखि प्राध्यापन तथा अनुसन्धान क्षेत्रमा पनि संलग्न रहँदै आउनुभएको छ।


