काठमाडौँ: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो एक महिनामा ६ हजार ८७९ यात्रुले आवागमन गरेका छन्। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान–अवतरणमार्फत यात्रु आवागमन भएको हो।
यस अवधिमा फ्लाई दुबईमार्फत २,४०३, जजिरा एयरवेजमार्फत ३,२६५, र थाई एयर एसियामार्फत १,०९७ यात्रुले यात्रा गरेका थिए। साथै, नेपाल एयरलाइन्सका एक नियमित तथा अन्य १३ चार्टर उडानबाट २११ यात्रु आएका विमानस्थल कार्यालयले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४,०४० ट्रान्जिट यात्रु रहेका थिए। विमानस्थलमा पछिल्लो समय नियमित उडानहरू भइरहेका छन्, जसले यसको सञ्चालनलाई थप सक्रिय बनाएको महाप्रबन्धक तिवारीले बताउनुभयो।


