ढोरपाटन (बागलुङ): लामो खडेरीपछि ढोरपाटनमा आइतबार साँझदेखि वर्षासँगै पहिलो पटक हिमपात भएको छ। यसका कारण चिसो बढे पनि किसानहरू भने बालीनाली फस्टाउने आशामा हर्षित छन्।
ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकका अनुसार हिमपातपछि ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्रहरू सेताम्य भएका छन्। उनले शुक्रबारदेखि मौसममा बदली भए पनि आइतबार साँझ मात्र वर्षासँगै हिमपात भएको जानकारी दिए।
हिमपातका कारण जनजीवन प्रभावित भएको छ। घोडा, खच्चड तथा अन्य गाईबस्तुलाई घाँस तथा दाना उपलब्ध गराउन कठिनाइ भइरहेको ढोरपाटन नगरपालिका–९ का प्रेमबहादुर घर्ती मगरले बताए। उनका अनुसार अघिल्लो महिना सामान्य वर्षा भए पनि हिमपात हुन सकेको थिएन।
“लामो समय खडेरीका कारण बाली सुक्न थालेका थिए। ढिलै भए पनि पानी परेपछि अब खेती राम्रो हुने आशा गरेका छौँ,” घर्तीले भने।


