सप्तरी: भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलाबाट घर फर्किंदै गरेका सप्तरीका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।
उत्तर प्रदेशको गोरखपुर लिङ्क रोडमा गएराति भएको दुर्घटनामा कञ्चनरुप नगरपालिका–७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर–५ की ५५ वर्षीया हरिहरवती यादव र सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलियादेवी यादवको निधन भएको छ।
कञ्चनरुप नगरपालिका–७ का वडाध्यक्ष समानन्द चौधरीका अनुसार सोही गाडीमा सवार लिलावतीका श्रीमान् उपेन्द्र नारायण चौधरी (लक्ष्मीनारायण माध्यामिक विद्यालय, बैरवाका शिक्षक), वडा नम्बर ७ कै लालुदेवी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाइँ र चालकसहित ६ जना घाइते भएका छन्। हाल उनीहरूको गोरखपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।
तीन जना मृतकका छोरा शव बुझ्नका लागि तीनवटा एम्बुलेन्स लिएर गोरखपुर प्रस्थान गरेका वडाध्यक्ष चौधरीले जानकारी दिएका छन्।


