फुङ्लिङ्: ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै भारी हिमपात भएको छ। गएराति समुद्री सतहबाट ३,७९४ मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रमा बाक्लो हिमपात परेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
यस वर्षकै बढी हिमपात
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्थानीय राजेन्द्र महतका अनुसार गत पुस महिनामा पहिलो पटक सामान्य हिमपात भएको थियो, भने फागुन महिनामा दोस्रो पटक पुनः सामान्य हिमपात भएको थियो। तर, गएरातिको हिमपात भने अत्यन्त बाक्लो भएको महतले बताउनुभयो।
उहाँका अनुसार, यसअघि भएको हिमपात पाथीभराको माथिल्लो फेदीसम्म मात्र पुगेको थियो, तर यसपटकको हिमपात काफ्ले पाटीसम्म पुगेको छ।
तीर्थयात्रीहरूलाई असर नपर्ने
बाग्लो हिमपात भए पनि तीर्थयात्रीहरूको यात्रा सहज रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो।
उहाँका अनुसार, पाथीभराधामबाट करिब दुई किलोमिटर लामो पदमार्गमा फाइबरको छानो लगाइएकाले हिमपातको असर तीर्थयात्रुहरूमा नपरेको हो।
सुविधासम्पन्न पदमार्गका कारण यात्रा सहज
विगतमा हिमपातका कारण बाटो चिप्लिने र पदमार्ग नै हिउँले ढाकिने समस्या रहेको थियो। तर, विकास समितिले फाइबरको छानो जडान गरेपछि हिमपात वा पानी पर्दा पनि तीर्थयात्रुहरू सहजै यात्रा गर्न सक्ने भएका छन्।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार, आज मात्र करिब ३०० जना तीर्थयात्रीहरूले पाथीभरा धाममा पूजापाठ सम्पन्न गरेका छन्।


