Thursday, June 25, 2026
Homeसामाचारखसिबासका बासिन्दा खोलाको पानी पिउन बाध्य

खसिबासका बासिन्दा खोलाको पानी पिउन बाध्य

कटारी: उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका बासिन्दा वर्षौंदेखि खानेपानी समस्याले ग्रस्त छन्। कुनै पनि खानेपानी आयोजना सञ्चालनमा नआउँदा स्थानीयहरू खोलाको पानी पिउन बाध्य छन्।

खोलाको पानी पनि हिउँदमा सुकेर घट्दै जाने भएकाले समस्या झन् गम्भीर बन्दै गएको छ। स्थानीय ज्ञानबहादुर तामाङका अनुसार, “खोलाभन्दा माथिल्लो गाउँमा पानीको अभाव छ। लुगा धुन र नुहाउन तल्लो गाउँसम्म जानुपर्छ, तर गाईवस्तुलाई पानी खुवाउनसमेत कठिन छ।”

तल्लो खसिबासमा केही खानेपानी आयोजना सञ्चालनमा रहे पनि माथिल्लो खसिबासमा कुनै पनि योजना पुगेको छैन। वर्षायाममा बाढी आउँदा खोलाको पानी समेत प्रदूषित हुने र हिउँदमा खोलाखोल्सी चहारेर पानी जुटाउनुपर्ने बाध्यता रहेको स्थानीय रुद्रबहादुर राई बताउँछन्।

हाल माथिल्लो खसिबासका करिब ५०–६० घरधुरी खानेपानी अभावको सामना गरिरहेका छन्। तल्लो खसिबासमा समेत सञ्चालित योजनाबाट प्राप्त पानी पर्याप्त छैन। खोलामा मोटर जडान गरेर पानी तान्नेहरूले वर्षायाममा धमिलो पानी खानुपर्ने तथा हिउँदमा पानी घट्ने समस्यासँग जुध्नुपरेको छ।

चारैतिर चुरे वनले घेरिएको यस बस्तीको मुख्य जीविकोपार्जन पशुपालन भए पनि खानेपानीको अभावले स्थानीयहरू समस्यामा परेका छन्। स्थायी समाधानको माग गर्दै स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका