काठमाडौँ: गायिका एलिना चौहान र विष्णु सापकोटाबीच कानुनीरूपमा सम्बन्धविच्छेद भएको छ। मंगलबार काठमाडौँ जिल्ला अदालतले उनीहरूको सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएको हो।
अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठका अनुसार न्यायाधीश मोना सिंहको इजलासले अंश र मानाचामल नलिने सहमतिसहित सम्बन्धविच्छेदको फैसला गरेको हो।
पारिवारिक प्रतिनिधिको उपस्थिति
अदालतमा विष्णु सापकोटाका बुबा वारेसका रूपमा उपस्थित भएका थिए। माघ दोस्रो साता चौहानले वारेस विष्णुप्रसाद खरेलमार्फत सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्।
विवाहदेखि विवादसम्म
एलिनाले गत वैशाखमा बागलुङ निवासी सापकोटासँग विवाह गरेकी थिइन्। विवाहपछि उनी अस्ट्रेलियामा पतिसँग बसेकी थिइन्। सुरुमा सब ठीक भए पनि पछि सम्बन्धमा खटपट आएपछि उनी नेपाल फर्किएर बस्न थालिन्।
सम्बन्धविच्छेदको कारण
अदालतमा पेस गरेको निवेदनमा एलिनाले आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कहिलेकाहीँ कार्यक्रममा अबेरसम्म बस्नुपर्ने परिस्थितिका कारण पतिले विभिन्न शंका गर्ने गरेको खुलाएकी थिइन्।
उनले पतिसँग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेको र कागजी सम्बन्ध मात्र कायम राख्नु उचित नभएकाले सम्बन्धविच्छेदका लागि निवेदन दिएको बताइन्।


