दमौली (तनहुँ): तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले उन्नत र स्थानीय जातका बाख्राको अनुसन्धान, प्रविधि विकास, प्रजननयोग्य बोका तथा पाठी वितरण, र स्थानीय जात संरक्षणमा सक्रियता देखाउँदै आएको छ।
बाख्रासम्बन्धी अनुसन्धान विस्तारका लागि केन्द्रले विभिन्न स्थानमा स्रोत केन्द्र स्थापना गरेको छ। तनहुँको भानु नगरपालिकास्थित बरभञ्ज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादी, घिरिङ, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना, र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्रहरू सञ्चालनमा छन्।
गत आर्थिक वर्ष २०८०/८१ मा केन्द्रले ७० खरी बाख्रा उत्पादन गर्दै लक्ष्यभन्दा दोब्बर सफलता हासिल गरेको छ। प्रमुख डा. राजु कँडेलका अनुसार खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन, र सानन क्रस जातका बाख्रा उत्पादन गरिएको छ।
बारबरी जातका ६, सिन्हाल जातका १२, बोर क्रस जातका १५९, र सानन क्रस जातका ६६ पाठापाठी उत्पादन हुँदै, सबै जातको उत्पादनले उल्लेख्य सुधार देखाएको छ।
बोयर जातको बोकाको नेपालभर उच्च माग रहेको डा. कँडेलले बताए। स्थानीय जातको तुलनामा बोयर जात बढी रुचाइने र जमुनापारी तथा खरी जातको पनि उत्तिकै माग रहेको उल्लेख गरे।
केन्द्रले गत वर्ष १४२ बाख्रा देशका विभिन्न जिल्लामा वितरण गरेको छ। म्याग्दी, सोलुखुम्बु, पाल्पा, गोरखा, कैलाली, कास्की, काठमाडौँ, दाङलगायत जिल्लामा शतप्रतिशत बोर जातका ४५ बाख्रा वितरण गरिएको थियो।
केन्द्रले आइतबारदेखि व्यावसायिक बाख्रापालन तालिम सुरु गरेको छ। माघ २० गतेसम्म चल्ने आवासीय तालिममा सातै प्रदेशका २० कृषक सहभागी छन्।
डा. कँडेलका अनुसार तालिममा रोग खोप, दाना व्यवस्थापन, प्रजनन विधि, र खोर व्यवस्थापनलगायत विषयमा प्रयोगात्मक अभ्यास गराइनेछ।


