Tuesday, June 23, 2026
Homeसामाचारसीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत

आगरा (भारत): सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले सहकार्य गर्दै पर्यटन विकासमा जुट्ने प्रतिबद्धता जनाएका छन्। नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड, र उत्तरप्रदेश पर्यटन बोर्डको समन्वयमा आयोजित अन्तरक्रियामा सहभागी व्यवसायीहरूले धार्मिक पर्यटन प्रवर्द्धन र साझेदारीलाई फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

यस क्रममा नेपाली व्यवसायीहरूलाई भारतका प्रसिद्ध धार्मिकस्थलहरूको छ दिने भ्रमण गराइएको थियो। भ्रमणमा मथुरा, आगरा, प्रयागराज, लखनऊ, बनारस, र अयोध्या क्षेत्रको अवलोकनसँगै व्यवसायीहरूबीच अन्तरक्रिया भएको थियो।

आगरामा आयोजित कार्यक्रममा दुवै देशका व्यवसायीहरूले पर्यटन सम्भावना, चुनौती, र अवसरबारे विस्तृत छलफल गरे। ताजमहलको पृष्ठभूमिमा आयोजित ‘बिटुबी’ कार्यक्रममा पर्यटकीय जानकारीसहित सम्पर्क विवरण आदानप्रदान गरियो। उत्तरप्रदेश पर्यटन विभागका अतिरिक्त रणनीतिक अधिकृत आकाश दीपले यस प्रकारका कार्यक्रमले दुवै देशको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए।

आगरा ट्राभल एजेन्ट एसोसिएसनका महासचिव कौशलेन्द्र सिंहले धार्मिक पर्यटनको सम्भावनालाई उजागर गर्न यो छलफल उपयोगी भएको बताए। उनले नेपाली पर्यटकीयस्थलबारे जानकारी पाउँदा खुसी लागेको बताउँदै भारतीय पर्यटकलाई त्यहाँ भ्रमण गर्न उत्प्रेरित गर्ने प्रतिबद्धता जनाए।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक श्रद्धा श्रेष्ठले नेपाल र भारतको पर्यटन क्षेत्रबीच सहकार्य अभिवृद्धि र धार्मिक पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।

जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले अयोध्या–जनकपुरलाई रामायण सर्किटको रूपमा विकास गर्न आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरे। सुदूरपश्चिमका व्यवसायी मायाप्रसाद भट्टले जङ्गल सफारी, बढिमालिका, खप्तडलगायत क्षेत्रका धार्मिक र पर्यटकीय गन्तव्य प्रवर्द्धनमा सहकार्यको खाँचो औंल्याए।

धार्मिक पर्यटन प्रवर्द्धनलाई थप बलियो बनाउन बनारसमा पनि प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो। सडक परिक्रमा गरी शास्त्री घाटमा सम्पन्न कार्यक्रममा नेपाली व्यवसायीहरूलाई स्वागत गरियो। बनारसी टुरिजम गिल्डका अध्यक्ष सन्तोषकुमार सिंहले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक सम्बन्धको फाइदा दुवै देशले लिनुपर्ने बताए। उनले कुम्भ मेलामा नेपाली पर्यटकलाई सहभागी हुन आह्वान गर्दै नेपालको सडक पूर्वाधार सुधार गर्नसके भारतीय पर्यटक आकर्षित हुने बताए।

उत्तरप्रदेश पर्यटन विभागको आयोजनामा लखनऊमा औपचारिक कार्यक्रम गरिएको थियो। यहाँ सरकारी निकाय र निजी क्षेत्रका व्यवसायीबीच अनुभव आदानप्रदान, पर्यटन रणनीति, र सहकार्यका विषयमा छलफल भएको थियो।

नेपालले यसअघि उत्तरप्रदेशका पर्यटन व्यवसायीहरूलाई नेपाल भ्रमणको निम्तो दिँदै यस्ता कार्यक्रमलाई वार्षिक रूपमा निरन्तरता दिने घोषणा गरिसकेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका