Tuesday, June 23, 2026
Homeसामाचारचाडपर्वले प्रकृति र संस्कृतिको संरक्षणमा भूमिका खेलेका छन् : राष्ट्रपति पौडेल

चाडपर्वले प्रकृति र संस्कृतिको संरक्षणमा भूमिका खेलेका छन् : राष्ट्रपति पौडेल

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य, सु–संस्कृत र समतामूलक समाज निर्माणका लागि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

माघे सङ्क्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश र विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। यो पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नो तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन्।

थारू समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्षको रूपमा मनाउँछन् भने तराई क्षेत्रमा यसलाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइन्छ। बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका पवित्र नदीहरूमा स्नान गरी मन्दिरमा पूजा गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन्।

यस अवसरमा घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी र खिचडीजस्ता परिकार खाई परिवारसँग रमाइलो गर्ने चलन रहेको पनि सन्देशमा उल्लेख गरिएको छ।

राष्ट्रपति पौडेलका अनुसार यस्ता विशिष्ट र मौलिक पहिचान बोकेका चाडपर्वले सांस्कृतिक र जातीय विविधतालाई जोड्दै साझा नेपाली पहिचान निर्माणमा योगदान पुर्‍याउँछ। यसले नेपाललाई विश्वसामु चिनाउने महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए।

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता समेटिएको नेपाली समाजमा यस्ता पर्वहरूले बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना फैलाउने मात्र नभई राष्ट्रिय एकता सुदृढ गर्न सहयोग गर्ने विश्वास उनले व्यक्त गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका