Monday, June 22, 2026
Homeसामाचारसहकारी ठगी प्रकरण : आजबाट जाहेरीवालाको बयान

सहकारी ठगी प्रकरण : आजबाट जाहेरीवालाको बयान

पोखरा: सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट जाहेरीवालाको बयान सुरू हुने भएको छ। बुधबारसम्म थुनछेक बहस सकिएसँगै अब जाहेरीवालाहरूको तर्फबाट बहस सुरू हुने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिएका छन्।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ।

बुधबार सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, र सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएपछि अब जाहेरीवालाको तर्फबाट बहस हुनेछ। जाहेरीवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्नेछन्।

सरकारी वकिल कार्यालयका अनुसार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधको अभियोग लगाइएको छ।

यस्तै, लामिछानेसँगै जोशी, पछाई, गुरुङ, र खनालविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ। लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको छ।

पूर्व-डिआइजी जोशीविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको अभियोग लगाइएको छ। यस्तै, पछाईंमाथि २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो दाबी गरिएको छ भने रामबहादुर खनालमाथि १४ करोड ३० लाख ९१ हजार ९११ रुपैयाँ बिगो कायम गरिएको छ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका