Monday, June 22, 2026
Homeसामाचारलहानमा अटो रिक्साको सङ्ख्या बृद्धि हुन थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या

लहानमा अटो रिक्साको सङ्ख्या बृद्धि हुन थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या

सिरहा: सिरहाको मुख्य बजार लहानमा व्यावसायिक अटो रिक्साको सङ्ख्या बढेसँगै ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। साँघुरो सडक र अव्यवस्थित ढङ्गले सञ्चालन गरिएका अटो रिक्साले सवारी दुर्घटनाको जोखिम बढाएको छ।

भित्री सडकमा सञ्चालन गर्नुपर्ने अटो रिक्सा बजार क्षेत्रमा केन्द्रित हुँदा समस्या देखिएको जिल्ला ट्राफिक कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलियाले बताए। उहाँले भने, “अटो चलाउने अधिकांश चालकमा ट्राफिक नियमप्रतिको सचेतना कम भएकाले समस्या भएको हो। भित्री सडकमा चलाउनुपर्ने अटोहरू बजार क्षेत्र र पूर्व–पश्चिम राजमार्गमै केन्द्रित हुँदा ट्राफिक व्यवस्थापन थप कठिन भएको छ।”

प्रमुख थपलियाले अटो रिक्सालाई नियमन गर्न कार्यविधि नभएकोले स्थानीय तह र यातायात कार्यालयले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार, अव्यवस्थित अटो रिक्सालाई कानुनी दायरामा ल्याई नियमन गर्न जरुरी छ।

“सिरहाको सदरमुकाम, लहान, गोलबजार, मिर्चैयालगायत बजार क्षेत्रमा अटो रिक्साको सङ्ख्या वास्तविक क्षमताभन्दा बढी छ। दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ,” प्रमुख जिल्ला अधिकारी दाहालले भने, “यदि सरोकारवाला निकायहरू सक्रिय नभए स्थिति झन् भयावह बन्न सक्छ।”

सिरहामा पछिल्लो समय अटो रिक्साको सङ्ख्या तीव्र रूपमा बढेको छ। ट्रेड युनियन महासङ्घ सिरहाका अध्यक्ष सञ्जीव उप्रेतिका अनुसार, लहानमा मात्र करिब तीन हजार अटो रिक्साहरू सञ्चालनमा छन्, जुन सडक क्षमताभन्दा तीन गुणाले बढी हो। यसतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले सरकारी नीति र स्पष्ट निर्देशिका नबनेकाले अटो रिक्सा सबैको समस्याको कारण बनेको बताए। “बजारमा रिक्साले आतङ्क सिर्जना गरेका छन्। नियमनका लागि स्पष्ट नीति र लाइसेन्सको व्यवस्था नभएकोले दुर्घटनापछि कर्तव्य ज्यान मुद्दा उठ्छ,” सोतीले भने। यातायात कार्यालयले निश्चित मापदण्ड बनाएर रिक्सा चालकलाई लाइसेन्स दिनुपर्नेमा उहाँले जोड दिए।

बिना दर्ता र अव्यवस्थित रूपमा सञ्चालन भइरहेका अटो रिक्सालाई व्यवस्थापन गर्न लहान नगरपालिकाले कार्यविधि तयार गर्ने प्रक्रियामा रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए। उहाँले कार्यविधि लागू भएपछि यातायात व्यवस्थापनमा सहजता आउने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका