Monday, June 22, 2026
Homeसामाचारपर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटक घटे

पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटक घटे

दमौली(तनहुँ): तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। चिसो मौसममा लोकप्रिय गन्तव्य मानिने बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बढेपनि बास बस्नेको सङ्ख्या घटेको छ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानका अनुसार बास बस्ने पर्यटक कम भए पनि घुमघाम गरेर सोही दिन फर्किने पर्यटकको सङ्ख्या उल्लेख्य छ। उहाँले भन्नुभयो, “बास बस्ने पर्यटक प्रायः ‘प्याकेज’मा आउँछन्, तर धेरैजसो घुमघाम गरेर साँझ फर्कने गरेका छन्।” अहिले बन्दीपुरमा दैनिक ५०० भन्दा बढी पर्यटक आउने अनुमान छ। शनिबार र सार्वजनिक बिदाका दिनमा पर्यटकको सङ्ख्या अझै बढ्ने गरेको छ।

समितिका अध्यक्ष प्रधानले विदेशी पर्यटकको आगमन पनि राम्रो भएको जानकारी दिनुभयो। उहाँका अनुसार चीनका पर्यटक बढी आएपनि जापान, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक पनि बन्दीपुर पुग्ने गरेका छन्।

‘बन्दीपुर भ्रमण वर्ष २०२५’ का संयोजक वैश गुरुङले गाउँपालिकाको पहलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन एक वर्षभरि विविध कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। “अङ्ग्रेजी नयाँ वर्षको अवसरमा विशेष कार्यक्रमको तयारी भइरहेको छ,” गुरुङले भन्नुभयो। भ्रमण वर्षको अवसरमा काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी लगायतका मुख्य सहरमा पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने लक्ष्य राखिएको छ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, र सूचना केन्द्र पर्यटकका लागि प्रमुख आकर्षण हुन्। दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटर उकालो यात्रा गरेपछि बन्दीपुर पुग्न सकिन्छ।

यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमश्रृङ्खला र प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता र मनोरम दृश्यका कारण बन्दीपुर पर्यटकहरूको रोजाइमा परेको संयोजक गुरुङले बताउनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका