लन्डन: भूतपूर्व गोर्खाहरूका माग समाधानका लागि लन्डनस्थित नेपाली दूतावासले नयाँ टिमसहित अनौपचारिक छलफल अघि बढाएको छ। यस विषयमा प्रगतिका लागि हालै लन्डनमा नियुक्त नयाँ अधिकारीहरूले सक्रिय प्रयास गरिरहेका छन्।
यसअघि राजदूत ज्ञानचन्द्र आचार्यसहित उपनियोग प्रमुख रोशन खनाल र अन्य सबै कूटनीतिज्ञहरूको चारवर्षे कार्यकाल पूरा भई नेपाल फर्किएपछि नयाँ टिमले गोर्खा मुद्दालाई प्राथमिकतामा राख्दै गृहकार्य सुरु गरेको हो।
दूतावासका कार्यवाहक राजदूत एवं उपनियोग प्रमुख विपिन दुवाडीले तीन महिनाअघि जिम्मेवारी सम्हालेदेखि नै गोर्खा समस्यामा ध्यान दिन थालेका छन्। यस क्रममा उहाँले बेलायती संसद हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसहित विदेश मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका छन्। दुवाडीले गोर्खा मुद्दा समाधान बेलायतकै प्रतिष्ठासँग जोडिएको बताउँदै यो विषयमा गम्भीर भएर काम गर्न आग्रह गरेका छन्।
दुवाडीले भने, “यो केवल गोर्खाहरूको पीडा मात्र होइन, यो बेलायतको प्रतिष्ठाको सवाल पनि हो। मैले हरेक भेटघाटमा गोर्खाहरूको योगदानलाई सम्मान गर्न र समस्या समाधानका लागि ठोस कदम चाल्न आग्रह गरेको छु।” उहाँका अनुसार, ब्रिटिश अधिकारीहरूले गोर्खाहरूको योगदानलाई महत्त्वपूर्ण मानेका छन् र सशर्त सेवा सुविधाका लागि सकारात्मक धारणा व्यक्त गरेका छन्।
नवनियुक्त राजदूत चन्द्र घिमिरे आगामी जनवरी पहिलो साता लन्डन आएपछि औपचारिक वार्ता सुरु गरिने जानकारी कार्यवाहक राजदूत दुवाडीले दिएका छन्। साथै, दुवाडीले गोर्खा संगठनका प्रतिनिधिहरूसँग निरन्तर छलफल भइरहेको बताएका छन्।
पछिल्ला तीन वर्षमा त्रिपक्षीय वार्ताका क्रममा प्राविधिक संयन्त्रका १३ बैठक र झण्डै आधा दर्जन मन्त्रीस्तरीय वार्ता भइसकेका छन्। यद्यपि, प्राविधिक स्तरका घनीभूत छलफलहरूबाट अपेक्षित उपलब्धि हासिल नभएकोमा गोर्खा समुदाय निराश छन्।
गोर्खाहरूले समतामूलक पेन्सन, समान सेवा सुविधा, र बेलायतमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिकहरूका परिवारका लागि भिसा सहुलियतलगायत माग राख्दै आएका छन्। यस विषयमा बेलायत सरकारको प्रगतिशील कदम आवश्यक रहेको आवाज उठाउँदै दुवाडीले गोर्खाहरूका लागि न्याय सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।
गोर्खा मुद्दाको दीर्घकालीन समाधानका लागि दुवैतर्फको इच्छाशक्ति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ। बेलायतमा रहेका गोर्खा संगठनहरूले यसबारे थप दबाब दिन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।


