काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। साथै, रास्वपाले यस विषयमा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी सङ्घ–संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराएको छ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको समयमा अचानक उठाएर मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइएको घटनाप्रति आपत्ति जनाइएको छ।
‘सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो। यसैबीच, सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ। ‘हामी यसको घोर भर्त्सना गर्दछौँ। सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ। यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ। यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी सङ्घ–संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ।’
पार्टीले लामिछाने कसुरदार नभई एक आरोपित मात्र भएको भन्दै उनले सरकारको कानुनी प्रक्रियामा साथ दिएर नागरिक कर्तव्य निर्वाह गरिरहेको पनि स्पष्ट पारेको छ।
‘अनुसन्धानमा साथ दिइरहेका एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधीझैँ प्रचार गर्नुका साथै त्यस्तै व्यवहार गर्नु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौँ। अतः यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधान बमोजिम कारबाही गर्न जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
साथै, पार्टीले राज्यको न्यायिक पद्धति, कानुनी शासन, र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा अपिल पनि गरेको छ।



