बाकु (अजरबैजान): वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालय क्षेत्रका हिउँ पग्लने र समुद्र सतह बढ्नेजस्ता गम्भीर जलवायुजन्य समस्याहरू समाधानका लागि विश्वभरिका मुलुकहरू सँगै मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा मन्त्री ठकुरीले यस्तो धारणा राख्नुभएको हो।
मन्त्री ठकुरीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका विशेष सल्लाकार तथा जलवायु कार्य टोलीका सहायक महासचिव सेल्विन हार्टसँगको भेटमा जलवायु सङ्कट समाधानमा सबै सदस्य राष्ट्रहरूको एकता र प्रतिबद्धता अपरिहार्य रहेको बताउनुभयो। उहाँले जलवायु समस्याको समाधानका लागि साझा प्रयास आवश्यक भएको र यसमा सबै मुलुकहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
गत वर्ष नेपाल भ्रमण गरेका महासचिव गुटेरेसले जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउन सहयोग पुर्याएको भन्दै मन्त्री ठकुरीले कृतज्ञता व्यक्त गर्नुभयो।
भेटमा मन्त्री ठकुरीले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको चुनौतीबारे चर्चा गर्दै हालैको विनाशकारी वर्षा र बाढीपहिरोले २५० भन्दा बढी नागरिकको ज्यान लिएको र ठूलो मात्रामा भौतिक क्षति पुर्याएको जानकारी दिनुभयो। उहाँले हिमालय पग्लने र समुद्र सतह बढ्ने समस्याहरू पर्वतीय क्षेत्रसम्म सीमित नरहने, तटीय क्षेत्रमा समेत गम्भीर असर पर्ने बताउँदै यस्तो असर अन्ततः समुद्रको स्तर वृद्धि गर्न योगदान पुर्याउने उल्लेख गर्नुभयो।
नेपालजस्ता विकासोन्मुख मुलुकहरूका लागि जलवायुजन्य विपद्सँग जुध्न जलवायु वित्तको महत्त्वपूर्ण आवश्यकता रहेको र तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न विशेष ध्यान दिनुपर्ने उहाँले जोड दिनुभयो। साथै, उहाँले जलवायु परिवर्तनका प्रकोपहरू सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र प्रतिबद्धताको खाँचो रहेको प्रस्ट पार्नुभयो।


