चितवन: चितवनमा आलुका विभिन्न जातको अध्ययन सुरु गरिएको छ। जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत धान, मकै, र आलुका उन्नत तथा स्वदेशी हाइब्रिड जातहरूको अध्ययन, परीक्षण, र प्रविधि अनुसरण कार्यक्रमलाई अघि बढाएको हो।
कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार, कृषकलाई अनुदान प्रदान गर्दै आएको कार्यालयले यस वर्ष आलुका १० फरक प्रकारमा अध्ययन सुरु गरेको छ। अध्ययन गरिएका आलुका जातहरूमा ०.५२, २५.७, एल्बर, स्टोन रसेट, क्यामेन, स्यागिटा, क्युन्टेरा, इनोभेटर लगायतका छन्। साथै, फ्राइसोना, सन्ताना र स्थानीय नीलो जातको आलुमा पनि परीक्षण थालिएको छ।
अधिकारी त्रिपाठीले जानकारी दिएअनुसार, अहिले जातीय परीक्षणसँगै औद्योगिक आलुको सम्भावनाबारे अध्ययन भइरहेको छ। फ्रेन्चफ्राइ र चिप्स उत्पादनका लागि चितवनमा औद्योगिक आलु उत्पादन सम्भव छ कि छैन भन्ने पत्ता लगाउन अध्ययन थालिएको हो। प्रत्येक जातको २५ किलो आलु प्रयोग गरी रामपुर कृषि क्याम्पस खैरहनी र कृषकहरूका बारीमा यो परीक्षण गरिँदैछ।
खैरहनी नगरपालिका वडा नम्बर १०, कठारका कृषकहरूले आलु रोपिसकेका छन् भने क्याम्पसमा पनि केही दिनमा रोपाइँ गरिने तयारी छ। यस अध्ययनमा परीक्षण गरिएका आलुको उत्पादन, आकार, स्वाद, रोग प्रतिरोधात्मक क्षमता, बिक्री वितरणमा सहजता लगायतका पक्षमा तुलनात्मक अध्ययन गरिनेछ।
सूचना अधिकारी त्रिपाठीले जानकारी दिनुभयो कि आलुको उत्पादन क्षमता हेरी कुन जातले यस क्षेत्रमा बढी प्रतिफल दिनेछ भन्ने पत्ता लगाउन अध्ययन केन्द्रित गरिएको छ। उत्पादन सफल भएमा स्थानीय कच्चा पदार्थको प्रयोगले व्यावसायिक आलुखेतीलाई प्रोत्साहन दिन सकिने कार्यालयका प्रमुख झलकनाथ कँडेलले बताउनुभयो। “यो अध्ययन आलुखेती गर्ने कृषकहरूका लागि निकै फलदायी हुने आशा छ,” उहाँले भन्नुभयो।
गत आर्थिक वर्षमा जिल्लामा १,९९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो, जसबाट ४९,६७६ मेट्रिक टन आलु उत्पादन भएको थियो। क्षेत्रफल र उत्पादन बढाउन यो प्रयोग फलदायी हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो।


