तेल अभिभ : उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायली रक्षा बल (आईडीएफ) ले जनाएको छ। हाइफाको दक्षिणमा २० माइल (३३ किलोमिटर) टाढा रहेको सहर बिन्यामिनाको छेउमा रहेको बेसमा भएको आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएको आईडीएफले जानकारी दिएको हो।
तेल अभिभ र हाइफाको बिचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो । हिजबुल्लाहले आक्रमणको जिम्मेवारी लिएको छ ।
सशस्त्र समूहको मिडिया कार्यालयले बिहीबार दक्षिणी लेबनान र बेरुतमा इजरायली आक्रमणको जवाफमा आक्रमण गरिएको बताएको छ। समूहले उत्तरी इजरायलमा रहेको शिविरलाई ‘ड्रोनको झुन्ड’ प्रयोग गरेर निशाना बनाएको बताएको छ।
इजरायली एम्बुलेन्स सेवा, म्यागेन डेभिड एडोम (एमडीए) ले आक्रमणमा ६१ जना घाइते भएको बताएको छ – जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ। ती मध्ये ३७ लाई एम्बुलेन्स वा हेलिकप्टरबाट आठ क्षेत्रीय अस्पतालमा लगिएको छ ।


