काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभामुख इन्दिरा रानामगरको बचाउमा उत्रिएको छ।
उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई भिसाका लागि अन्तर्वार्ताको मिति सार्न गरेको सिफारिसको पत्रको बारेमा थप बचाउ गरेको हो ।
बिहीबार रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको दाबी गर्दै सो पत्र कार्यान्वयनमा नै नगएको दाबी गरेका छन् ।
झाले पैसाको कारोबार नै नभएको बताउँदै भने, ‘यो पत्र १८ महिना अगाडि लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दुताबासमा दर्ता पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिएअनुसार कसैको काम नभएको पाइएको छ।’
उनले संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीका विषयमा आफूहरुरु सचेत भएर बसेको बताए ।
उपसभामुख रानामगरले आफू बाहेक पाँच जना अमेरिकामा एक कार्यक्रममा जान अन्तर्वार्ताको समय तुरुन्त मिलाइदिन गरेको सिफारिसको पत्र सार्बजनिक भएपछि विवादमा परेकी थिइन् । उनले सो सिफारिस गरे बापत पैसा लिएको अपुष्ट दाबी समेत गरिएको छ ।


