Friday, April 17, 2026
Homeअन्तराष्ट्रियबलिउडका ‘गोल्ड म्यान’ चर्चित गायक तथा संगीतकार बप्पी लहिरीको निधनको कारण ?

बलिउडका ‘गोल्ड म्यान’ चर्चित गायक तथा संगीतकार बप्पी लहिरीको निधनको कारण ?

बलिउडका चर्चित गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन भएको हो।

बप्पी दाका रूपमा परिचित उनको  आज (बुधबार) मुम्बईको क्रिटिकेयर अस्पतालमा निधन भएको हाे। उनी लामो समयदेखि बिरामी हुुनुका साथै गत वर्ष उनी कोरोना संक्रमित समेत भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

सन् १९८० र ९० को दशकमा भारतमा डिस्को संगीतलाई लोकप्रिय बनाउन बप्पीले महत्वपूर्ण भूमिका खेलेका थिए। उनको जन्म १७ नोभेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो।

बप्पीले आफ्नो फरक शैलीका कारण चलचित्र क्षेत्रमा फरक पहिचान बनाएका थिए। उनी सधैं सुनका गहनाले भरिएका संगीतकारका रूपमा समेत दर्शकश्रोतामाझ चिनिन्छन्।

उनले आफ्नो यात्रामा यारबिना चैन कहाँ रे, याद आ रहा है तेरा प्यार, रात बाँकी बात बाँकी, तम्मातम्मा दे दे, उ लालालगायत थुप्रै चर्चित गीत गाएका छन्।

उनको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आफ्नो ट्विटरमार्फत दुःख व्यक्त गरेका छन्। ‘बप्पी लहिरीजीको संगीत चौतर्फी थियो र विभिन्न भावनाहरूलाई सुन्दर ढंगले व्यक्त गरेको थियो। उहाँको जीवन्त स्वभावलाई सबैले सम्झिरहनेछन्। उहाँको निधनबाट दुःखी छु,’ उनले आफ्नो ट्विटमा लेखेका छन्।

बप्पीले नेपाली गीत पनि गाएका थिए। ‘फरक छ भाषा, फरक संस्कृति, एउटै छ आकाश, एउटै छ धर्ती…’ बोलको नेपाली गीत उनले दुई वर्षअघि गाएका थिए। 

बलिउडमा आफ्नो ५० वर्ष लामो करिअरमा ६५० भन्दा बढी फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी यस्ता गायक थिए, जसले आफ्नो रुपरंगको ‘कपिराइट’ गराएका थिए ।

हुनपनि उनको हुलिया निकै पृथक र विचित्रको हुनेगथ्र्यो । उनको त्यही हुलियालाई दुरुस्तै उतारेर बलिउडका केही कलाकारले कमेडी प्रस्तुत गर्न थाले । । त्यस प्रकारको नक्कल तथा कमेडी बप्पी लहिरीलाई भने मन परेको थिएन । अन्ततः बाध्य भएर उनले आफ्नो लुकमै कपिराइट लगाइदिएका थिए । यसरी कपिराइट नै गरेपछि उनको जस्तो रुप धारण गरेर नक्कल वा क्यारिकेचर गर्न नपाउने भए ।

आफ्नो हुलिया कपिराइटपछि उनले भनेका थिए, ‘हाम्रो फिल्मकर्मीहरु निकै तेज छन् । उनीहरु कुनै पनि कलाकारलाई मेरो जस्तै कपडा, सुनको ब्रासलेट र सिक्री लगाइदिएर कमेडी गराइरहेका थिए । मलाई भने त्यो दृश्यले मेरै अपमान भइरहेको अनुभव गरायो । अब भने त्यस्तो कसैले पनि गर्न पाउने छैन ।’

त्यसबखत उनले हातमा सुनको ब्रासलेट, घाँटीमा सुनको सिक्री लगाउनासाथ कोही पनि बप्पी लहिरी बन्न नसक्ने भन्दै त्यसका लागि आफूले ठूलो त्याग गरेको बताएका थिए । उनले भनेका थिए, ‘हरेक व्यक्तिले के सोच्छन् भने हातमा सुनको ब्रासलेट, घाँटीमा सुनको सिक्री लगाउने बित्तिकै बप्पी लहिरी बन्न सकिन्छ । तर यसरी कुनै पनि व्यक्ति बप्पी लहिरी कसरी बन्न सक्छ ? बप्पी लहिरी बन्नका लागि धेरै नै तपस्या गर्नु परेको छ ।’

आफ्नो पृथक गेटअप्रति उनी गर्व गर्थे र उक्त शैली विश्वभर नै लोकप्रिय भएको दाबी गर्थे । एक प्रसंगमा उनले भनेका छन्, ‘जहाँ जहाँ एशियनहरु बसोबास गर्छन्, उनीहरुलाई थाहा छ त्यस प्रकारको पहिरन बप्पी लहिरीले मात्र लगाउँछ । एकपटक म जाडो मौसममा न्युयोर्क गएको थिएँ, त्यहाँ निकै चिसो थियो, त्यसैले मैले चिसोबाट बच्नका लागि बाहिरबाट तातो पहिरन लगाएको थिएँ । उक्त पहिरनले मेरा सुनका गहनाहरु बाहिरबाट छोपिए । एक जना व्यक्ति आएर मलाई सोधे– बप्पीजी, तपाईंको सुनको सिक्री खै ? पूरै भारतमा यस्तो कुनै गायक छैन, जसले म जस्तै गरी सुन लगाएर हिँड्छ ।’

बप्पीलाई सानो छँदा आमाले सुनको सिक्री उपहार दिएकी थिइन् । त्यसपछि उनकी श्रीमतीले गणेशको प्रतिमासहितको सिक्री बनाइदिइन् । त्यही दिनदेखि आफूले सुनलाई भाग्यशाली ठानेको बप्पीले बताउने गरेका छन् ।

सिक्रीमा गणेश, अल्लाह र जिसस

उनी आफूलाई गोल्ड म्यान भनी चिनाउने गर्थे । सुन लगाउन थालेदेखि नै आफूले संगीत क्षेत्रमा सफलता हासिल गरेको बताउँथे ।

साथै आफू हिन्दू कुलमा जन्मिएपनि सबै धर्मप्रति उत्तिकै सम्मान र आस्था रहेको बताउँथे । बप्पी भन्थे, ‘यदि तपाईंले ध्यान दिएर मेरो सिक्रीमा हेर्नुभयो भने त्यसमा तपाईंले गणेशजी देख्नु हुनेछ । त्यसलाई पल्टाउनुभयो भने अल्लाह देखिनेछन् । यदि तपाईंले मेरो दोस्रो सिक्री हेर्नुभयो त्यसमा कृष्णलाई देख्नु हुनेछ, त्यही सिक्रीलाई पल्टाउनुभयो भने जिसस पनि देखिनेछन् । म त हरेक धर्मलाई इज्जत गर्छु । यिनीहरुलाई म ईश्वरको आशीर्वाद सम्झेर घाँटीमा झुण्ड्याएर हिंड्छु ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका