काठमाडौं । सामाजिक अभियन्ता सोनम वाङचुक आज गुरुग्रामस्थित मेदान्त अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत भिडियो सन्देश जारी गर्दै उनले आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताएका छन्।
‘आज मलाई अस्पतालबाट डिस्चार्ज गरिँदै छ। अहिले म निकै राम्रो महसुस गरिरहेको छु। राम्रोसँग खाना खाइरहेको छु र स्वास्थ्य पनि सामान्य बन्दै गएको छ,’ उनले भने।
वाङचुकले लद्दाख फर्कनुअघि नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्ने पनि जानकारी दिएका छन्। स्विट्जरल्याण्डबाट फर्किएपछि पनि राजघाटमा श्रद्धाञ्जली अर्पण गरेर मात्रै जन्तरमन्तरमा आफ्नो अनशन सुरु गरेको उनले स्मरण गराएका छन्।
उनले आन्दोलनमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि सम्पर्कमा रहने बताएका छन्।
वाङचुकले नीट (NEET) प्रश्नपत्र लिक प्रकरण मा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँदिल्लीको जन्तरमन्तरमा अनशन सुरु गरेका थिए।
पछि दिल्ली प्रहरीले उनलाई त्यहाँबाट हटाएर सफदरजंग अस्पताल लगेको थियो। त्यसपछि गुरुग्रामस्थित मेदान्त अस्पतालमा भर्ना गरिएका वाङचुकले २६ दिनपछि आफ्नो अनशन अन्त्य गरेका थिए।


