Sunday, May 10, 2026
Home Blog Page 94

रौतहटको गौरमा जन्ती र स्थानीय समूहबीच झडप, स्थिति नियन्त्रणमा

0

रौतहट । रौतहटको गौर नगरपालिका–६ सबगढामा विवाहको जन्ती र स्थानीय समुदायबीच विवाद हुँदा झडप भएको छ। मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर सुरु भएको विवादले उग्र रूप लिँदा दुई चरणमा झडप भएको प्रहरीले जनाएको छ।

फागुन ७ गते राति करिब ९ः५० बजे बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरतर्फ जाँदै गरेको जन्ती मस्जिद अगाडि पुगेपछि बाजा बजाउने विषयमा विवाद उत्पन्न भएको थियो। सोही राति ढुङ्गा हानाहान हुँदा ६ जना घाइते भएका थिए।

आज बिहान करिब ९ः१५ बजे पुनः सोही विषयलाई लिएर दुवै पक्षका करिब ५०० जना भेला भई दोहोरो झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थिति तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अतिरिक्त टोली परिचालन गरिएको थियो। भीड नियन्त्रणका लागि सुरक्षाकर्मीले १२ राउण्ड हवाई फायर तथा ४० सेल अश्रुग्यास प्रहार गरेका छन्। हाल स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

झडपमा परी थप ६ जना घाइते भएका छन्। घाइतेमध्ये २७ वर्षीय रामप्रवेश साह, १४ वर्षीय महम्दिन मिया, २० वर्षीय शेख सही आलम मिया, १७ वर्षीय शेख सहिब र ४२ वर्षीय महम्मद खुर्सेद प्रादेशिक अस्पताल गौरमा उपचाररत छन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

ड्युटीमा खटिएका प्रहरी जवान राजेश ठाकुरसहित दुई जना सुरक्षाकर्मी पनि सामान्य घाइते भएका थिए। उपचारपछि उनीहरू डिस्चार्ज भइसकेका छन्।

घटनालाई साम्य पार्न र विवाद समाधानका लागि आज दिउँसो ३ः०० बजेदेखि जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षका प्रतिनिधिहरूबीच वार्ता सुरु गरिएको छ। स्थानीय प्रशासनले सबैलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।

एनआरएनलाई नागरिकता र मताधिकार दिने काङ्ग्रेसको प्रतिज्ञा

0

काठमाडौं: नेपाली कांग्रेसले विदेशमा बस्ने गैरआवासीय नेपाली (NRN) सम्बन्धी मुद्दालाई आफ्नो प्रतिज्ञापत्रमा स्पष्ट रूपमा समेटेको छ। कांग्रेस सभापति गगनकुमार थापाले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गर्दै १७०–१७४ पृष्ठसम्म ‘नेपाली डायस्पोराः अटुट सम्बन्ध, विस्तारित नेपाल’ शीर्षकमा गैरआवासीय नेपालीका अधिकार, योगदान र भावनालाई सम्बोधन गरिएको बताए।

प्रतिज्ञापत्रले NRN नागरिकताको निरन्तरता, पैतृक सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै विदेशमा रहेका सबै पुस्तालाई देशको सामाजिक, सांस्कृतिक र आर्थिक प्रगतिमा संलग्न गराउन जोड दिएको छ। कांग्रेसले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ अवधारणालाई आत्मसात गर्दै डायस्पोराको अनुभव, ज्ञान, सीप र पुँजीलाई नेपालको समृद्धिका लागि प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका लागि भूमि, अध्यागमन, कम्पनी दर्ता र श्रम सम्बन्धी कानुनी जटिलतालाई हटाएर उनीहरूलाई नागरिकसरह सुविधा उपलब्ध गराउने र विदेशबाट पनि मतदान गर्न सक्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने भनिएको छ। सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै निर्वाचन कानुनमा संशोधनमार्फत उनीहरूलाई राष्ट्रिय मूलधारसँग प्रत्यक्ष जोड्ने प्रस्ताव गरिएको छ।

आर्थिक दृष्टिले डायस्पोराको पुँजीलाई पूर्वाधार विकासमा जोड्न, लगानीमैत्री वातावरण सिर्जना गर्न र दोहोरो कर प्रणाली अन्त्य गर्न आवश्यक द्विपक्षीय सम्झौता गर्नुपर्ने प्रतिज्ञापत्रमा उल्लेख छ। यसैगरी, उच्च दक्षता भएका विज्ञलाई नीतिनिर्माण र अनुसन्धानमा संलग्न गराउने, सांस्कृतिक र शैक्षिक कार्यक्रममार्फत दोस्रो र तेस्रो पुस्तालाई मातृभूमिसँग जोड्ने प्रस्ताव पनि गरिएको छ।

प्रतिज्ञापत्रले गैरआवासीय नेपालीलाई केवल आर्थिक सहयोग गर्ने माध्यम मात्र नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने र आधुनिक प्रविधि भित्र्याउने बलियो स्रोतको रूपमा मान्यता दिनुपर्ने विश्वास व्यक्त गरेको छ। यसरी उनीहरूको अधिकार सुनिश्चित गर्दै मातृभूमिसँगको भावनात्मक सम्बन्धलाई कानुनी रूपमा मजबुत बनाउँदा मात्र ‘समुन्नत नेपाल’को सपना साकार हुने उल्लेख छ।

बोर्ड अफ पिस’ बैठकमा गाजा पुनर्निर्माणका लागि ७ अर्ब डलर प्रतिबद्धता

0

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘बोर्ड अफ पिस’को पहिलो बैठकमा गाजा पुनर्निर्माणका लागि सदस्य राष्ट्रहरूले ७ अर्ब अमेरिकी डलर प्रतिबद्धता जनाएको बताएका छन्। बैठकलाई सम्बोधन गर्दै उनले पाँच देशले प्यालेस्टिनी क्षेत्रमा अन्तर्राष्ट्रिय स्थिरता बल पठाउन सहमति जनाएको जानकारी दिए।

ट्रम्पका अनुसार अमेरिकाले स्वयं ‘बोर्ड अफ पिस’का लागि १० अर्ब डलर योगदान गर्नेछ। यद्यपि उक्त रकम कुन प्रयोजनमा खर्च गरिने भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक गरिएको छैन। कजाकिस्तान, अजरबैजान, संयुक्त अरब इमिरेट्स, मोरक्को, बहराइन, कतार, साउदी अरेबिया, उज्बेकिस्तान र कुवेतले गाजा पुनर्निर्माणका लागि प्रारम्भिक किस्ताका रूपमा रकम जुटाएका हुन्।

‘हरेक डलर स्थिरता र नयाँ समन्वित क्षेत्र निर्माणमा लगानी हो,’ ट्रम्पले भने। तर विज्ञहरूका अनुसार गाजा पुनर्निर्माणका लागि अनुमानित ७० अर्ब डलर आवश्यक पर्ने आकलन गरिएको छ, जुन हाल प्रतिबद्ध गरिएको रकमभन्दा निकै बढी हो। दुई वर्षभन्दा बढी समयदेखि जारी इजरायल–हमास युद्धले गाजामा ठूलो भौतिक तथा संरचनात्मक क्षति पुर्‍याएको छ।

यसैबीच, इन्डोनेसिया, मोरक्को, कजाकिस्तान, कोसोभो र अल्बानियाले प्रस्तावित स्थिरता बलमा सेना पठाउने प्रतिबद्धता जनाएका छन्। प्रबोवो सुबियान्तोले आफ्नो देशले शान्ति प्रयास सफल बनाउन अधिकतम ८ हजार सैनिक पठाउने घोषणा गरेका छन्।

अमेरिकी जनरलको नेतृत्व र इन्डोनेसियाली उपनेतृत्वमा रहने उक्त स्थिरता बल इजरायलको नियन्त्रणमा रहेको रफाह क्षेत्रबाट परिचालन गरिने बताइएको छ। योजनाअनुसार १२ हजार प्रहरीलाई तालिम दिने र कुल २० हजार सैनिक तैनाथ गर्ने लक्ष्य राखिएको छ। इजिप्ट र जोर्डनले प्रहरी तालिममा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यता, हमासले भने हतियार त्याग्ने विषयमा स्पष्ट सहमति जनाएको छैन। हमासका प्रवक्ता हाजेम कासेमले अन्तर्राष्ट्रिय बलले युद्धविरामको निगरानी गर्नुपर्ने र इजरायली आक्रमण रोक्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

ट्रम्पको ५ अर्ब डलर मुद्दा सङ्घीय अदालतमा लैजान जेपी मोर्गनको माग

0

वासिङ्टन डीसी । जेपी मोर्गन चेजले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा दायर गरिएको ५ अर्ब अमेरिकी डलरको मुद्दामा कडा प्रतिवाद गर्दै मुद्दा सङ्घीय अदालतमा सार्न माग गरेको छ। कम्पनीले आफ्ना प्रमुख कार्यकारी अधिकृत जेमी डिमनलाई मुद्दामा धोखापूर्वक समावेश गरिएको आरोप लगाएको छ।

बैंकका वकिलहरूले अदालतमा दायर गरेको निवेदनमा ट्रम्पको मुद्दा त्यस्तो कानुनमा आधारित रहेको उल्लेख गरेका छन्, जसले सङ्घीय रूपमा नियमन भएका बैंकका अधिकारीहरूलाई उनीहरूको आधिकारिक भूमिकामा कार्य गर्दा विशेष संरक्षण प्रदान गर्छ। उनीहरूका अनुसार फ्लोरिडाको ‘डिसेप्टिभ एन्ड अनफेयर ट्रेड प्र्याक्टिसेस एक्ट’ सङ्घीय नियमनमा रहेका बैंक अधिकारीहरूमा लागू नहुने भएकाले डिमनलाई मुद्दामा समेट्नु अनुचित छ।

गत महिना ट्रम्पले जेपी मोर्गन चेज र डिमनविरुद्ध मुद्दा दायर गर्दै सन् २०२१ मा राजनीतिक कारणले आफूलाई बैंकको ग्राहक सूचीबाट हटाइएको आरोप लगाएका थिए। सो मुद्दामा उनले ५ अर्ब डलर क्षतिपूर्ति माग गरेका छन्।

जेपी मोर्गनका अनुसार कानुनी रूपमा कम्पनी ओहायो राज्यमा दर्ता भएको छ। मुद्दाका कुनै पनि वादी ओहायोका नागरिक नभएकाले यसलाई सङ्घीय अदालतमा सुनुवाइ गर्न मिल्ने आधार रहेको बैंकको दाबी छ। बैंकले ट्रम्प पक्षका कानुन व्यवसायीहरूले मुद्दा राज्य अदालतमै राख्न डिमनलाई जानाजानी प्रतिवादी बनाएको आरोप लगाएको छ।

यस विषयमा बैंकिङ समूहले थप सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेको छ भने ह्वाइट हाउससँग प्रतिक्रिया मागिएको जनाइएको छ।

अमेरिका–इन्डोनेशिया ट्यारिफ सम्झौता, आयात शुल्क ३२% बाट १९% मा घट्यो

0

वासिङ्टन डीसी । अमेरिकाइन्डोनेशियाबीच अतिरिक्त भन्सार महसुल (ट्यारिफ) कटौती गर्ने महत्वपूर्ण व्यापार सम्झौता भएको छ। उक्त सम्झौताअनुसार इन्डोनेशियामाथि लाग्दै आएको अमेरिकी आयात शुल्क ३२ प्रतिशतबाट घटाएर १९ प्रतिशतमा झारिएको छ।

यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इन्डोनेशियाका राष्ट्रपति प्राबोवो सुबियान्तोबीच सम्पन्न भएको हो। ह्वाइट हाउसका अनुसार इन्डोनेशियाले अमेरिकी वस्तुहरूको ९९ प्रतिशतभन्दा बढीमा व्यापार अवरोध हटाउने प्रतिबद्धता जनाएको छ। यसमा कृषि, स्वास्थ्य सेवा, समुद्री उत्पादन, प्रविधि तथा अटोसम्बन्धी सामग्री समावेश छन्।

त्यसैगरी, अमेरिकाले पनि केही इन्डोनेशियाली वस्तुहरूमा शुल्क छुट दिएको छ। विशेष गरी अमेरिकी कपास वा कृत्रिम रेशाबाट बनेका लुगा तथा कपडामा सहुलियत प्रदान गरिएको जनाइएको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले उक्त सम्झौताले व्यापार अवरोध हटाउँदै अमेरिकी आर्थिक हितलाई सुदृढ बनाउने बताएका छन्।

सम्झौताअनुसार इन्डोनेशियाले अमेरिकी सवारीसाधन सुरक्षा तथा उत्सर्जन मापदण्ड स्वीकार गर्नेछ। साथै, चिकित्सा उपकरण र औषधि उत्पादनका हकमा अमेरिकी खाद्य तथा औषधि सम्बन्धी मापदण्ड लागू गरिनेछ।

यसका अतिरिक्त, इन्डोनेशियाले अमेरिकी कृषि तथा प्रविधि उत्पादनलाई आफ्नो बजारमा सहज प्रवेश दिने प्रतिबद्धता जनाएको छ। राष्ट्रपति सुबियान्तोको वासिङ्टन भ्रमणका क्रममा उक्त व्यापार सम्झौता औपचारिक रूपमा हस्ताक्षर गरिएको जनाइएको छ।

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा ७२ घण्टा बन्द गर्ने निर्णय

0

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ। निर्वाचन अवधिभर सम्भावित अवाञ्छित गतिविधि रोक्न सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ।

नेपालतर्फ कोशी प्रदेशअन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुख तथा भारततर्फ किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले यस्तो सहमति गरेको हो। बैठकले सीमा क्षेत्रमा समन्वयात्मक सुरक्षा रणनीति अपनाउने निर्णय समेत गरेको छ।

सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द रहनेछ। यस अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका आवागमनमा रोक लगाइने प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार निर्वाचनका बेला सीमा पारबाट हुन सक्ने चलखेल, अवैध प्रवेश तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न यो कदम प्रभावकारी हुने अपेक्षा गरिएको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले निर्वाचन प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधनको अनियन्त्रित आवागमन रोक्न भारतीय सुरक्षा निकायसँग आवश्यक समन्वय गरिएको जानकारी दिए।

त्यसैगरी, बैठकले सीमा क्षेत्रमा संयुक्त गस्ती बढाउने, तेस्रो मुलुकका नागरिकको अनाधिकृत आवतजावत रोक्ने तथा लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, हातहतियार र अवैध नगद तस्करी नियन्त्रणमा कडाइ गर्ने सहमति समेत गरेको छ।

निर्वाचन सुरक्षाका सबै प्रबन्ध पूरा, निर्धक्क मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

0

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएको जनाउँदै मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

बिहीबार गृहमन्त्री अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै उनले सुरक्षा व्यवस्थालाई चुस्त, भरपर्दो र समन्वित ढंगले कार्यान्वयन गरिएको जानकारी दिए। उनले सबै सम्बद्ध निकायबीचको सहकार्य र समन्वयका कारण निर्वाचन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए।

बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले हालसम्मका सुरक्षा तयारीबारे गृहमन्त्रीसमक्ष जानकारी गराएका थिए। उनीहरूले जिल्लागत सुरक्षा रणनीति क्रमिक रूपमा कार्यान्वयनमा लगिएको र आवश्यक जनशक्ति परिचालन गरिएको बताएका छन्।

गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको प्रभावकारी कार्यान्वयन तथा निर्वाचनको समग्र तयारीबारे विस्तृत छलफल गरिएको थियो। ‘जुम एप’ मार्फत सञ्चालन गरिएको उक्त बैठकमा सातै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सहभागी भएका थिए।

बैठकमा प्रदेश र जिल्लास्तरमा अपनाइएका सुरक्षा रणनीति, संवेदनशील क्षेत्रको व्यवस्थापन तथा निर्वाचनलाई शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउने तयारीबारे प्रस्तुतीकरण समेत गरिएको जनाइएको छ।

पश्चिमी न्यून चापीय प्रभाव कायम, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

0

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको छ। यसका कारण विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदलीको अवस्था देखिएको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ।

आज दिनभर कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भाग तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि तराईका केही स्थानमा तुवाँलो लाग्ने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहने बताइएको छ। विशेषगरी कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाले हुस्सु, तुवाँलो तथा हिमपातको सम्भावना रहेका क्षेत्रका बासिन्दा तथा ती क्षेत्रमा यातायात सञ्चालन गर्नेहरूले सावधानी अपनाउन आग्रह गरेको छ। दैनिक जनजीवन र आवागमनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।

राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

0

काठमाडौँ, ८ फागुन । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारण गरिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा कायम गरिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ। चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८९ पैसा कायम भएको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा तोकिएको छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा कायम गरिएको छ।

यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६ रुपैयाँ ०४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ। हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर ४७३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ९५ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा तथा ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

सर्लाहीमा उम्मेदवार डा. जेपी यादवमाथि दुव्र्यवहार, जसपाको कडा आपत्ति

0

मलंगवा (सर्लाही) । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. जेपी यादवमाथि बागमती क्षेत्रमा दुव्र्यवहार भएको घटनाप्रति जनता समाजवादी पार्टी (जसपा), नेपालले गम्भीर आपत्ति जनाएको छ।

बिहीबार जिल्ला सदरमुकाम मलंगवामा आयोजित पत्रकार सम्मेलनमा डा. यादवले बुधबार दिउँसो चुनावी भेटघाटका क्रममा आफूमाथि असभ्य र जातीय टिप्पणीसहितको व्यवहार भएको बताएका हुन्। उनका अनुसार एक व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्दै ‘मधेशीहरू बीस–तीस रुपैयाँको खान्छन्, यहाँबाट भाग’ भन्ने अभिव्यक्ति दिएका थिए। साथै ‘मधेशीहरूको ओकात थोरै छ’ भन्दै जातीय रूपमा होच्याउने प्रयास गरिएको उनले बताए।

डा. यादवले लोकतान्त्रिक अभ्यासअन्तर्गत मतदातासँग संवाद गरिरहेका बेला यस्तो घटना हुनु दुःखद भएको उल्लेख गर्दै मधेशी समुदायमाथि हुने कुनै पनि प्रकारको विभेद अस्वीकार्य रहेको स्पष्ट पारे। उनले घटनाको कडा निन्दा गर्दै दोषीमाथि कानुनी कारबाही गर्न माग गरे।

कार्यक्रममा जसपा सर्लाहीका जिल्ला अध्यक्ष रन्धिर यादवले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरे। कारबाही प्रक्रियामा ढिलाइ भए वा दोषीलाई उन्मुक्ति दिन खोजिए आन्दोलनका कार्यक्रम घोषणा गरिने उनले चेतावनी दिए। साथै आगामी निर्वाचन शान्तिपूर्ण, सुरक्षित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउन आग्रह गरे।

त्यसैगरी, पूर्व लोसपा जिल्ला अध्यक्ष तथा हाल जसपाका नेता रामप्रसाद यादवले निर्वाचन स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै स्वस्थ राजनीतिक प्रतिस्पर्धाका लागि सबै दल र सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा स्थानीय प्रसान्त वाइवा पक्राउ परेका छन्।