Tuesday, May 12, 2026
Home Blog Page 795

शान्तिप्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ : मन्त्री शर्मा

0

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी काम लाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको छ । बाइसौँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जतिसक्दो चाँडो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताउनुभयो । “शान्ति प्रक्रियाका बाँकी काम अहिलेसम्म पनि टुङ्गोमा नपुग्नु दुःखको कुरा हो, ती शीघ्र टुङ्ग्याउनुपर्छ र पुर्याउनुपर्छ भन्नेमा हामी दृढ छौँ”, उहाँले भन्नुभयो । शान्तिप्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुने उहाँले बताउनुभयो ।

शान्तिप्रक्रियाका बाँकी कामलाई कुनै व्यक्ति, पार्टी वा पार्टीका नेताको मात्रभन्दा पनि समग्र मुलुकको शान्ति प्रक्रियाको रूपमा हेरिनुपर्ने बताउँदै उहाँले यो समग्र राज्यसत्ताको चासोको विषय भएकाले जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो । सत्य निरुपणसँग सम्बन्धित विधेयकलाई जतिसक्दो चाँडो पारित गर्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, “यदि साँच्चिकै कृष्ण सेनलाई न्याय दिने हो भने उहाँजस्ता बेपत्ता पारिएका सबै योद्धालाई न्याय दिने हो भने चाँडो विधेयक पारित हुनुपर्छ, विधेयक पारित भएपछि देशको शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउन सहज हुन्छ ।” “कृष्ण सेन इच्छुकले देखाउनुभएको बाटो र उहाँको जसरी निष्ठा र धरोहरका रूपमा व्यक्तित्व बन्यो, त्यो व्यक्तित्वबाट हामीले धेरै सिक्न जरुरी छ, उहाँले देखाउनुभएको बाटोमा निरन्तर अगाडि बढ्न सकौँ”, उहाँले भन्नुभयो ।

वर्तमान राजनीतिक व्यवस्था प्राप्तिका निम्ति भएको जनयुद्ध सफल बनाउन इच्छुकको अतुलनीय योगदान रहेको उहाँले बताउनुभयो । हिरासतमा रहेका बेला इच्छुकलाई चरम यातनाबाट निधन भएको स्मरण गर्दै मन्त्री शर्माले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनेकामा गर्व गरिरहँदा कृष्ण सेन इच्छुकसहितका योद्धाहरूले गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो । “तर आजको दिनसम्म आइपुग्दा हामीले हाम्रो अवस्था परिवर्तन गर्न सकेका छौँ कि छैनौँ, कृष्ण सेनजस्ता महान् सहिदको सपना पूरा गर्न सकेका छौँ कि छैनौँ, हाम्रो अगाडि यो गम्भीर प्रश्न खडा भएको छ”, उहाँले भन्नुभयो ।

भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

0

काठमाडौँ: भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार ७ मा प्रदर्शन गरिने स्वर्गीय गायक आचार्यका छोरा सत्यराज आचार्यले राससलाई जानकारी दिनुभयो । पुनः प्रदर्शनलाई लक्षित गर्दै चलचित्रको नयाँ प्रचार सामग्रीको रूपमा इन्टरनेटमा श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । “यो बुबालाई एउटा श्रद्धाञ्जलि पनि हो । बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौँ । यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ”, गायक आचार्यले भन्नुभयो ।

चलचित्रमा सत्यराज नै पिताको भूमिकामा हुनुहुन्छ । चलचित्रमा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको उहाँले बताउनुभयो । निर्देशक प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गर्नुभएको छ ।

गायक तथा अभिनेता आचार्यले सार्वजनिक श्रव्यदृश्यले राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सायद १३ वर्ष अगाडिको समय यस्ता चलचित्रको लागि उपयुक्त थिएन । त्यो समयमा पनि हामीले चलेका अनुहारभन्दा अभिनय गर्न सक्ने कलाकारलाई लिएका थियौँ । चलचित्रलाई जीवन्त बनाउने पूर्ण कोसिस गरेका छौँ ।” गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो । ‘द पोएट आइडल’को उपाधि सिक्किमका राईलाई यसैबीच, कवितामा आधारित रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो शृङ्खलाको उपाधि सिक्किमका सिमियोन सुकिता राईले जित्नुभएको छ ।

शनिबार बेलुकी भएको अन्तिम प्रतिस्पर्धामा मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि पार्दै राईले उपाधि जित्नुभएको हो । “आज मसँगै मलाई विश्वास गर्ने सबैको जित भएको छ । मलाई यो मञ्चसम्म ल्याउन धेरै सहयोगी हातले हातेमालो गर्नुभएको छ ।

मेरो कविता यात्रालाई दिगो बनाउन यो उपाधि मार्गदर्शक भएको छ”, विजेता राईले भन्नुभयो । ‘द पोएट आइडल’को दोस्रो शृङ्खलामा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक हुनुहुन्थ्यो ।

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित

0

गलेश्वर (म्याग्दी): पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन् । पक्की पुलले मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट र मङ्गला गाउँपालिकाको वडा नं ५ मा पर्ने छिसबाङलाई दरबाङसँग जोडेपछि यहाँका पाँच हजार बढी जनता लाभान्वित हुनुका साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पु¥याउन सहज भएको छ ।

विसं २०७७ साउन ४ गते रु चार करोड ४५ लाख ८१ हजारमा पूर्वाधार विकास कार्यालयले प्रदीप जुम्ली जेभीसँग ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रस’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले बताउनुभयो । पुल निर्माणपछि मालिका गाउँपालिका–१ निस्कोट, २ रुमका साथै मङ्गला गाउँपालिका–५ का छिसवाङ, टिकवाङ र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधारण लाभान्वित भएका मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो ।

उहाँका अनुसार पुल निर्माणसँगै निस्कोटबाट मङ्गलाको टिकवाङ–रुम–बागलुङको ताराखोला–खोप्टी–छिसवाङसम्म सडक सञ्जाल विस्तार भएको छ । “चौध वर्षअघि सडक पुगेको निस्कोट म्याग्दी नदीमाथि पक्की पुल नहुँदा पालिकाको केन्द्र दरबाङ यातायात सेवाबाट विच्छेद थियो । हिउँदमा नदीबाट नै जोखिमपूर्ण यात्रा गरे पनि वर्षामा समस्या हुने गरेको थियो, छ्यारछ्यारेमा पुल बनेपछि सिङ्गो वडामा बाह्रै महिना यातायात सम्पर्क स्थापित भएको छ”, अध्यक्ष पुनले बताउनुभयो । “पुल बनेपछि निकै सहज भएको छ, अब नदीमा हेलिएर वारपार गर्नुपर्ने समस्या छैन”, मङ्गला–५ छिसबाङका विकल सेनले भन्नुभयो, “स्थानीयले उत्पादन गरेका तरकारी, फलफूल, कृषि उपज र दुग्धजन्य पदार्थको बजारीकरणमा पनि पुलले निकै भएको छ ।”

त्यसैगरी मालिका गाउँपालिका–१ निस्कोटका रामबहादुर पुनले पनि आफूले उत्पादन गरेको तरकारी र सुन्तला बिक्रीका लागि पुल बनेपछि निकै सजिलो भएको बताउनुभयो ।

निःशुल्क मुटु परीक्षण शिविरबाट सात सयजना लाभान्वित

0

ढोरपाटन (बागलुङ): बागलुङको दुर्गम गाउँका बासिन्दालाई लक्ष्यित गरी सञ्चालन भएको निःशुल्क मुटु परीक्षण शिविरबाट सात सय जनाले सेवा लिएका छन् । गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनको संयोजन तथा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् ।

शनिबार साँझ सम्पन्न भएको शिविरबाट सबैभन्दा बढी दुर्गम गाउँका नागरिक लाभान्वित भएका छन् । शिविरमा उपचार र अन्य सेवा लिने अधिकांश ज्येष्ठ नागरिक थिए । लामो समयदेखि मुटुको उपचार गराउँदै आएका बिरामीको विशेषज्ञ डाक्टरले परीक्षण गर्नुका साथै औषधि प्रदान गरेका थिए । शिविरमा परीक्षण गराएकामध्ये १० जना मुटुका नयाँ बिरामीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क उपचारका लागि ‘रेफर’ गरिएको थियो ।

सातजना विशेषज्ञ डाक्टरसहित २८ स्वास्थ्यकर्मीको टोलीले शिविर सञ्चालन गरेको हो । सामान्य समस्या रहेका बिरामीलाई औषधि उपलब्ध गराइएको थियो भने जटिल समस्या भएकालाई उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान सुझाएको हृदय रोग केन्द्रका निर्देशक डा रवि मल्लले बताउनुभयो । मुटुसम्बन्धी रोगका बिरामी बढ्न थालेपछि गाउँमा शिविर सञ्चालन गरेको शिविर संयोजक शेरचनले बताउनुभयो । भविष्यमा पनि यस्ता शिविर सञ्चालनका निम्ति आफू क्रियाशील रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

भोजपुर– खोटाङ जोडिने कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

0

भोजपुर भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो ।

सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल गर्नेलगायतको काम भइरहेको छ । छ नम्बर वडा कार्यालयको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको रु ८० लाख बजेटबाट पिखुवाखोला पुलबाट वडा नं ६ कार्यालयसम्मको सडक स्तरोन्नति थालिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो ।

पश्चिमी क्षेत्रको महत्त्वपूर्ण सडक रहेकाले प्राथमिकतासाथ काम अघि बढाएको उहाँले बताउनुभयो । हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ । सडक स्तरोन्नतिपछि कृषि उपज बजार पुर्याउन सहज हुने स्थानीयवासी हरिकुमार राईले बताउनभयो । विगतका वर्षायाममा झै अब सास्ती खेप्नुनपर्नेमा उहाँ ढुक्क हुुनुुहुन्छ ।

आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

0

वीरगञ्ज (पर्सा): राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले राससलाई बताउनुभयो ।

धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका उहाँले बताउनुभयो । यी औजार तथा उपकरणको मूल्य भने निर्धारण गरिसकेका छैनौँ”, उहाँले उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्दै भन्नुभयो । इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताउनुभयो ।

केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ । हाल केन्द्रमा १५ जना कार्यरत छन् । सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाईसञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो ।

मन्त्री रघुवीर महासेठलाई बालेनले दिए दैनिक एक ट्रक धुलो उपहार

0

काठमाडौं। काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाएका छन्।

मेयर बालेनले मिनभवनस्थित सडक डिभिजन कार्यालय र बबरमहलस्थित सडक विभाग अगाडि एक एक ट्रक धुलो खन्याएका हुन् ।

कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा जनताले धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै महानगरले सांकेतिक विरोध स्वरुप धुलो खन्याएको हो ।
विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

सरकारले गरेको गल्ती कमजोरीको काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको उनले बताएका छन्। कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको काम अघि नबढेसम्म हरेक दिन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने बालेनले उल्लेख गरेका छन्।

बालेनले यस्तो भनेका छन्:

माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यू !

तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला। विगत १५ वर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नु परेको छ। काठमाडौंमा हुने आधा भन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ। र, काठमाडौं महानगरले अकारणमा गाली खानु परेको छ।

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन। जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु माया सम्झेर स्वीकार्नु होला।

 

ढोरपाटनमा बढ्दै पर्यटक : दश महिनामै साढे चार करोड राजस्व सङ्कलन

0

ढोरपाटन (बागलुङ): नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमेत वृद्धि हुन थालेको छ । सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ४८ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । खास गरी ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गरेका छन् । विसं २०४४ मा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिँदै आएको छ ।

अघिल्लो आवमा रु तीन करोड ४८ लाख मात्रै राजस्व सङ्कलन भएकामा यो आवको अन्त्यमा दोब्बर सङ्कलन गर्ने सिकार आरक्षले लक्ष्य राखेको छ । ढोरपाटनमा वर्षमा दुई याम सिकारका लागि खुला गरिन्छ । पहिलो याम (असोज–मङ्सिर) र दोस्रो सिजन (फागुन–वैशाख) हो । यस वर्ष दुई याममा ३० वन्यजन्तुको सिकार भएको छ । चालु आवमा सिकार अनुज्ञापत्र शुल्कबाट मात्रै रु चार करोड २६ लाख राजस्व सङ्कलन भएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । अनुज्ञापत्र शुल्कबोहक यस वर्ष पर्यटक प्रवेश शुल्कबाट रु ११ लाख ६५ हजार, काठ, नदीजन्य वस्तु र जरिवानाबाट रु नौ लाख चार हजार तथा हेलिकप्टर अवतरण गराएबापत रु ५७ हजार राजस्व सङ्कलन भएको उहाँको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्यासमेत बढेको छ ।

अघिल्लो वर्ष सात हजार छ सय ४५ पर्यटक आएकामा यस वर्ष नौ हजार चार सय ३६ पर्यटक आएको कँडेलले जानकारी दिनुभयो । वन्यजन्तुको सिकार भने गत वर्ष र यस वर्ष ३०/३० वटानै भएका उहाँको भनाइ छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले कोटाका आधारमा सिकारीको ठेक्का खुलाउने र ठेक्का पर्ने सिकार ढोरपाटन आउने गर्छन् । आव २०७८/७९ मा भने नौ हजार नौ सय १९ पर्यटक भित्रिएकामा रु एक करोड ७५ लाख ७७ हजार मात्रै सङ्कलन भएको थियो । आव २०७६/७७ मा रु ३७ लाख र आव २०७७/७८ मा रु २० लाख मात्रै सङ्कलन भएको थियो । पछिल्लो दुई वर्ष राजस्व सङ्कलनको दर बढ्दै गएको संरक्षण अधिकृत कँडेल बताउनुहुन्छ । कँडेलले भन्नुभयो, “पछिल्लो दुई वर्षमा पर्यटक आगमन बढ्दै गएको छ, यहाँ सिकार खेल्नका लागि धेरैजसो विदेशी नागरिक नै आउने गर्छन्, यहाँ आउनेले मनलाग्दीरुपमा सिकार गर्न पाइँदैन, वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले मात्रा निर्धारण गरेर बोलपत्र आह्वान गरेको हुन्छ, सोहीअनुसार जसलाई ठेक्का पर्छ उही कम्पनीमार्फत सिकार आएर सिकार गर्ने हो ।” ढोरपाटनका होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले विदेशी पर्यटक हेलिकप्टरमार्फत आए पनि आन्तरिक पर्यटक गाडीमै आउने बताउनुभयो ।

सडकको दूरावस्थाका कारण पनि धेरै पर्यटक चाहेर पनि ढोरपाटन आउन नसकेको भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सडक राम्रो भए सिकार आरक्ष कार्यालयले धेरै राजस्व सङ्कलन गर्नुका साथै यहाँका धेरै नागरिक व्यापार व्यवसायबाट आत्मनिर्भर बन्न सक्ने उहाँको भनाइ छ ।

पढाइबाट वञ्चित महिलाका लागि चेतना विद्यालय

0

घोराही (दाङ) : उमेरले ५३ वर्षीया देवा खड्का अहिले कक्षा ५ मा पढ्नुहुन्छ । उहाँले घोराही उपमहानगरपालिका–१८ रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा पढाइलाई निरन्तरता दिनुभएको छ । कक्षा १ देखि नै सोही विद्यालयमा पढ्दै आएको उहाँ बताउनुहुन्छ । पढ्ने उमेरमा विभिन्न घरायसी समस्याका कारण पढाइबाट वञ्चित भएकाले अहिले पढ्न पाउँदा उहाँ खुसी व्यक्त गर्नुहुन्छ । खड्कालाई सुरुमा पढ्न लेख्न आउँदैन थियो । त्यसले गर्दा उहाँलाई घरमा हिसाब मिलान गर्नेदेखि बैंक जाँदा भौचर भर्नसमेत समस्या हुने गरेको थियो । यी कामका लागि अरूको भर पर्नुपर्ने समस्या भोग्नुपरेको बताउँदै उहाँ ढिलै भए पनि ज्ञान हासिल गर्न पाएको बताउनुहुन्छ ।

अहिले उहाँ सामान्य रूपमा पढ्न लेख्नदेखि बैंकमा भौचर भर्न सक्ने भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले बैंकबाट पैसा झिक्न, राख्न सक्ने अवस्था थिएन, तर पढ्न थालेपछि अहिले आफैँ पैसा झिक्न राख्न सक्ने भएको छु, बैंक भौचर भर्न सक्छु ।” सुरुमा बुढेसकालमा किन पढ्नुप¥यो भन्ने श्रीमान् र छोराहरुले समेत अहिले आफ्नो पढाइबाट खुसी हुने गरेको उहाँ बताउनुहुन्छ । स्वास्थ्यले साथ दिएसम्म पढ्न नछाड्ने उहाँको भनाइ छ । उहाँ जस्तै घोराही–१७ का ३५ वर्षीया कालिका चौधरी कक्षा १ मा अध्ययन गर्दै आउनुभएको छ । अन्य विद्यार्थीजस्तै कालिका हरेक दिन किताब, कापी झोलामा बोकेर विद्यालय आउने र पढ्ने गर्दै आउनुभएको छ । घरायसी कामसँगै छोरीले पढ्नु हुँदैन भन्ने प्रचलनका कारण र सानै उमेरमा बिहे भएकाले पढ्न नपाउनुभएकी कालिका अहिले भने पढाइ पूरा गर्दै आउनुभएको छ । सानैदेखिको पढेर ज्ञान हासिल गर्ने इच्छा पूरा गर्नका लागि अहिले विद्यालय भर्ना भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले पढ्छु भन्दा पनि पढ्न पाउने अवस्था थिएन, घरको काम गर्नु पथ्र्यो, अहिले घरको कामलाई व्यवस्थापन गर्दै पढ्न लेख्न सिक्दै छु ।” घर परिवारको पनि राम्रो साथ पाएका कारण विद्यालयसम्म आएर पढ्न सहज भएको उहाँ बताउनुहुन्छ ।

घोराही–१५ निवासी २३ वर्षीया नुरजला खत्री क्षेत्री कक्षा १ मा पढ्दै हुनुहुन्छ । घरको कमजोर आर्थिक अवस्थाका कारण सानोमा पढ्न नपाउनुभएकी नुरजला अहिले श्रीमान् र घर परिवारको राम्रो साथ पाएका कारण पढाइलाई निरन्तरता दिन थाल्नुभएको छ । नपढेको मान्छेसँग ज्ञान नहुने र जसले पनि हेप्ने गरेकाले आफूले पढ्न थालेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घरको आर्थिक अवस्था कमजोर भएका कारण सानोमा बुवाआमाले पहिले पढाउन सक्नुभएन, तर अहिले बिहेपछि पनि पढ्न पाएको छु ।” उहाँका दुई छोराछोरीसमेत छन् । घोराही–१८ नवलपुर निवासी ३१ वर्षीया सम्झना चौधरीले अहिले कक्षा ४ मा पढ्नुहुन्छ । पढ्ने उमेरमा उहाँलाई पनि विभिन्न समस्याका कारणले गर्दा पढाइबाट वञ्चित हुनुपरेको थियो । अहिले घर परिवारले पढ्नुपर्छ, पढाइलाई उमेरले छेक्दैन भनेर हौसल्ला दिँदा खुसी लाग्ने गरेको उहाँको भनाइ छ ।

विद्यालयमा आफूजस्तै अन्य दिदी बहिनीहरुलाई देख्दा अझ धेरै पढ्न मन लाग्ने गरेको उहाँको अनुभव रहेको छ । चेतना महिला अनौपचारिक विद्यालयले पढ्न नपाएर वञ्चित महिलाहरुका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस विद्यालयमा १५ देखि ५९ वर्षसम्मका महिलाहरुले अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक सुमित्रा पन्थी सुवेदी बताउनहुन्छ । अहिले पनि समाजमा पढ्न, लेख्नसँगै आफ्नो नाम लेख्न नजान्ने महिलालाई शिक्षा दिने काम गर्दै आएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले पनि समाजमा पढ्ने लेख्ने रहर भएर पनि पढ्न नपाउनुभएका महिला हुनुहुन्छ, उहाँहरूलाई नै ध्यान दिँदै यो विद्यालय खुलेको हो, पढाउने कामसमेत गर्दै आएका छौँ ।” यस विद्यालयमा अध्ययन गरेका महिला एसइईसँगै कतिपयले स्नातकोत्तरसम्म अध्ययन गरिरहेको प्रधानाध्यापक पन्थी बताउनुहुन्छ ।

करिब १५ वर्षअघि घोराहीमा स्थापना भएको चेतना महिला अनौपचारिक विद्यालयमा यसवर्ष कक्षा १ देखि ८ सम्म ३० जना बढी महिलाले अध्ययन गर्दै आएको उहाँको भनाइ छ । सामुदायिक विद्यालयमा अध्ययन गराइने कोर्षअनुसार नै चेतना महिला अनौपचारिक विद्यालयमा पठनपाठन हुने गरेको छ । विद्यालयमा पाँच शिक्षक सबै महिला नै हुनुहुन्छ ।

जलजलाका उद्यमीलाई बीउ पुँजी प्रदान

0

पर्वत, १२ जेठ : पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम सञ्चालन गरेका उद्यमीलाई रु एक/एक लाखका दरले बीउ पुँजी उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत नौ वटा वडामा एक/एक जना उद्यमीका दरले घुम्ती कोषमार्फत रु नौ लाख अनुदान उपलब्ध गराएको हो ।

विभिन्न प्रकृतिका उद्यमको वर्गीकरण गरी छनोट भएका उद्यमीलाई जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले घुम्ती कोषबापतको रकम वितरण गर्नुभएको हो । वडा विकास कार्यक्रमले टोल विकास संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउन तथा आर्थिकस्तर वृद्धि गर्न घुम्ती कोष परिचालन गरी सहयोग गरेको उहाँले जानकारी दिनुभयो । वडा नं १ का सन्तु दर्जीले बाख्रापालन, वडा नं २ साम्मारेका दुर्गाबहादुर सुनारले आरन व्यवसाय, वडा नं ३ का पवित्रा कुमारी उपाध्याय पौडेलले स्टेशनरी, वडा नं ४ का लक्ष्मी गिरीले बाख्रापालन र वडा नं ५ का मिना सुवेदीले तरकारीखेती र पसल सञ्चालन गर्न घुम्ती कोषको रकम पाउनुभएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

वडा नं ६ का उजेली सार्कीले भैँसीपालन, वडा नं ७ का पूर्णे दमार्इंले तरकारीखेती, वडा नं ८ का नन्दराम पाध्याले पशुपालन र वडा नं ९ का दुलबहादुर पुर्जाले फलफूल तथा तरकारीखेतीका लागि रकम प्राप्त गर्नुभएको गाउँपालिकाले जनाएको छ । सहुलियत ब्याजदरमा बिनाधितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मर्निभर बनाउने, युवाको विदेश पलायनमा न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो ।

पर्यटन व्यवसायलाई प्रभावकारी बनाउन र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले घुम्ती कोष परिचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षदेखि सुरु भएको कार्यक्रम हरेक वर्ष फरकफरक उद्यमीलाई प्रदान गरिने योजना रहेको छ । पालिकाभित्रै व्यावसायिकरुपमा गरिने फलफूल, तरकारी उत्पादन, पशुपक्षीपालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगारमूलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुनुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि प्रेरणा मिल्ने प्रशासकीय अधिकृत आचार्यको भनाइ छ । पालिकाले यसअघि एकल वा हलगोरु पाल्ने तथा स्थानीय जातका गाईगोरु संरक्षण गर्ने कृषकलाई पनि अनुदान उपलब्ध गराउँदै आएको छ ।