Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Tuesday, May 12, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 794

संसदीय छानबिन समितिको कार्यादेशमा रविको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

By
Himalayan Tribune
-
May 27, 2024
0

काठमाडौं। नेपाली कांग्रेसले संसदीय छानबिन समितिका विषयमा पार्टीले राखेको अडान कायमै राख्ने निर्णय गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिको कार्यादेशमा रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो।

बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले कार्यदल र प्रधानमन्त्रीसंग भएको छलफलका बारेमा पार्टी पदाधिकारी बैठकमा छलफल भएको बताए। उनले अब प्रधानमन्त्रीसँग हुने छलफल पनि कांग्रेसले अघि सार्दै आएको मागका बारेमा नै अडान राख्ने निर्णय भएको जानकारी दिए। परियारले विगतदेखि राख्दै आएका कुरालाई अघि सार्ने र सहमतिको बिन्दु खोज्ने प्रयास गर्ने बताए।

त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिवन्धुका विषयमा पहिला एमाले अध्यक्षले नै कांग्रेसमाथि आरोप लगाएकाले त्यसको प्रतिवाद गरेको बताए। उनले कसैमाथि लागेको आरोपको प्रतिवाद गर्ने छुट सबैलाई भएको भन्दै आफूले तथ्यसहित गिरिबन्धुका विषयमा धारणा राखेको उल्लेख गरे।

यसअघि सोमबार नै बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा एमालेका नेताहरुले केपी ओलीमाथि कांग्रेसले प्रायोजित पूर्वाग्राही तथ्यहीन गलत आरोप लगाएको भन्दै लिखित रूपमा क्षमायाचना गर्नुपर्ने र सार्वजनिक माफी माग्नुपर्ने जनाएका थिए।

मनोरञ्जन कर खारेज गर्न वाग्मती प्रदेश सरकारसमक्ष माग

By
Himalayan Tribune
-
May 27, 2024
0

काठमाडौँ: ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र सञ्चालित व्यवसायमा लगाएको पाँच प्रतिशत मनोरञ्जन कर खारेज गर्न माग गरेको छ । परिषद्का अध्यक्ष भविश्वर शर्मा नेतृत्वको टोलीले आज वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल तथा मन्त्रीहरुलाई भेटेर ठमेल क्षेत्रभित्रका व्यवसायमा लगाएको मनोरञ्जन कर हटाउन माग गर्दै ज्ञानपत्र बुझाएको हो ।

परिषद्ले विगत लामो समयदेखि ठमेल क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरी सबै व्यवसायीलाई निःसर्त पर्यटन व्यवसायीका रुपमा उपत्यका पर्यटन कार्यालयमा दर्ता गर्न आग्रह गरेको छ। उक्त टोलीले ठमेलमा सञ्चालित होटलमा हाल नवीकरण प्रक्रियामा अनावश्यक झन्झट दिने गरी वातावरणीय प्रभाव मूल्याङ्कन (आइई र इआइए) माग गरिएको भन्दै उक्त ‘रिपोर्ट’ विना सहज तरिकाले नवीकरण गर्न माग गरेको छ । आजै वाग्मती प्रदेशका सभामुख भुवनबहादुर पाठक, उपसभामुख अप्सरा चापागाइँ, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यलगायतलाई भेट गरी आफ्नो मागको विषयमा परिषद्ले ध्यानाकर्षण गराएको छ ।

भेटमा मुख्यमन्त्री जम्कट्टेलले परिषद्को मागलाई गम्भीरतापूर्वक लिई चाँडो कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको मुख्यमन्त्रीको भनाइलाई उद्धृत गर्दै भेटमा सहभागी परिषद्का उपाध्यक्ष सहदेव धमलाले राससलाई जानकारी दिनुभयोे । भेटमा क्लब एसोसिएसनका अध्यक्ष राजु दनै, रात्रिकालीन व्यवसायी सङ्घका अध्यक्ष रुपेश गुरुङ, दोहोरी सङ्घका अध्यक्ष विनोद श्रेष्ठलगायत दुई दर्जन बढी व्यवसायी सहभागिता थिए ।

“मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु”- सन्दीप

By
Himalayan Tribune
-
May 27, 2024
0

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै लामिछानेले भने, “इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।”

बलात्कार मुद्धामा पाटन उच्च अदालतले सफाई दिए पनि अमेरिकामा हुने टी–२० विश्वकप खेल्न जान अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि जान पाएका छैनन्।

 

गर्मीका कारण विद्यालय बन्द, खोप अभियान स्थगित

By
Himalayan Tribune
-
May 27, 2024
0

भरतपुर (चितवन): गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । यही जेठ १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो । चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । खोप अभियान स्थगित अत्यधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वाग्लेले पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने तय भएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको बताउनुभयो । सो अभियान जेठ २० गतेदेखि पुनः सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

जनस्वास्थ्य नीतिमा हरिवनको प्रयास

By
Himalayan Tribune
-
May 27, 2024
0

काठमाडौँ: हरिवन नगरपालिका मधेस प्रदेशमा जन स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिकाका रुपमा सम्मानित भएको छ । नगरपालिकाले जनस्वास्थ्यका क्षेत्रमा गरेको योगदानका आधारमा मधेस प्रदेशमै राम्रो कार्य गर्ने पालिकाका रुपमा सम्मानित हो । नगरपालिका प्रमुख रमेश बुढाथोकीका अनुसार नगरपालिकाले जनस्वास्थका क्षेत्रमा थप कार्य गर्न त्यस सम्बन्धित नीति बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । सोही क्रममा हरिवन स्थायी घर भई काठमाडौँमा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिसँग के कस्तो जनस्वास्थ्य नीति अवलम्बन गर्ने भन्नेबारे छलफल गरी राय परामर्श लिइएको छ । भविष्यमा नगरपालिकाको नेतृत्वमा जुनसुकै राजनीतिक दल र व्यक्ति पुगे पनि तर्जुमा गरिएका नीतिका आधारमा कार्यक्रम अघि बढाउने भएकाले पालिकाले जनस्वास्थ्य नीति निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख बुढाथोकीले बताउनुभयो ।

पूर्वपश्चिम–राजमार्ग हरिवन नगरपािलकाको बीच भाग भएर जाने भएकाले यातायात मात्र नभई तरकारी र फलफूल उत्पादन तथा हावापानी दृष्टिले अनुकूल नै मानिन्छ । हरिवन नगरपालिको जनसङ्ख्या करिब ५२ हजारको हाराहारीमा रहेको तथ्याङ्क छ । नगरपालिकाले जनस्वास्थ्य नीतिमा सबै मतदाताको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहोस् भन्ने हेतुले सार्वजनिक सुनुवाइ र छलफलका माध्यमबाट सुझाव सङ्कलन गर्दैआएको छ ।

सोही क्रममा नगरपालिकाले चिकित्सक, महिला स्वयमंसेविका, महिला सङ्गठन, मजदुर, किसान, राजनीतिक पार्टीका प्रतिनिधि, विद्यार्थी, विभिन्न सङ्गठनका प्रतिनिधि, कर्मचारी, शिक्षक र पूर्वजनप्रतिनिधिसँग छलफल गरेको छ । पालिकाले सबैबाट प्राप्त सुझावलाई निष्कर्षमा पुर्याउन पूर्व स्वास्थ्य राज्यमन्त्री डा भरत प्रधानसहितका विशेषज्ञ चिकित्सकसँग समेत छलफल गरी नीति नगर परिषद्बाट पारित गरी लागू गर्ने योजना बनाएको छ । मुलुकमा सङ्घीय सरकार, कोशी र लुम्बिनी प्रदेश तथा कर्णालीका केही पालिकाले पनि स्वास्थ्य नीति बनाई कार्यान्वयनमा ल्याएको छ । स्वास्थ्य नीति निर्माणमा धेरैभन्दा धेरैको सहभागिता भए नीति दीर्घजीवी हुने र विषयवस्तु समेटिन सक्छ भन्ने पालिका प्रमुखको ध्येय छ । हरिवनमा दनुवार, थामी, मुस्लिम, तामाङ, मधेसीलगायत अरु समुदायको बसोबास पनि सघनरुपमा रहिआएको छ । नगरपालिकाको जनस्वास्थ्य नीति बनाउन फेक्ट नेपाल र सिविन नेपाल नामक गैरसरकारी संस्थाले पनि सहयोग पुर्याइरहेका छन् । आफ्नो जन्मथलो र कर्म थलो सम्झिएर उहाँहरुले सामान्य सहयोगले पनि हरिवनको विकास र सामाजिक परिवर्तनमा ठूलो फड्को हुने नगर प्रमुख बुढाथोकी बताउनुहुन्छ ।

राज्यले तोकेको ९८ प्रकारका औषधि निःशुल्करुपमा स्थानीय तहले उपलब्ध गराउनुपर्छ भन्ने नीतिलाई पूर्ण कार्यान्वयन गर्न पालिकाले समयमै खरिद गरी ती सबै थरी औषधिको पर्याप्त जोह गरेको छ । नगरपालिकाले आफ्नो कार्य जिम्मेवारीको क्षेत्रभित्र विभिन्न रोगसँग सम्बन्धित १० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकमार्फत बिरामीलाई परीक्षण गर्ने व्यवस्था गर्दै आएको छ । नगरपालिकाले गुणस्तरीय ल्याब सेवा, भिडियो एक्सरे, महिलाको पाठेघरको क्यान्सर परीक्षण र सेक्ने उपकरणसमेतको व्यवस्था गरेको छ । पालिकास्तरको १५ श्ययाको अस्पताल निर्माण अन्तिम चरणमा छ । डटस् कार्यक्रममार्फत मुलुकभर क्षयरोगको व्यवस्थित र प्रभावकारी उपचार गर्ने पालिकाका रुपमा हरिवन सम्मानित भइसकेको छ ।

पालिकाले गत वर्ष मानसिक स्थास्थ्य परीक्षण सम्बन्धित तीन दिने स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । यस पटक यही जेठ १८, १९ र २० गते बृहत् स्वास्थ्य शिविर गर्ने तयारी छ । मनोविद् पद्मप्रसाद घिमिरे भन्नुहुन्छ, “स्वास्थ्य भनेको उपचार मात्र नभई वातावरण र परिस्थितिसँग पनि जोडिन्छ, प्रभावकारी उपचारका लागि गुणस्तरीय औषधि, विश्वासिलो चिकित्सा सेवा र गुणस्तरीय औषधि सम्बन्धित विषयसमेत पर्छ ।” मुलुकमा बेरोजगारी तगातका कारण लागुऔषधि प्रयोगकर्ता युवाको सङ्ख्या बढेकाले त्यसबाट उनीहरुलाई मुक्त गराउने र पुनःस्थापना गर्ने कार्यमा पालिकाले ध्यान पुर्याउनुपर्नेमा जोड दिँदै उहाँले उनीहरुलाई सुबाटोमा हिँडाउन युवालाई लक्षित गरी सिर्जनशील परामर्श र तालिम प्रदान गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । पालिकाले मानसिक रोगको उपचारमा संलग्न केही नर्सलाई थप तालिमका लागि काठमाडौँका विभिन्न अस्पतालमा पठाएको छ । क्यान्सरलगायतका दीर्घरोगीलाई विभिन्न स्वास्थ्य संस्थामार्फत घरमै पुगेर उपचार गराउन पालिकाले कोसिस गरिरहेको छ । नगरपालिका–८ का वडाध्यक्ष प्रज्ज्वल ढुङ्गानाले सक्षम निजामती प्रशासन: विकास, समृद्धि र सुशासनको नारालाई पनि सँगै कार्यान्वयमा जोड दिँदैआएको बताउनुभयो ।

चेपाङ विद्यार्थीलाई अध्ययन खर्च

By
Himalayan Tribune
-
May 27, 2024
0

तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिकाले यहाँका दुई चेपाङ विद्यार्थीलाई अध्ययन खर्च बापतको रकम प्रदान गरेको छ । आँबुखैरेनी–५ का अमृत चेपाङ र सञ्जीव चेपाङलाई मासिक रु पाँच हजारका दरले अध्ययन खर्च दिएको हो । स्थानीय रामशाह माध्यमिक विद्यालयमा अमृत कक्षा ९ मा तथा सञ्जीव कक्षा ११ मा अध्ययनरत रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यपालिका बैठकले विपन्न वर्गका चेपाङ विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गर्न मासिक रु पाँच हजारका दरले सहयोग दिने निर्णय भएबमोजिम उक्त रकम प्रदान गरिएको हो । अमृतलाई दोस्रो र तेस्रो किस्ताबापत मङ्सिरदेखि असारसम्म आठ महिनाको रु ४० हजार तथा सञ्जीवलाई यही शैक्षिक सत्रको वैशाखदेखि असारसम्म तीन महिनाको रु पन्ध्र हजारको चेक हस्तान्तरण गरिएको हो । शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले रकम सहयोग गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

विपन्न विद्यार्थीका लागि खाद्यान्न र आवासबापत मासिक रु पाँच हजारका दरले सहयोग गर्ने नीति गाउँपालिकाले अवलम्बन गरेको छ । चौध कार्यपालिका सदस्य र एक प्रमुख प्रशासकीय अधिकृतले मासिक बैठक भत्ताबापतको रकम शैक्षिक कोषमा जम्मा गरेका छन् । पन्ध्र जनाको मासिक रु एक हजारका दरले दश महिनाको रु एक लाख पचास हजार शैक्षिक कोषमा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । सो रकम विपन्न वर्गका विद्यार्थीको अध्ययनका लागि खर्च गरिने छ ।

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते

By
Himalayan Tribune
-
May 27, 2024
0

चितवन: चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन । दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पर्यटकीय गन्तव्य बन्दै ज्यामरुककोट

By
Himalayan Tribune
-
May 27, 2024
0

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पूर्वाधार विस्तार गरिएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पूर्वाधार विस्तार गरिएको हो । गण्डकी प्रदेश सरकारअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा खड्गभवानी कोत परिसरमा पूर्वाधार विस्तार गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो । “बेनीमा आउने पर्यटकको बसाई लम्बाउन ज्यामरुककोटमा पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ ” उहाँले भन्नुभयो, “पूर्वाधार विस्तारसँगै यहाँ भक्तजन र पर्यटकको चहलपहल बढेको छ ।

पूर्वाधारले उनीहरुलाई सहज बनाएको छ ।” प्रदेश सरकारको रु १० लाखको लागतमा खड्गभवानी कोतघर परिसरमा पर्खाल निर्माण गरेर फराकिलो बनाइएको छ । अठ्तीस मिटर लामो र दुई मिटर अग्लो मेसिनरी पर्खाल निर्माण गरिएको खड्कभवानी कोत मन्दिर संरक्षण समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो । पर्खाल बनाएर फराकिलो बनाइएको कोतघर परिसरमा भक्तजन र पर्यटक बस्न १० बेञ्च राखिएका छन् । यसअघि प्रदेश सरकारको रु १५ लाखको लागतमा भकुुण्डेदेखि खड्गभवानी कोतघर परिसरमा पुग्ने तीन सय आठ मिटर पक्की पदमार्ग निर्माण गरिएको पूर्ववडाध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । प्रदेश सरकारकै रु १० लाखबाट कन्थरथानतर्फबाट कोतघर परिसरमा पुग्ने पदमार्ग निर्माण गरिएको छ । कोतघर परिसरमा रु पाँच लाखमा गणेशको मन्दिर बनाइएको छ ।

कोत परिसरमा दुई सय १० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएका छन् । पन्धौँ शताब्दी प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोट (खड्गभवानी कोत) परिसरलाई पर्यटकीय गन्तव्य बनाउन बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएका हुन् । यहाँ मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियारसमेत छन् । बयालिस रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा, तरबारलगायत हातहतियार, प्राचीन शिला/इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै यथावत् छन् । समुद्री सतहदेखि एक हजार ६ सय ४८ मिटर उचाइमा रहेको ज्यामरुककोटबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत हिमशृङ्खला, सदरमुकाम बेनी बजार, पञ्चकोट तथा विभिन्न ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ ।

मुगुको डोल्फु गाउँँमा लुटपाट

By
Himalayan Tribune
-
May 27, 2024
0
मुगु: मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना, सरसामानलगायत बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो । “गाउँमा बूढाबूढी र बालबालिकका मात्र रहेको मौका छोपी हरियारधारी समूहले ५० घरमध्ये २३ घरमा लुटपाट गरेका छन्”, उहाँले भन्नुभयो ।
लुटेरा समूहले गाउँमा रहेका गुम्बाका पुजारीलाई समेत कुटपिट गरेको अध्यक्ष लामाले बताउनुभयो । उनीहरुले घरको हेरचाहका लागि राखिएका कुकुरलाई समेत कुटपिट गरेका थिए । प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लुटपाटको खबर थाहा पाएपछि गाउँदेखि पाँच घण्टा टाढाको पुलु प्रहरीचौकीबाट प्रहरी टोली पठाएको बताउनुभयो । विगत वर्षमा पनि स्थानीयवासी यार्सागुम्बा सङ्कलनमा गएको समयमा सो गाउँमा लुटपाट हुँदैआएको थियो ।
मुगुम कार्मारोङ–१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले गाउँमा भएको लुटपाटबारे प्रहरीलाई जानकारी गराउनुभएको थियो । बन्दुक, तरबार, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर त्यहाँ रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, पुराना गरगहना, लत्ताकपडालगायत सामान लुटेर लगेको उहाँले बताउनुभयो । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनास्थल सञ्चारको पहुँचभन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न मुश्किल भएको बताउनुभयो ।
मुगुम कार्मारोङ–१, ३ र ४ नम्बर वडाका वन तथा पाटन से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको क्षेत्र हो । मुगुम कार्मारोङ गाउँँपालिकाले यही जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छ । स्थानीयवासी जेठ १० गते नै गाउँ छाडेर यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ गएका छन् ।

कीर्तिमानी आरोही फुञ्जो लामाको स्वागत

By
Himalayan Tribune
-
May 26, 2024
0

काठमाडौँ: पन्ध्र घण्टाभन्दा कम समयममा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । आरोही फुञ्जोले यही जेठ १० गते बिहान सगरमाथा शिखरमा पुगेर सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिला आरोहीको कीर्तिमान कायम गर्नुभएको हो ।

उहाँ २४ घण्टा २४ मिनेटमा आधार शिविरबाट चुचुरोमा पुग्न र त्यहाँबाट आधार शिविरमा ओर्लेर कीर्तिमान कायम गर्न सफल हुनुभएको हो । विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार उहाँले १४ घण्टा ३१ मिनेटमा शिखर चुम्नुभएको हो । सन् २०१८ मा उहाँले ३९ घण्टा छ मिनेटमा शिखरमा पुग्नुभएको थियो । सन् २०२१ मा हङ्कङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा शिखरमा पुगेर उहाँको कीर्तिमान भङ्ग गर्नुभएको थियो । विसं २०४३ मा गोरखाको छेकम्पार बुर्जीगाउँ (चुम भ्याली)मा सामान्य परिवारमा जन्मेकी फुन्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल चढेर आरोहण यात्रा प्रारम्भ गर्नुभएकी उहाँले चोयु, आमाडब्लम, लापुछे, मनास्लुको सफल आरोहण गर्नुभएको छ । उहाँले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसक्नुभएको छ ।

आरोही फुञ्क्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई उद्धार गर्दै आउनुभएको छ । उहाँले सोलुखुम्बुको खुम्बु र गोरखाको मनास्लु क्षेत्रमा केन्द्रित रहेर उद्धार गर्दै आउनुभएको छ । सगरमाथा आरोही सङ्घका महासचिव सापकोटाले फुञ्जोले कायम गरेको कीर्तिमानबाट विश्वभरका महिला आरोहीलाई प्रेरणा मिलेको तथा त्यसले देशको साहसिक पर्यटन विश्वबजारमा प्रवर्द्धन गर्न मद्दत पुग्ने बताउनुभयो ।

विमानस्थलमा उहाँलाई पर्वतारोही, पर्यटन व्यवसायी, सगरमाथा आरोही सङ्घका पदाधिकारी सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख सम्पर्क अधिकृत लगायत साहसिक पर्यटन क्षेत्रका अगुवाले स्वागत गरेका थिए ।

1...793794795...1,301Page 794 of 1,301

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune