Tuesday, May 12, 2026
Home Blog Page 796

कोरोनाको नयाँ भेरियन्ट : सङ्क्रामक तर घातक कम

0

काठमाडौँ: नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको थियो । “यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,” उहाँले भन्नुभयो, “तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्दछ ।” कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रुप लिने सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने उहाँको भनाइ छ । ‘केपी.१’ १२ जनामा, ‘केपी.२’ १७ जनामा, ‘केपी.३’ र ‘केपी.४’ एक÷एकजनामा देखिएको थियो ।

चौबीस खर्ब हाराहारीमा सार्वजनिक ऋण

0

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो । “चालु आर्थिक वर्ष २०८०/८१ को सुरुमा कूल सार्वजनिक ऋण रु २२ खर्ब ९९ अर्ब रहेकामा २०८१ वैशाख मसान्तसम्ममा रु ९८ अर्ब आठ करोड थप प्राप्त भई कूल ऋण रु २३ खर्ब ९७ अर्ब रहेको छ”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ, “चैत महिनाको तुलनामा कूल सार्वजनिक ऋण रु ११ अर्ब ६४ करोड थप भएको छ ।

कूल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२ दशमलव ०२ प्रतिशत हुन आउँछ ।” गत वैशाख मसान्तसम्मको कूल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व रु ११ खर्ब ८४ अर्ब ४८ करोड बराबर रहेको छ । यो अवधिसम्मको आन्तरिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिपिडी) को २० दशमलव ७६ प्रतिशत प्रतिशत बराबर हो ।

त्यस्तै बाह्य ऋण दायित्व रु १२ खर्ब १२ अर्ब ९५ करोड बराबर पुगेको छ । जिडिपी अनुपातमा बाह्य ऋणको दायित्व २१ दशमलव २६ प्रतिशत बराबर हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले कूल रु दुई खर्ब ६४ अर्ब ६३ करोड बराबर ऋण उठाउँदा रु एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख बराबर साँवा ब्याज भुक्तानी गरेको छ । यो अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋण रु एक खर्ब ९१ अर्ब र बाह्य ऋण रु ७३ अर्ब ६३ करोड बराबर हो ।

त्यस्तै, साँवा ब्याज भुक्तानीतर्फ आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा रु एक खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋणको साँवाब्याजतर्फ रु ३० अर्ब ९३ करोड बराबर भुक्तानी भएको छ । गत वैशाख मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८ दशमलव ४५ प्रतिशत बराबर ऋण उठाइएको पनि कार्यालयले जनाएको छ । “चालु आर्थिक वर्षमा रु चार खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा रु दुई खर्ब ६५ अर्ब ऋण प्राप्ति भएको छ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ, “वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति ५८ दशमलव ४५ प्रतिशत र आन्तरिक ऋण प्राप्ति ७९ दशमलव ५८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ३४ दशमलव ६१ प्रतिशत रहेको छ ।” चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि रु तीन खर्ब ३० अर्ब बराबर वार्षिक बजेट विनियोजन भएको थियो । वैशाख मसान्तसम्ममा रु दुई खर्ब २२ अर्ब बराबर भुक्तानी भएको छ । यो वार्षिक विनियोजनका आधारमा ७० दशमलव ५७ प्रतिशत बराबर हो ।

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

0

काठमाडौँ: ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले राससलाई बताउनुभयो । “पूर्वी खण्डको काम सम्पन्न हुने चरणमा छ । ढल्केबर पश्चिम खण्डमा भने विभिन्न स्थानमा अझै पनि अवरोध छ ।

अवरोध हटाएर आयोजना सम्पन्न गर्न हामी लागिपरेका छौँ,” उहाँले भन्नुभयो । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना सुरु गरिए पनि स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगलगायत समस्याका कारण रुग्ण बन्दै आएको छ । पूर्वी खण्डको काम सम्पन्न भएपछि माथिल्लो तामाकोशीलगायत आयोजनाको बिजुली पूर्वी भागका औद्योगिक क्षेत्रमा मागअनुसार आपूर्ति गर्न सहज हुनेछ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्यांगबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ दुई सय ८८ किलोमिटर छ । पूर्वी खण्डको काम प्रायः पूरा भएकाले उद्घाटनको तयारी भएको तथा त्यसनिम्ति ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अनुरोध गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर एक सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा एक सय ५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी विगत ११ वर्षदेखि काम जारी छ । पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि सात सय ९२ वटा टावर निर्माण गर्नुपर्छ । धेरै जसो टावरको काम भए पनि स्थानीयवासीले प्रसारण लाइनको मार्ग स्थानान्तरण गरिदिन माग गर्दै अवरोध गरेका कारण बाँकी ३५ वटा टावरको काम नै रोकिएको छ ।

मोरङ–सुनसारी औद्योगिक करिडोरलगायत समग्र पूर्वी नेपालको माग धान्नका लागि भारतबाट थप विद्युत् आयात तथा वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात गर्न यो प्रसारण लाइन जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्वका हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो ठूलो विपत् आउनसक्ने बताउनुभयो । कूल ४००/२२० केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।

हेटौँडा उपमहानगरपालिका वडाहरु १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४, हेटौँडा–११ स्थित थानाभ¥याङमा दुई र जियाजोर क्षेत्रमा आठवटा टावर निर्माणमा अवरोध छ । थानाभर्यांगमा रहेको सबस्टेसनमा लाइन जडानका लागि दुईवटा टावर निर्माण गर्नुपर्नेछ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुनेछन् । स्थानीयको अवरोध अन्त्य गर्न प्राधिकरणको निरन्तर प्रयास जारी छ । यद्यपि यसमा सफलता प्राप्त भएको छैन । प्रसारण लाइन मकवानपुरबाट बारा– रौतहट,–सर्लाही–महोत्तरी–धनुषा–सिराहा–उदयपुर–सप्तरीहुँदै सुनसरीको इनरुवासम्म निर्माण हुनेछ ।

प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटान स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले निर्माण प्रभावित भएको छ । कूल ३० महिनामा निर्माण सम्पन्न गर्ने २०६९ सालको माघमा ठेक्का सम्झौता भएको थियो । हेटौँडा–ढल्केबर–इनरुवा चार सय ४० केभी प्रसारण लाइन विद्यमान एक सय ३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ ।

प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ २३ मिटर हुनेछ । आयोजनाले पाँच सय १८ हेक्टर वन क्षेत्रमा रहेका रूखहरु काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिम अधिग्रहण गर्नुपर्नेछ । मार्गाधिकारमा चार सय ७५ हेक्टर निजी जग्गा र एक सय ७१ वटा घर तथा अन्य संरचना प्रभावित हुनेछन् । कूल १७ करोड अमेरिकी डलर अनुमानित लागतको आयोजनामा नेपाल सरकार, विद्युत् प्राधिकरणको लगानी छ ।

यसअघि सो आयोजनाका लागि विश्व बैङ्कले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो । विश्व बैङ्कले आयोेजनाबाट हात झिकेपछिको ऋण प्रवाह रोकिएसँगै बाँकी काम सरकार र प्राधिकरणले पूरा गर्नुपर्नेछ ।

कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण

0

डुम्रे (तनहुँ): तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि पाल्पा र तनहुँको यात्रा सहज हुने भएको छ। गण्डकी प्रदेशको ग्रामीण क्षेत्र तनहुँको घिरिङ र लुम्बिनी प्रदेशको पाल्पाको रामपुर जोड्ने उद्देश्यले पुल निर्माण गरिएको हो । पुल निर्माणपछि यहाँका स्थानीयलाई स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ । कालीगण्डकी नदी मोटरेवल पुल पुट्टारघाट (तनहुँ–पाल्पा) उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले विसं २०७३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट प्राप्त भएपछि कालीगण्डकी नदी माथि पुल निर्माण थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीको प्रयासले नै पुल निर्माण भइरहेको छ, अब स्याङ्जाको घुमाउरो बाटोबाट पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।” कालीगण्डकी नदी पुल निर्माण ९० प्रतिशत पूरा भएको उहाँले जानकारी दिनुभयो ।

वर्षायाममा बाढी आउने समयमा नै सञ्चालनमा आउने गरी पुल निर्माणका काम भइरहेको उहाँको भनाइ छ । अध्यक्ष सिग्देलले भन्नुभयो, “देशकै नमूनाको रुपमा डबल ल्याण्डको युनिक पुल निर्माण भइरहेको छ, यहाँ पुल निर्माण हुन थालेसँगै आमनागरिकमा खुसी छाएको छ, यहाँ बनेको मोटरेवल पुलले तराईतर्फ र पहाडतर्फ जान सहज हुनेछ ।” पुल नहुँदा विगतमा भोग्दै आएको सास्तीको समाधान गर्ने र दुई प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने उद्देश्यले यहाँका स्थानीयको पटक–पटकको प्रयासले मोटरेवल पुल निर्माण भइरहेको उहाँले बताउनुभयो । “स्थानीयको प्रयासले कालीगण्डकी नदीमाथिको मोटरेवल पुल निर्माणले सफलता पाएको छ”, अध्यक्ष सिग्देलले भन्नुभयो, “यहाँ बनेको मोटरेवल पुलले तनहुँका ग्रामीण क्षेत्रमा ठूलो विपद् आइपरेमा जिल्लाको सहयोगको मात्र नभई प्रदेश राजधानी पोखराबाट पनि सहज रुपमा सहयोग लिन सकिनेछ ।” घिरिङमा बाढी, पहिरो, आगलागीजस्ता विपद् आइपरेको खण्डमा सदरमुकामबाट सहजरुपमा सहयोग पुग्न नसकेको अवस्थामा पनि प्रदेश राजधानी पोखरा, रामपुर, तराई क्षेत्रबाट सहजरुपमा सहयोग पाउन सक्नेछ ।

वर्षायाममा खहरे खोलामा बाढी आएको अवस्थामा समेत यस पुलमार्फत अन्यत्र आवतजावत गर्न सकिनेमा स्थानीय विश्वस्त छन् । मोटरेवल पुल दुई सय १० मिटर लम्बाइको बन्नेछ । पुल निर्माणका लागि विसं २०७३ असार ३ गते निर्माण सम्झौता भएको हो । शर्मा, युनाइटेड विल्डर्स, रमन जेभीले रु २४ करोड ७९ लाख ७९ हजार एक सय २५ मा ठेक्का सम्झौता गरेको छ । कोभिडका कारण केही समय निर्माणका कार्यले तीव्रता पाउन नसक्दा हालसम्म दुई पटक म्याद थप गरी निर्माणको काम अहिले करिब अन्तिम चरणमा पुगेको अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । हालसम्म उक्त पुल निर्माणका लागि दुई पटक म्याद थप गरिएको छ । विसं २०८१ पुस मसान्तसम्ममा ठेकेदार कम्पनीले उक्त मोटरेवल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । हालसम्म पुलको ढलान, जडानलगायतका कार्य भइरहेको छ ।

वर्षायामसँगै आउने बाढीपहिराले स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएपछि खुसी लागेको दानबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल बनेपछि त सजिलै पाल्पा पुग्न र आउन भ्याइन्छ, बाटो घुमाउरो पनि पर्दैन, यो पुल बन्दै गर्दा हामीलाई खुसी दिलाएको छ ।” स्याङ्जाको बाटो भएर पाल्पा जाने क्रममा पनि खोलामा मोटरेवल पुल नहुँदा यात्रामा समस्या आउने गरेको थियो । यहाँ मोटरेवल पुल निर्माण भएपछि भने चार जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । कालीगण्डकी करिडोरसँग जोडिएकाले सहजरुपमा पहाड तथा हिमाली जिल्लातर्फ र तराईतर्फ आवजतजावतमा सहज हुने मोटरेवल पुल बन्नेछ ।

पुल निर्माण भएपछि तनहुँलगायत पाल्पा, स्याङ्जा र नवलपुरका करिब तीन लाख स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । यो दुई प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने मोटरेवल पुल बनेको हो । यहाँ पुल निर्माण भएपछि यात्राको दूरी कम हुनुका साथै ग्रामीण क्षेत्रका स्थानीयलाई सेवा प्रवाहमा समेत सहज हुनेछ ।

विद्यालय भवन हस्तान्तरण

0

देउखुरी (दाङ): घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविका लागि भारतीय राजदूतावासको सहयोगमा निर्मित ३६ कोठे भवनको शुक्रबार उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीको अध्यक्षता तथा नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहको प्रमुख आतिथ्यमा भवन उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि सिंहले युवाको शिक्षाप्रतिको आकाङ्क्षा पूरा गर्न र दूरदराजका नागरिकको जीवन बलियो बनाउन सहयोग पुर्‍याउने उद्देश्यले भारत सरकारले यस प्रकारको सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।

विकास साझेदार कार्यक्रमअन्तर्गत राजदूतावासले सहयोग गरेको उहाँको भनाइ थियो । भारतले नेपालको विकास साझेदारीमा सन् २००३ देखि काम गर्दै आएको छ । उहाँले विकास साझेदारीका माध्यमबाट अझ परियोजनामा सहकार्य हुने विश्वास दिलाउनुभयो । उहाँका अनुसार लुम्बिनीमा ६१ वटा विद्यालयमा यस प्रकारको सहयोग भइसकेको छ भने दाङमा छ विद्यालयको पूर्वाधारमा लगानी, पाँच वटा स्कुल बस सहयोग गरेको जानकारी गराउँदै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।

प्रदेशभर एक हजार नौवटा एम्बुलेन्स, तीन सय वटा स्कुल बस प्रदेश भर सहयोग भएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत विविध क्षेत्रमा भारत सरकारले प्रदान गर्दै आएको सहयोगबाट नेपाल र नेपालीको जीवन बदल्न सहयोग मिलेको बताउनुभयो । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले दक्ष जनशक्ति उत्पादनमा लागेको विद्यालयको भौतिक पूर्वाधार विकासमा भारत सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भारतीय शिक्षकले दाङमा आएर अध्यापन गरेको स्मरण गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले शैक्षिक उन्नयनका लागि प्राप्त भएको विद्यालय भवनको सही सदुपयोग हुनु प्रभावकारी देखिएको बताउनुभयो । विद्यालयलाई यसबाट थप शैक्षिक गुणस्तर कायम गर्दै अघि बढ्न सुझाव दिनुभयो । भारत सरकारको रु दुई करोड ६८ लाख लागतमा २०६४ मा शिलान्यास भई २०६६ मा सम्पन्न भएको उक्त विद्यालयको करिब १७ वर्षपछि उद्घाटन गरिएको छ । हाल उक्त भवनमा कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन र शिक्षा सङ्कायका दुई हजार पाँच सयभन्दा बढी विद्यार्थीले पठनपाठन गर्दै आएका छन् ।

सो अवसरमा विद्यालयले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गरी सहयोग गरेको भन्दै दूतावासलाई सम्मान गरेको छ । विद्यालयले विद्यार्थीको चाप बढ्दै गएकाले थप पूर्वाधार र विद्यालय बसको सहयोगसहितको प्रस्ताव पनि दूतावासलाई बुझाएको छ । विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतको स्वागत तथा विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक दुर्गा पाण्डेले गर्नुभएको थियो ।

शुक्रबार नै लमही नगरपालिका–४ बनगाउँस्थित बालजनता माविमा निर्मित भवनको पनि उद्घाटन गरिएको छ । रु एक करोड ५९ लाखको लागतमा २०६३ पुस ६ गते शिलान्यास भई २०६६ सालमा सम्पन्न भएको ३७ कोठे विद्यालय भवनको भारतीय राजदूतावासका प्रथम सचिव अवनाशकुमार सिंहले उद्घाटन गर्नुभएको हो ।

बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली सुरु

0

म्याग्दी: म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली सुरु गरेको छ । सबै नगरवासीको सूचना, विवरण सङ्कलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर प्रमुख सुरत केसीले सेवा प्रवाहलाई सहज, सुशासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर प्रणाली लागू गरिएको जानकारी दिनुभयो । “डिजिटल घर नम्बर प्रणालीमा रहने क्यूआर कोडमा सम्बन्धित घर कहाँ छ, उक्त घर कति तलाको छ, कुन रङको घर, घरमा कति कोठा छ, उक्त घर केबाट बनेकोलगायतका ९० किसिमका जानकारी राखिएको छ”, उहाँले भन्नुभयो, “सुरक्षाका हिसाबले गोप्य सूचनामा सम्बन्धित घरधनीबाहेक अरुको पहुँच नहुने व्यवस्था मिलाएका छौ ।” नगर प्रमुख केसीले शुक्रबार साँझ बेनी नगरपालिका–८ न्यूरोडका लिलाराम गौतम र देवी केसीलाई डिजिटल घर नम्बर हस्तान्तरण गरेर अभियान सुरुआत गर्नुभयो ।

पहिलो चरणमा बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाका १ हजार नौ सय घरमा डिजिटल घर नम्बर प्लेट राखिने नगर प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार बेनी नगरपालिकाको १० वटै वडाका सात हजार दुई सय घरमा पुगेर सूचना र विवरणलाई विद्युतीय प्रणालीमा अभिलेखीकरण गरिएको छ । ७ र ८ नम्बरबाहेकका वडाका घरमा राखिने डिजिटल नम्बर प्लेट छपाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ । बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले सेवा सुविधाको दुरुपयोग र दोहोरो सुविधा रोकिने, घरधनीले आफ्नो विवरण आफैँ अद्यावधिक गर्नसक्ने, सुत्केरी, गर्भवती तथा जटिल रोग, बिरामी, विपद्को अवस्थामा तत्काल सहयोग गर्न सकिने गरेर डिजिटल घर नम्बर प्रणालीको विकास गरिएको बताउनुभयो ।

गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप

0

कास्की: गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोेविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) खोप दिइने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा यही जेठ १३ गतेदेखि २६ गतेसम्म गण्डकीमा खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप कार्यक्रमका लागि तीन हजार चार सय ५३ खोप केन्द्र तथा स्वास्थ्यकर्मी र छ हजार नौ सय छ स्वास्थ्य स्वयंसेवक परिचालित हुने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

विसं २०७१ बाट सुरु भएको आइपिभी खोप विसं २०७३ को प्रारम्भदेखि विश्व बजारमा अभाव हुँदा दुई वर्षभन्दा बढी अवधिसम्म यो खोप लगाउनबाट छुटेका थिए । छुटेका बालबालिकालाई पालियो रोग लाग्ने जोखिम रहेकाले छुटेकालाई खोप दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको सचिव शर्माको भनाइ छ ।

सचिव शर्माका अनुसार नियमित खोप तालिकाअनुसार आइपिभी खोप दिनुपर्ने उमेर र उक्त समयमा यो खोप लगाउन छुट भएका हालको उमेरलाई विश्लेषण गरी बालबालिकाको उमेर समूह निर्धारण गरिएको छ ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई मात्र यो खोप दिने गरी लक्ष्य निर्धारण गरिएको र सोही आधारमा खोप तथा खोप जन्य सामग्रीको आपूर्ति तथा व्यवस्थापन गरिएको बताइन्छ ।

यस अभियानका लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकाले खोप केन्द्र समेत विद्यालयलाई बनाइएको छ ।

विद्यालय नजाने बालबालिका र विद्यालयमा खोप लगाउन छुट भएका बालबालिकाका लागि पायक पर्ने स्थानमा सञ्चालन हुने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा सञ्चालन हुने खोप केन्द्रमार्फत खोप लगाइने भएको छ ।

खोप अभियानमा मुस्ताङमा चार सय ५०, म्याग्दीमा चार हजार तीन सय ५६, बागलुङमा ११ हजार सात सय ७१, पर्वतमा पाँच हजार सात सय र स्याङ्जामा १० हजार एक सय ५४ बालबालिकालाई आइपिभी खोप दिइने छ ।

यसैगरी कास्कीमा २८ हजार तीन सय सात, मनाङमा एक सय ५३, लमजुङमा छ हजार छ सय ६५, गोरखामा आठ हजार पाँच सय ३९, तनहुँमा १४ हजार पाँच सय १२ र नवलपरासीमा १९ हजार सात सय २९ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ ।

पोलयो भाइरसद्वारा लाग्ने रोग हो । यो मुख्यरुपमा व्यक्ति–व्यक्तिबीचको सम्पर्कद्वारा फैलिन्छ । सङ्क्रमित व्यक्तिको दिसा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने यो रोगले मुख्य गरी पाँच वर्षमुनिका बालबालिकालाई असर गर्ने चिकित्सकको भनाइ छ ।

जब २ सय २९ यात्रु बोकेर उडिरहेको विमान ६ हजार फिट तल खस्यो…

0

काठमाडौं । २ दिनअघिमात्र सिंगापुर एयरलाइन्सको विमान भयानक टर्ब्युलेन्समा फस्यो । यो विमान टर्ब्युलेन्समा फसेर ५ मिनेटमा ६ हजार फिट तल खसेको थियो ।

यो टर्ब्युलेन्स निकै खतरनाक थियो । विमानभित्रका यात्रु यताउता उछिट्टिन थाले, छत र भित्तामा ठोक्किए। यात्रुलाई विमान जुनसुकै बेला दुर्घटनामा पर्नेछ भन्ने लागेको थियो । २०० भन्दा बढी यात्रु बोकेको यो उडान अन्ततः अवतरण भयो तर १ जनाको भने ज्यान गयो ।

सिंगापुर एयरलाइन्सको उडान ‘एसक्यु ३२१’ लन्डन हिथ्रो एयरपोर्टबाट २११ यात्रु र १८ चालक दलका सदस्यहरू लिएर सिंगापुरको लागि उडेको थियो। यात्रा सुरु भएपछि करिब ११ घण्टासम्म सबै यात्रुहरूले यस विलासी उडानको मजा लिँदै आफ्नो गन्तव्यतर्फ लागिरहेका थिए ।

साँझको समय थियो र हवाईजहाजका परिचारक वा एयर होस्टेसहरूले मानिसहरूलाई नाश्ता दिइरहेका थिए। उडान त्यतिबेला म्यानमारको आकाशमा थियो। तर विमानका कप्तानले अचानक आफ्ना यात्रुहरूलाई सम्भावित टर्ब्युलेन्सको बारेमा जानकारी गराए र उनीहरूलाई आ-आफ्नो ठाउँमा चुपचाप बस्न र सिट बेल्ट बाँध्न सल्लाह दिए। घोषणा सुनेपछि र यात्रुहरूलाई मद्दत गरेपछि, चालक दलका सदस्यहरू पनि तुरुन्तै आ-आफ्नो ठाउँमा फर्किए ।

यसको १० सेकेन्ड मात्रै बितेको थियो जब विमान मध्य आकाशमा नराम्ररी घुम्न थाल्यो। रम्बलिंग उडान नराम्रोसँग ढल्किन थाल्यो, कहिले दायाँ र कहिले बायाँ तिर। क्याप्टेनले विमानको नियन्त्रण गुमाएको जस्तो देखिन्थ्यो। तर यो उडानमा यात्रा गर्ने यात्रुलाई समस्याको सुरुवात मात्र थियो । अर्को केहि मिनेटमाअचानक हवाईजहाज द्रुत गतिमा तलतिर खस्न थाल्यो।

सिट बेल्ट राम्रोसँग नबाँधेर आ-आफ्नो ठाउँमा बसेका यात्रुहरू उडानभित्रै हावामा उछिट्टिन थाले । मानिसको टाउको विमानको छतमा ठोक्कियो। अक्सिजन मास्क खुलेर तल झुन्डिन थाल्यो । खाना र ब्रेकफास्ट ट्रली नियन्त्रण बाहिर गयो र बीचको कोरिडोरमा दौडिन थाल्यो ।

कोही फ्लाइटको भित्री भित्तामा ठोक्किए भने कोही सिट ह्यान्डलमा ठोक्किए । स्थिति यस्तो भयो कि विमानमा सवार लगभग सबैले टर्ब्युलेन्सको झटकाले केही नोक्सानी बेहोर्नुपरेको थियो। केही मिनेटको यो समय हरेक यात्रुको लागि कहिल्यै अन्त्य नहुने समय जस्तो देखिन्थ्यो ।

विमान जुन गतिमा खसेको थियो, त्यसका कारण चालक दलका सदस्य, यात्रु होस् वा पाइलट सबैलाई क्षणभरको लागि यो आफ्नो जीवनको अन्तिम क्षण हो जस्तो लागेको थियो । एयर टर्ब्युलेन्सपछि विमान दुर्घटना हुन लागेको थियो। र यदि यस्तो भयो भने कसैको बाँच्ने आशा थिएन । उडान भरि चिच्याहट, प्रार्थना, रुने, कराउने पश्चात्तापका स्वरहरू गुञ्जिरहेला थिए । धेरै यात्रीहरूले आफ्नो मनमा हार स्वीकार गरी आफ्नो अन्तिम परिणामको प्रतीक्षा गर्न थालेका थिए ।

यसरी ५ मिनेटभन्दा कम समयमा विमान ६ हजार फिट तल खसेको थियो । ३७ हजार फिटको उचाइमा उडिरहेको विमान अचानक ३१ हजार फिटको उचाइमा खस्यो । बिस्तारै उडानले यो भयानक टर्ब्युलेन्सलाई पार गर्दै सामान्य मौसमको क्षेत्रमा पुग्न सफल भयो ।

यससँगै उडानका क्याप्टेनले अब आफ्नो उडान सिंगापुरको झांगी विमानस्थलको सट्टा थाइल्याण्डको बैंकक विमानस्थलमा आकस्मिक अवतरण गर्ने घोषणा गरेर यात्रुहरूलाई सान्त्वना दिए । यात्रुलाई कप्तानको निर्णयको कारण बुझ्न धेरै बेर लाग्दैन, किनभने यो झटकाले धेरै यात्रुलाई गम्भिर चोट लागेको थियो भने धेरैको स्वास्थ्य बिग्रिएको थियो । विमान नराम्ररी क्षतिग्रस्त भएको थियो र यस्तो जीर्ण विमानले थप उडान गर्न खतरनाक हुन सकथ्यो।

एयर ट्राफिक कन्ट्रोलको सहयोगमा बैंककमा आकस्मिक अवतरण गर्न गइरहेको यो विमान दुर्घटनाको खबर विमानस्थलमा उपस्थित ग्राउन्ड स्टाफले पाए । हतारमा बैंकक एयरपोर्टमा अस्थायी औषधालय स्थापना गरियो । घाइते तथा बिरामी यात्रुको उपचारका लागि ह्वील चेयरदेखि स्ट्रेचरसम्मको व्यवस्था गरियो । चिकित्सक र प्यारामेडिकहरूको टोली मेडिकल उपकरणसहित तल तैनाथ भयो।

यो विमानमा श्रीमतीसँग यात्रा गरिरहेका ७३ वर्षीय बेलायती नागरिक ज्योफ किचेन यो संसारमा रहेनन् । उनलाई मृत्यु हुने डरले हार्टअट्याक भएको थियो । यो हृदयघात उनको लागि घातक साबित भयो। करिब २३ जना यात्रु घाइते थिए । त्यसमध्ये ७ जनाको टाउको र शरीरका अन्य भागमा घातक चोट लागेको थियो ।

संयुक्त राष्ट्रसंघ अदालतको आदेश- रफाहमा इजरायलले आक्रमण तुरुन्त रोकोस्

0

काठमाडौं। संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतले दक्षिण अफ्रिकाले ल्याएको इजरायल विरुद्धको मुद्दामा आफ्नो फैसला सुनाएको छ। अदालतले इजरायललाई दक्षिणी गाजा शहर रफाहमा आफ्नो सैन्य कारबाही रोक्न आदेश दिएको छ।

अदालतले आदेशमा भनेको छ, ‘इजरायलले तुरुन्तै रफाहमा आफ्नो सैन्य आक्रमण र गाजामा प्यालेस्टिनी समूहलाई पूर्ण वा आंशिक रूपमा भौतिक विनाश ल्याउन सक्ने अन्य कुनै पनि कारबाही रोक्नुपर्दछ।’

दक्षिण अफ्रिकाले मे १० मा इजरायल विरुद्धको नरसंहारको मुद्दामा थप उपायहरूका लागि तत्काल अनुरोध दायर गरेको थियो।

त्यस्तै यस मुद्धामा नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतका न्यायाधीशहरूको प्यानल बसेको छ र यस्तै प्रकृतिको  मुद्धामा फैसला सुनाउने तयारी गरेको छ।

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

0

धनुषा। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले अध्यक्ष सिरोहिया माथि लागेको आरोपको अनुसन्धान गर्न आइतबारसम्मको समय दिएको छ। यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो।

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेर धनुषा लगेको थियो।