Tuesday, June 16, 2026
Home Blog Page 688

काठमाडौँ महानगरले बाढी प्रभावित स्थानीय तहलाई २०/२० लाख रुपैयाँ सहयोग गर्ने

0

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित तीन ओटा स्थानीय तहलाई २०/२० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले काभ्रेपलान्चोकका तीन वटा पालिकाहरूको कोषमा उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसरी सहयोग प्रदान गरिने पालिकाहरूमा पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिका छन् ।

पालिकाहरुबाट सहयोगको माग भएपछि विपद् व्यवस्थापन समितिमा छलफल गरेर सहयोग सिफारिस गरिएको महानगर विपद् व्यवस्थापन समितिमा पठाइएको समितिका संयोजक प्रेम थापाले जानकारी दिए ।

आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरूलाई महानगरपालिकाले सहयोग उपलब्ध गराएको हो । आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडाहरूलाई पत्राचार गरिएको छ । बाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरूलाई ‘विपद् व्यवस्थापन कोष’बाट सहयोग उपलब्ध गराएको हो । अनधिकृत बसोबासलाई भौतिक सहयोग गरेर असुरक्षित आवासलाई बढवा नदिने महानगरपालिकाको नीति छ ।

सहयोग उपलब्ध गराइएका पालिका क्षेत्रमा असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले व्यक्तिका बस्ने घर पूर्ण र आंशिक रूपमा क्षति गरेको छ । सार्वजनिक सेवा प्रदान गरिने कार्यालयहरूबाट सेवा प्रवाह गर्न कठिन हुने अवस्था सिर्जना भएको छ । सडक, खानेपानीका ट्याङ्की तथा पाइप लाइन, सञ्चार र विद्युत् सञ्जाल विच्छेद भएको छ । खेतीबाली बगाएको र पुरिएको छ । लत्ताकपडा, खानेकुराको अभाव तथा स्वास्थ्यजन्य समस्या सिर्जना भएको छ । यस्तो मानवीय संकटमा राहत र पुनर्स्थापना गर्न महानगरपालिकाले सहयोग गरेको हो ।

बाढी पहिरोको विपत्तिमा परेर पनौती नगर क्षेत्रमा २० जना व्यक्तिको मृत्यु भएको छ । ५ सय वटा घर पूर्ण र ७१३ वटा घर आंशिक रूपमा क्षति भएका छन् । २ हजारभन्दा धेरै पशु धनको क्षति भएको छ ।

रोशी गाउँपालिका क्षेत्रभित्र १२ जना व्यक्तिको निधन भएको छ । आवासीय करिब ५ सय घरमा पूर्ण क्षति भएको छ । करिब १ हजार ५ सय घरमा आंशिक क्षति भएको छ । खसी बोका, गाई, भैँसी गरेर करिब ५ सय र कुखुरा चल्ला करिब २ हजार संख्यामा क्षति भएको छ ।

वेथानचोक गाउँपालिकाभित्र १२ जना व्यक्तिको निधन भएको छ । पूर्ण र आंशिक गरेर ९७० वटा घरहरूमा क्षति पुगेको छ । गाई, भैँसी र बङ्गुर गरेर १ हजार वटा, ८ हजार ५ सय वटा कुखुरा गरी ९ हजार ५ सय बढी पशुधनको क्षति भएको छ । गाउँपालिकाको प्रशासनिक भवनमा पनि क्षति पुगेको छ ।

कहाँ-कहाँका सडक छन् आज पनि अवरुद्ध ?

0

काठमाडौँ : गत साताको भीषण बाढीले ल्याएको बितण्डा कारण आएको बाढी र पहिराले कतिपय सडक अझै सुचारु हुन सकेका छैन ।

ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् ।

विभिन्न स्थानमा खसेको पहिरोको कारण विपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।

यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

0

भरतपुर: चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

“खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो”, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भन्नुभयो । जग्दुका साथमा रहनुभएका एक जना भने भागेर बाँच्न सफल हुनुभएको छ ।

बाढीपहिरो प्रकोप: हालसम्म दुई सय ३९ जनाको मृत्यु

0

काठमाडौँ: हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता
छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

उसुमा नेपालले जित्यो बङ्गलादेशमा चार स्वर्ण पदक

0

काठमाडौँ: नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्सको उसुमा चार स्वर्ण पदक जितेको छ । बङ्गलादेशको ढाकामा भएको प्रतियोगितामा नेपालले थप पाँच रजत र एक कास्यपदक पनि जितेको नेपाली टोलीका प्रशिक्षक राजीव महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार ममता सुनुवार राईले दोहोरो स्वर्ण जितिन् । ममताले महिला नान छ्वान र नान ताउमा स्वर्ण जितेकी हुन् । पुरुष ४८ केजीमुनि विराज सुनार तथा ५६ केजीमुनि निश्चल तामाङले स्वर्ण हात पारे ।

त्यस्तै पुरुष ६५ केजीमुनि सौगात चन्द, महिला ४८ केजीमुनि अनिता तामाङ, महिला ५६ केजीमुनि मञ्जरी राई, महिला थाइची छ्वानमा प्राथना नेपाल र महिला ५२ केजीमुनि सुभाङ्गी राज्यलक्ष्मी गौतमले रजत जित हात पारे । रुफस केसीले पुरुष थाइची छ्वानमा कास्यमा चित्त बुझाइन् ।

सोही प्रतियोगितमा सहभागी तेक्वान्दो टोलीले दुई स्वर्ण, चार रजत र आठ कास्यपदक जितेको छ । महिला ६८ केजीमुनि ऋषिका बुढाथोकी तथा पुम्सेको महिला जोडीमा ऋषिका र युनिशा निरौलाले पहिलो स्थान हात पारे ।

पुरुष ४५ केजीमुनि आदित्य पराजुली, पुरुष ६८ केजीमुनि पङ्कज विक, महिला ४२ केजीमुनि इच्छा विष्ट र महिला एकल पुम्सेमा ऋषिकाले रजत जिते । पुरुष ४८ केजीमुनि दिपन सापकोटा, ४२ केजीमुनि युनिशा निरौला, महिला ५२ केजीमुनि सन्ध्याकुमारी पासवान, पुरुष एकल पुम्सेमा सुभम् पोखरेल र पङ्कज विक, महिला एकल पुम्सेमा आदित्य ढकाल, पुरुष जोडी पुम्सेमा आदित्य पराजुली र सुभम् पोखरेल तथा पुम्से महिला जोडीमा इच्छा विष्ट र आदित्य ढकालले कास्य पाए ।

एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख प्रदान

0

काठमाडौँ: नेशनल क्रिएटिभ कोएजुकेशनल स्कूल (एनसिसीएस) समूहले हालैको बाढीपहिरो र डुबान प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख छ हजार पाँच सय ५० प्रदान गरेको छ ।

एनसिसीएस र समूहमा आबद्ध शिक्षक तथा कर्मचारीका तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको समूहका निर्देशक सन्तोषराज मास्केले बताउनुभयो ।

साथै उहाँले देश दैवी विपत्तिमा परेका बेला विगतमा पनि समूहले सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । मुलुकको शैक्षिक उन्न्नयन तथा दक्ष जनशक्ति उत्पादनमा समूहका शैक्षिक प्रतिष्ठानले सक्दो योगदान गर्दै आएको उहाँले बताउनुभयो ।

हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि एयरलाइन्सले थपे उडान

0

काठमाडौँ: हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको छ । हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि उडान थपेको हो ।

श्री एयरलाइन्सले पनि शुक्रबारदेखि काठमाडौँ–भरतपुर–काठमाडौँ रुटमा उडान सञ्चालन गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । कम्पनीले सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ ।

यती एयरलाइन्सले पनि यही असोज १५ गतेदेखि काठमाडौँ–भद्रपुर–काठमाडौँ र काठमाडौँ–नेपालगञ्ज–काठमाडौँमा एक–एक उडान थपेको छ । साथै असोज १८ गतेदेखि काठमाडौँ–जनकपुर–काठमाडौँ गन्तव्यमा एक उडान थपिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चाल अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको छ । उडान चाप बढेपछि एयरलाइन्सले उडान थपेर यात्रुलाई गन्तव्य पु¥याइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित १८२ उडान र १८२ वटा अवतरण भएका थिए । जसमा उक्त दिन १७ हजार चार जना यात्रुले उडान गरेका थिए । साथै अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । जसमा १५ हजार नौ सय ६२ यात्रुले सेवा लिएका थिए । कार्यालयका अनुसार गत सोमबार कुल ५९९, मङ्गलबार ५११ र बुधबार ४७३ वटा उडान भएका छन् ।

सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

0

काठमाडौं: सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गर्ने सुर्खेत गुर्भाकोट नगरपालिका(५ घर भएका २९ वर्षीय खगेन्द्र यरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा साथी बनी कुराकानीका क्रममा म्यासेञ्जर मार्फत गोप्य तस्बिर साटासाट भएको र पछि फेक आइडी बनाई ब्ल्याकमेल गर्ने धम्की दिई चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साईबर ब्यूरोबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरसँगको समन्वयमा उनलाई वैदेशिक रोजगारीबाट नेपाल फर्कने क्रममा पक्राउ गरेको हो।

वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहँदा खगेन्द्रले महिलाको चरित्र हत्या गरेको खुल्न आएको र उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा २०७९ वैशाख २३ गते साईबर ब्यूरोमा मुद्दा दर्ता भई फरारको सूचिमा रहेको तथा उनलाई इन्टरपोलद्वारा रेड नोटिस समेत जारी भएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा राहत सामग्री हस्तान्तरण

0

काठमाडौं:  मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित तीन सयभन्दा बढी परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।

रोशी गाउँपालिकाको वडा नं २ को नारायणटारका एक सय ८६ परिवार र वडा नं ५ महादेवस्थानका करिब डेढ सय घरपरिवारलाई ती सामग्री हस्तान्तरण गरिएको हो ।

हालैको बाढीपहिरोबाट प्रभावित परिवारलाई रु ३० लाख बराबरको खाद्यान्न, लत्ताकपडा, कम्बल, मोबाइल चार्जरसहितको सोलार बत्ती सामग्री हस्तान्तरण गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

विपद्बाट देश नै दुःखमा परेको बेला सरकारलाई गाली गरेर बस्नु र नकारात्मकतालाई प्रश्रय दिनु भन्दा पनि आ–आफ्नो ठाउँबाट सकेको योगदान गर्नु बुद्धिमानी हुने भएकाले यस कठिन परिस्थितिलाई पार लगाउन सबै एकजुट भइदिन उनले आग्रह गरे। सरकारले नेपाली सेनाको हेलिकप्टर उपलब्ध गराएका कारण पीडितपरिवारलाई प्रत्यक्ष सहयोग गर्न सकिएको उनले बताए।

फाउण्डेशनकी अध्यक्ष एवं समाजसेवी आनी छोइङ डोल्माले विपद्बाट आपत्मा परेका मानिसलाई सहयोग गर्नु हरेक नागरिकको कर्तव्यअनुसार नै केही राहत गरिएको उल्लेख गर्दै यस्तो बेला अर्काले टिप्प्णी गर्नुभन्दा आफूले सकेको सहयोग गर्नु नै धर्म हुने बताइन्। विपद्को घडीमा दुःखमा रहेका आफन्तलाई आफ्नोपनको अनुभूति गराउन पाउँदा हर्ष लागेको बताउँदै उनले प्रभावित क्षेत्रमा दिगो व्यवस्थापनका लागि ठोस् कदम चाल्न सरकार र सम्बन्धित निकायहरुसमक्ष अनुरोध गरिन्।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीपहिरोबाट घरबारविहीन बन्न पुगेका र प्रत्यक्ष प्रभावित जनतालाई सहयोग गर्नुभएकामा मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनप्रति आभार व्यक्त गर्दै पालिकामा जतिसक्दो छिटो बत्ती, खानेपानी, सडकजस्ता पूर्वाधार पु(याउन प्रयास भइरहेको बताए।

झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत

0

काठमाडौं: लगातारको वर्षाका कारण धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ।

मृतकहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-१६ का प्रकाश कुँवर, अनुप ठकुरी कुँवर र सृजना कुँवर, रुपन्देहीको देवदह नगरपालिका ४ का रमेश प्रसाद लुइँटेल, अर्घाखाँचीको शितगंगा नगरपालिका ७ का प्र. ज. बोमबहादुर खाम्चा, चितवनको रत्ननगर नगरपालिका १२ का सुमन बजगाईं, स्याङ्जाको गल्याङ नगरपालिका ३ का सिता भट्टराई, दिपिका भट्टराई र दिपेश भट्टराई, गुल्मीको गुल्मीदरबार गाउँपालिका ७ का जुद्धबहादुर रायमाझी, प्रमिता भुसाल र कृशव रायमाझी रहेका छन्।

त्यस्तै नुवाकोट, सामरीका साइमन तामाङ, पर्वतको कुस्मा नगरपालिका २ की पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट ७ का नवराज पन्त, रुकुमपश्चिमको मुसिकोट १५ का तेजबहादुर विष्ट, गोरखाको गण्डकी गाउँपालिका ४ का नवराज तिवारी, बझाङ, जयपृथ्वी नगरपालिका १ को नविन सिंह, चितवनको भरतपुर नगरपालिका २१ की अनिता थापामगर, मकवानपुरको मनहरी ९ का सन्तु वि.क रहेका छन्।

त्यसैगरी काठमाडौं महानगरपालिका १६ काठमाडौं- १६ का आनन्द रायमाझी, चितवनको खैरहनी नगरपालिका ३ का सिद्धार्थ गुरुङ, तनहुँको भानु नगरपालिका ३ का जनक कुँवर, चितवनको भरतपुर महानगरपालिका ९ का मोहन दास आचार्य, काठमाडौंको चन्द्रागिरि नगरपालिका १ का नरेन्द्र खत्री, गोरखाको भिमसेन गाउँपालिका ४ का मदन परियार दमै र विनायक भट्टराई, गोरखाको धार्चे गाउँपालिका ७ का सुके दमै, बडिगाड गाउँपालिका २ का इन्द्रजित राना र भिम कुमार राना रहेका छन्।

त्यसैगरी जुम्लाको सिंजा गाउँपालिका ६ का हरिबहादुर बुढा, धादिङको ज्वालामुखी गाउँपालिका २ की लिलामाया तामाङ, सर्लाहीको चक्रघट्ट गाउँपालिका ६ का बसन्त शाह, सप्तरीको सप्तकोशी नगरपालिका ७ को नन्दप्रसाद किशोर चौधरी र तनहुँको ब्यास नगरपालिका ५ का लेखनाथ ओझा रहेका छन्।