Tuesday, June 16, 2026
Home Blog Page 684

चतरास्थित सप्तकोशी नदीमा जेटबोट सञ्चालनमा

0

सुनसरी। सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सोमबारदेखि जेटबोट सञ्चालनमा ल्याइएको छ। सप्तकोशी भएर आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

वर्षा रोकिएसँगै सप्तकोशीमा जलसतह र बहाव घट्दै गएपछि पुनः जेटबोट सञ्चालन सुरु गरिएको प्रजिअ तिवारीले बताए। बर्खा समय सुरु भएसँगै सप्तकोशीमा जेटबोट सञ्चालनका लागि सुनसरी प्रशासनले रोक लगाएको थियो।

दसैँका बेलामा जेटबोटको माध्यमले चतराबाट १० मिनटमा भोजपुरसम्मको यात्रा गर्न सकिने जनाइएको छ। चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सिमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ।

जेटबोट सञ्चालनमा आएपछि यात्रुलाई भोजपुरको हतुवागढीसम्म यात्रा गर्न थप सहज हुन्छ। यस्ता यात्रुको सङ्ख्या पनि पछिल्ला दिनमा बढिरहेको छ।

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

0

काठमाडौं। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ।

साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली रहि कोशी प्रदेश र बागमती प्रदेशको एक-दूई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना देखिएको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

0

काठमाडौँ: महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिटानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरिएको हो।

“उच्च अदालतको फैसला चित्त बुझ्यो भने सरकार पुनरावेदनमा जाँदैन, त्यही फैसला यथावत रहन्छ”, उहाँले भन्नुभयो, “उच्च अदालतको फैसला चित्त बुझेको हुनाले क्रिकेटर लामिछानेको मुद्दामा पुनरावेदन नगर्ने निर्णय भएको छ ।”

महान्यायाधिवक्ता कार्यालयले यही असोज १० गते क्रिकेटर लामिछानेविरुद्धका उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय गरेको जनाएको छ । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा गत जेठ २ गते आधार र प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला गरेको थियो । उक्त मुद्दाको गत साउन ४ गते पूर्णपाठ सार्वजनिक भएको थियो ।

फैसलाको पूर्णपाठमा भनिएको छ, “आधार र कारणसमेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला–२६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौँ इन होटलका सेक्युरिटी गार्ड राजन राणाले गरेको बकक्रमका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरू समेतबाट पुनरावेदक प्रतिवादीले अभियोग मागदाबीबमोजिमको कसुर गरेको पुष्टि हुन आएन ।”

फैसलामा पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै सहयोगको याचना गरेको नदेखिएको उल्लेख छ । त्यस्तै उमेर पुगेका व्यक्तिहरूबीच जबर्जस्ती करणीको १ नं विपरीत नभइ सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको इजलासको ठहर छ ।

फैसलाको पूर्णपाठको भनिएको छ, “प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादीउपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन ।” पीडित प्रतिवादीले आफूलाई जबर्जस्ती करणी भने पनि निज वारदातको समय १८ वर्ष पूरा भएको देखिएको फैसलामा उल्लेख गरिएको छ ।

अदालतले मिसिल संलग्न सिसीटिभी फुटेजको स्क्रिप्टसमेतका प्रमाणबाट अभियोग दाबी शङ्कारहित तवरले पुष्टि नभएको, पीडित र प्रतिवादीबीच होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको, रातको समयमा काठमाडौँ होटल इनमा बसी भोलिपल्ट प्रतिवादीले पीडितलाई निजको होस्टलमा पुर्याउँदाका अवस्थासम्मका उल्लिखित घटनाक्रमलाई विश्लेषण गरी हेर्दा जबर्जस्ती करणीको कसुर भएको मान्न मिल्ने अवस्था नदेखिएको ठहर छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने र गौशाला–२६ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर गरेको थियो । सो फैसलाविरुद्ध लामिछाने उच्च अदालत पाटनमा गएका थिए। सो अदालतमा उक्त मुद्दाको सुनुवाइपछि लामिछानेलाई सफाइ हुने ठहर गरेको हो ।

गौशाला–२६ माथिको बलात्कारको अभियोगमा लामिछानेविरुद्ध २०७९ भदौ २१ गते उजुरी परेपछि गत असोज २० गते अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो । उक्त मुद्दामा सरकारी पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि उच्च अदालत पाटनको फैसलामा यथावत रहनेछ ।

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

0

काठमाडौं। जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ। यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो।

खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढंगले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जिपलाई बीच बाटोमै रोकेर रु २० हजारसम्म जरिवाना गराइएको छ। पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले ती सवारीसाधनलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर सवारी सञ्चालनका विषयमा पटकपटक जानकारी गराउँदा पनि कुनै सुधार नदेखिएपछि गलत ढंगबाट चलिरहेका रातो नम्बर प्लेटका बोलेरो जिपहरु कारबाहीमा परेका हुन्।

केही दिनयता प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसमेत फिल्डमा खटिएर बजार तथा यातायात अनुगमनलाई तीव्र पारेको छ। अनुगमन टोलीले उपभोक्ताको हितविपरीत देखिएका सबै गतिविधिको निरीक्षण गरी कारबाही गर्दै आएको छ।

अनुगमनका क्रममा रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोकेको फेला पारेपछि र यात्रुवाहक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु चढाएको भेटिएपछि यात्रु ओरालेर गाडी नियन्त्रणमा लिने गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

सदरमुकाम धादिङबेंसीबाट ज्वालामुखी गाउँपालिकाको मैदीतर्फ जाँदै गरेको दुई जिपलाई रु २०-२० हजार जरिवाना गरिएको छ। क्षमताभन्दा धेरै यात्रु चढाएर असुरक्षित यात्रा गराएको भन्दै प्रदेश ३-०१-०२४ च ६८३९ र ग २ च ९०५३ नम्बरको बोलेरो जिपलाई नियन्त्रणमा लिइ जरिवाना तिराएर छोडिएको अनुगमन टोलीका सदस्य एवं उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चूडामणि पुरीले जानकारी दिए।

चालकसहित पाँच जना चढ्न मिल्ने सिट भएको जिपमा २० जनाभन्दा बढी यात्रु चढाएको भेटिएपछि ती जिपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उनले जानकारी दिए।

जलविद्युतमार्फत गरिब र विपन्नलाई समृद्ध बनाउने सरकारको लक्ष्य छ: मन्त्री खड्का

0

काठमाडौँ: उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनामार्फत गरिब र विपन्न वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।

मन्त्री खड्काले सोमबार आयोजित ‘शुभकामना तथा चियापान’ कार्यक्रममा निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत् आयोजनामा शेयर दिनेगरी मन्त्रालयले छलफल अघि बढाएको बताउनुभयो । उहाँले कुनैपनि जलविद्युत् आयोजना बनाउँदै गर्दा प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहेको तर पैसा नहुने वर्ग शेयर लगानी गर्नबाट वञ्चित हुने भएकाले उनीहरुले पनि १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्थाका लागि सरकारले काम गरिरहेको बताउनुभयोे ।

“कुनै आयोजनाहरु विकास हुँदै गर्दा स्थानीयले १० प्रतिशत शेयर लगानी गर्न पाउने व्यवस्था रहेपनि हुनेले लगानी गर्ने र नहुनेले लगानी गर्न नसक्ने अवस्था रहकाले पैसा नहुनेले शेयर कसरी प्राप्त गर्छन भन्नेबारे मन्त्रालयले छलफल गरिरहेको छ । तल्लो वर्ग समृद्ध नभइ मुलुक समृद्ध हुन सक्दैन”, मन्त्री खड्काले भन्नुभयो ।

‘नेपालको पानी, जनताको लगानी’ भन्ने अघिल्ला सरकारले गरेका निर्णयलाई फाउण्डेसनको रुपमा लिएको उहाँले बताउनुभयो । मुलुकको विकासका लागि सकारात्मक कुरालाई समावेश गरेर जाने मन्त्री खड्काले उल्लेख गर्नुभयो । उहाँले सरकारले अबको १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभयो । “योमध्ये १३ हजार पाँच सय मेगावाट विद्युत् नेपालमा नै खपत गर्ने र १५ हजार मेगावाट विद्युत् विदेशमा निर्यात गर्ने योजनाका साथ सरकारले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

वाग्मतीकै मुहान क्षेत्रका धारामा आउँदैन पानी

0

काठमाडौँ: राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् ।

सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं १ बाट २७.५ किमी सुरुङको दूरी पारगरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नं १ महाँकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने वर्षात्कै यो मौसममा काकाकुल बन्न थालेका छन् । हिउँदमा यहीँबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ । वर्षाद्का समयमा यहाँको वाग्मतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा वितरण गरिन्छ ।

यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परैजाओस् पहिलेदेखि राजधानीमा वितरण गरिने वाग्मती नदीको पानी पनि पाउन सकेका छैनन् । खानेपानीको समस्या भएपछि यहाँका स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ डाँछीका स्थानीय राममाया नगरकोटी खानेपानी लिन गोकर्णेश्वर नगरपालिका वडा नं १ को रुप्सेटार भन्ने स्थानको धारामा जानुपर्ने बाध्यता रहेको दुःखेसो पोख्नुहुन्छ । खानेपानी लिनका लागि करिब आधा घण्टाको पैदल यात्रा गरेर जाने र आधा घण्टा पैदल यात्रा गरी आउने एवं कहिले त पानीका लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्ने गरेको उहाँ बताउनुहुन्छ ।

धारामा धेरै मानिस खानेपानीका लागि लामममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको नगरकोटीको अनुभव छ । यस्तो समस्या भोग्ने नगरकोटी मात्र होइन यहाँका हजारौँको समस्या हो । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरागरी अर्को कार्यकालको आधा समय बितिसक्दा पनि समस्या भने समाधान हुन सकेको छैन ।

स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट बञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ ।

विगतदेखि नै गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले नै खानेपानी नपाए मेलम्चीको पानी वाग्मतीमा बगाउने धम्की दिने गरेपनि खानेपानीको समस्या समाधान हुन सकेको छैन । गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले विछ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरवासीले दुःख पाएको स्वीकार्नुहुन्छ ।

विसं २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे २०७४ सालको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । नगर प्रमुख हुँदा उहाँले मुहानवासीले खानेपानी नपाए मेलम्ची र वाग्मतीको पानी सहरमा वितरणका लागि नपठाइ वाग्मतीमा बगाउने चेतावनी दिनुभएको थियो । तर अहिले सुन्दरीजल क्षेत्रकै स्थानीयवासीले खानेपानी नपाउँदा पनि यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद चालिसेले बेवास्ता गरेको स्थानीय घनेन्द्र लामाको गुनासो छ ।

यही क्षेत्रबाट समानुपातिक सांसद निर्वाचित हुनुभएकी शान्ति श्रेष्ठले छ महिनाअघि खानेपानी मन्त्रीलाई दिनुभएको ज्ञापनपत्रमा गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २, ३ र ४ नं वडामा भएको खानेपानी समस्यालाई बेवास्ता गरी वडा नं ५ भन्दा माथिका वडालाई मात्र समेटेकामा स्थानीयवासीको गुनासो छ । जनप्रतिनिधिलाई आफ्नै निर्वाचन क्षेत्रका बारेमा राम्रो ज्ञान नहुँदा पनि स्थानीयवासीले समस्या भोग्नुपरेको गुनासो स्थानीयवासीले गर्न थालेका छन् ।

मेलम्ची खानेपाली राजधानी ल्याउन अवरोध गरेका हेलम्बुवासीसँग सोमबार सम्झौता भएपछि आजदेखि नै पानी राजधानी पथान्तरण हुने खानेपानी मन्त्रालयले जनाएको छ । मेलम्चीको पानी राजधानी आएपछि खानेपानी नपाए आन्दोलनमा उत्रनुको विकल्प नहुने स्थानीय बासिन्दाले बताएका छन् ।

जनजाति महासङ्घद्वारा रोशी गाउँपालिकाका बाढीपीडितलाई पाँच लाख सहयोग

0

काठमाडौँ: नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपीडितलाई रु पाँच लाख ५५ हजार पाँच सय आर्थिक सहयोग गरेको छ ।

महासङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगर नेतृत्वको टोलीले आज काभ्रेपलाञ्चोकको रोशी पुगेर बाढीपहिरोबाट भएको क्षतिको अवलोकन गरी त्यसको पुनःनिर्माण र पीडित नागरिकको राहतका लागि गाउँपालिकाका अध्यक्ष दिनेश लामालाई उक्त रकम हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईँ, मधु आचार्य र गणेश लामा, कांग्रेस काभ्रेपलाञ्चोकका सभापति एवं प्रदेशसभा सदस्य तीर्थ लामालगायतको सहभागीता रहेको थियो ।

महासङ्घको अगुवाइमा यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बाढीपहिरो गएपछि घरबारबिहिन बनेका रोशीका स्थानीयवासीको स्वास्थ्य जाँचसमेत गर्दैआएको महासङ्घकी केन्द्रीय सदस्य पशुपति गुरुङले जानकारी दिनुभयो ।

आउँदो तीन महिना हावापानी आँकलन: पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

0

काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आँकलन सार्वजनिक गरेको छ ।

विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको
छ ।

अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको आकलन सार्वजनिक गरिएको विभागकी सूचना अधिकारी एवं मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

वर्षाको आँकलन

कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

कोशी प्रदेशको उत्तरी भाग, मधेश प्रदेशको पश्चिमी भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छभने कोशी प्रदेशको दक्षिणी भू–भाग, मधेस प्रदेशको पश्चिमी भाग, बागमती प्रदेशको उत्तर–पश्चिम भाग र गण्डकी प्रदेशको दक्षिण–पूर्वी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत नै रहेको विवरणमा उल्लेख छ ।

अधिकतम तथा न्यूनतम तापक्रम

यस्तै देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ । बागमती प्रदेशको मध्य तथा दक्षिणी भाग, मधेस प्रदेशको पश्चिमी भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भागमा अधिकतम तापक्रमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

कोशी प्रदेशका मध्य भाग, मधेस प्रदेशका पूर्वी भाग र बागमती प्रदेशका उत्तरी भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छभने बाँकी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली प्रदेशका पश्चिमी भाग र लुम्बिनी प्रदेशका पश्चिमी भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भाग, बागमती प्रदेशको अधिकांश भाग, मधेस प्रदेशका पूर्वी भाग र कोशी प्रदेशमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जानकारी गराएको छ ।

ओली सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण किन गोप्य राखियो ?

0

काठमाडौँ: मन्त्रिपरिषद् गठन भएको ३ महिना पुग्न लागिसक्दासमेत केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन। ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २० मन्त्री र तीन राज्यमन्त्री छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क (१) मा सार्वजनिक पद धारणा गरेको व्यक्तिले पद धारणा गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्ना परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अध्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्नेछ ।

सोही दफाको उपदफा २ मा उपदफा १ बमोजिम साठी दिनभित्र सम्पत्ति विवरण पेस नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई आयोगले पाँच हजार रुपैयाँ जरिवाना गर्ने र अर्को तीस दिनभित्र सम्पत्ति विवरण पेस गर्न लगाइनेछ ।

सो म्यादभित्र पनि सम्पत्ति विवरण नबुझाउने व्यक्ति उपर निजले आफ्नो वा आफ्नो परिवारको नाममा अवैध सम्पत्ति राखेको अनुमान गरी अधिकारीले छानबिन गर्न सक्ने व्यवस्था ऐनमा छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले प्रधानमन्त्री ओलीसहित सम्पूर्ण मन्त्रीको सम्पत्ति विवरण पेस भइसकेको जानकारी दिए । सम्पत्ति विवरण सार्वजनिक गर्ने वा नगर्ने विषय सम्बन्धित व्यक्तिको स्वविवेकको विषय भएको उनको भनाइ छ । तर हालसम्म अहिलेसम्म विवरण गोप्य नै राखिएको छ ।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरूको सम्पत्ति विवरण पेस भइसकेको छ । कार्यालयमा पनि अध्यावधिक भइसकेको छ । सम्पत्ति विवरण सार्वजनिक गर्ने कि नगर्ने विषय सम्बन्धित व्यक्तिको वैयक्तिक अधिकार हो,’ उनले भने, ‘सार्वजनिक गर्नैपर्छ भन्ने कानुनमा बाध्यकारी नियम छैन ।’

राष्ट्रिय सतकर्ता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले सम्पत्ति विवरण सार्वजनिक गर्नु कानुनबमोजिम बाध्यकारी नभए पनि नैतिकताको प्रश्न भएको स्पष्ट पारे । जनताबाट अनुमोदित व्यक्तिहरूले पारदर्शीता अपनाउने हो भने राजकीय पदमा प्रवेश गर्दाको सुरुका दिन र हालसम्मका सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

‘सार्वजनिक पद धारण गरेका व्यक्तिले कानुन बमोजिम तोकिएको अधिकारी समक्ष पेस गर्ने भनिएको छ । सम्पत्ति सार्वजनिक गर्न कुनै बाध्यकारी व्यवस्था छैन’, शर्माले भने, ‘सुशासनका कुरा गर्ने व्यक्तिहरूले जनताबाट अनुमोदन भइसकेपछि मेरो सुरुका दिनमा यति सम्पत्ति थियो, अहिले यति छ भनेर सार्वजनिक गर्दा पारदर्शी हुन्छ । यो कानुनी भन्दा पनि नैतिक प्रश्न जोडिएको विषय हो ।’

यसैगरी ओली सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आफूहरूले सम्पत्ति विवरण पेस गरिसकेको दाबी गरे । सम्पत्ति विवरण सार्वजनिक गर्ने वा नगर्ने विषय सम्बन्धित निकायको भएको उनको भनाइ छ ।

‘हामीले सम्पत्ति विवरण सम्बन्धित निकायमा पेस गरिसकेका छौँ । सम्बन्धित निकायले सार्वजनिक गर्छ भने पनि गरोस्, मलाई केही आपत्ति छैन’, मन्त्री यादवले भने ।

खासगरी ०४६ को राजनीतिक आन्दोलन सफल भएपछि बनेका प्रजातान्त्रिक सरकारले सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास थालनी गरेका थिए । तर यसबिचमा कतिपय सरकारले मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरे भने कतिपयले गरेनन् ।

ओली २०७४ को निर्वाचनपछि प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यसपछि प्रधानमन्त्री भएका शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेनन् । ०७९ मंसिरको निर्वाचनपछि प्रधानमन्त्री भएका प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण ढिलो गरी सार्वजनिक भएको थियो ।

कराँची एयरपोर्ट नजिकै भएको विस्फोटमा आफ्ना नागरिक मारिएपछि चीनले के भन्यो ?

0

काठमाडौं । पाकिस्तानको कराँचीस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको विस्फोटमा दुई चिनियाँ नागरिकको मृत्यु भएको छ ।

पाकिस्तानस्थित चिनियाँ दूतावासले यस घटनाबारे आफ्नो विज्ञप्ति जारी गरेको छ। चिनियाँ दूतावासको विज्ञप्ति अनुसार अक्टोबर ६ तारिख राति करिब ११ बजे पोर्ट कासिम इलेक्ट्रिक पावर कम्पनी (प्रालि) का चिनियाँ कर्मचारीको समूहमा आक्रमण भएको थियो ।

कराँचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आक्रमणमा दुई चिनियाँ नागरिकको मृत्यु भएको थियो भने एक चिनियाँ नागरिक घाइते भएका थिए । यसका साथै केही स्थानीयको पनि ज्यान गएको छ ।

पाकिस्तानमा चिनियाँ दूतावास र वाणिज्य दूतावासले भने, “हामी यस आतंकवादी हमलाको कडा निन्दा गर्दछौं।”

यसका साथै दूतावासले यो पनि लेखेको छ, “हामी यस हमलामा मारिएका निर्दोष पीडितहरू र उनीहरूका परिवारहरूप्रति समवेदना व्यक्त गर्दछौं।”

हामी पाकिस्तानसँग मिलेर यो अवस्थालाई सम्हाल्ने प्रयास गरिरहेका छौं। चिनियाँ दूतावास र वाणिज्य दूतावासले पनि आक्रमणपछि तत्कालै आपतकालीन योजना सुरु गरेको छ ।

यस योजना अन्तर्गत, पाकिस्तानले आक्रमणको गहिरो अनुसन्धान गर्न, अपराधीहरूलाई कडा भन्दा कडा सजाय दिन र पाकिस्तानमा रहेका चिनियाँ नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सबै प्रयासहरू गर्नेछ।

यस घटनाको जिम्मेवारी पाकिस्तानको पृथकतावादी समूह ‘बलोच लिबरेशन आर्मी’ले लिएको छ ।

समूहले चिनियाँ इन्जिनियर र लगानीकर्ताहरूको समूहलाई निशाना बनाएको बताएको छ।

यो घटनापछि सांघाई सहयोग संगठनका नेताहरुको शिखर सम्मेलन आयोजना गर्ने तयारीका कारण पाकिस्तानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।