Tuesday, June 16, 2026
Home Blog Page 683

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकमा एकतर्फी आवागमन

0

काठमाडौं: गत असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध भएका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन्।

हालसम्म चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँच वटा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार अन्य आठ वटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा यही ११ गतेदेखि बन्द रहेको काभ्रेपलाञ्चोकको रोशीस्थित बिपी राजमार्गको चारसयवेसी खण्ड पूर्णरुपमा अवरुद्ध छ।

सोही राजमार्गको भ्याकुरे, रामेछापको मन्थली नगरपालिका-६ को सेलेघाट, भोटेकोशीको रामेछाप-सिन्धुली–खुरकोट, भोटेकोशीको बाह्रविसे-तातोपानी सडक तथा बझाङको जयपृथ्वी राजमार्गको बालुवाटार खण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोदावरीको लेले-टिकाभैरब, तह्रथुमको मध्यपहाडी लोकमार्गको तीनघरे, पाँथर फिदिमस्थित मेची राजमार्गको रमिते, भिमफेदीस्थित कान्ति लोकथप एकतर्फी रुपमा खुलाइएको छ।

रोशीस्थित बिपी राजमार्गको कालढुङ्गा खण्ड, घुमाउने, हनुमानगढी केराघारी खण्ड र पृथ्वी राजमार्गको बेनीघाट कृष्णभीर खण्ड पनि एकतर्फी खुलाएर यातायात सञ्चालन गराइएको प्रहरीले जानकारी दिएको छ।

उक्त विपद्मा परेर अहिलेसम्म दुई सय ४६ जनाको मृत्यु भइसकेको छ। अझै १८ जना जना बेपत्ता छन्।

मनसुन क्रमशः निष्क्रिय हुँदै

0

काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही र मधेस प्रदेशलगायत बाँकी प्रदेशका केही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ

0

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

विश्व हुलाक दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले हुलाक सेवामार्फत हुने विश्वव्यापी सञ्चारलाई थप प्रभावकारी र समयसापेक्ष बनाउँदै सेवामा विविधीकरण एवं आधुनिकीकरण गर्नु अबको आवश्यकता भएको समेत बताउनुभयो ।

“सूचना प्रविधिको प्रयोगसहित नेपाल हुलाकलाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी यसलाई सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध छ”, मन्त्री गुुरुङले सन्देशमा भन्नुभएको छ ।
उहाँले आन्तरिक हुलाक सेवामा समेत विविधिकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्री गुरुङले निजी क्षेत्रद्वारा सञ्चालित कुरियर सेवा, ट्रान्सपोर्ट सेवालगायतका मिल्दो सेवासँग प्रतिस्पर्धा गर्दै नेपाल हुलाकले छिटो छरितो ढङ्गबाट चुस्त दुरुस्त र समयानुकूल सेवा प्रवाहगर्दै आफ्नो साख र गौरव कायम राख्न समेत सुझाव दिनुभएको हो ।

उहाँले चालु आर्थिक वर्षबाट नेपाल हुलाकको संरचनागत रूपान्तरण गरी एक स्थानीय तह एक हुलाक कार्यालयको अवधारणा बमोजिम नै हुलाक कार्यालयको पुनसंरचनाको कार्य सम्पन्न भएको उल्लेख गर्नुभएको छ ।

मन्त्री गुरुङद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “विश्वव्यापी रूपमा हुलाक सेवाका सेवाग्राहीलाई गुणस्तरीय हुलाक सेवा प्रदान गर्ने विषयमा विश्व हुलाक सङ्घसँग सहकार्य गर्न नेपाल हुलाक सदैव प्रतिबद्ध छ ।”

विश्वकै दोस्रो पुरानो अन्तर्राष्ट्रिय संस्थाको रूपमा सन् १८७४ अक्टोवर ९ मा स्थापित विश्व हुलाक सङ्घको स्थापना भएको थियो । हरेक वर्ष अक्टोबार ९ तारिखमा विश्व हुलाक सङ्घका सबै सदस्य राष्ट्रमा भव्यताका साथ विश्व हुलाक दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घकोे विशिष्टीकृत संस्थाका रूपमा रहेको विश्व हुलाक सङ्घ स्थापनाका एक सय ५० वर्ष पुगेको अवसरमा यस वर्ष ‘सञ्चारलाई सक्षम पार्ने र राष्ट्रभरका मानिसलाई सशक्त बनाउने एक सय ५० वर्ष’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

विसं १९३५ मा स्थापना भई नेपाल हुलाक घरबाट हुलाक सेवा सुरू भएको थियो । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरी हुलाक सेवाको विश्व मञ्चमा यसका साझा उद्देश्य प्राप्तिको यात्रामा निरन्तर लागिरहेको छ ।

दिवसका अवसरमा आज नेपाल फिलाटेलिक सोसाइटीसँगको सहकार्यमा हुलाक सेवा विभाग परिसर, बबरमहलमा टिक प्रदर्शनी सञ्चालन गरिएको छ । यस्तै विभागमा तीन दिन दीपावली गर्ने कार्यक्रम छ । दिवसको पूर्वसन्ध्यामा विभागले मङ्गलबार नै कार्यालय परिसर सरसफाइको कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

घर-घरमा मेलम्चीको पानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन

0

काठमाडौँ: खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी उपभोक्ताका घरमा पुगे नपुगेको जाँच गर्न निर्देशन दिनुभएको छ । मेलम्चीबाट सुन्दरीजलमा ल्याइएको पानी वितरण सुरु गर्दै मन्त्री यादवले मेलम्चीको पानी वितरणको अनुगमन एवं जाँच गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हामीले ठूलो चुनौती पार गरेर काठमाडौँबासीका लागि पानी ल्याएका छौँ, पानी वितरणमा प्राविधिक समस्या भए मलगायत मन्त्रालयका कर्मचारीलाई जानकारी दिनुहोला ।”

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल)को जिम्मेवारी जनतालाई पानी वितरण गर्ने भएकाले मेलम्चीबाट आएको पानी जुनसुकै हालतमा उपभोक्ताको घरमा पुग्नुपर्नेमा मन्त्री यादवले जोड दिनुभयो ।

अर्को वर्षात नआएसम्मका लागि काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी खान पाउनेमा विश्वास व्यक्त गर्दै उहाँले प्रत्येक दुई दिनमा पानी वितरण गरिने भए पनि हाललाई प्रत्येक एक दिनमा पानी वितरण गरिने बताउनुभयो ।

मन्त्री यादवले मेलम्चीका सङ्घर्ष समितिका जायज माग दसैँ लगत्तै सम्बोधन गरिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घर्ष समितिले हाललाई आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् । उहाँहरुका माग दसैँपछि सम्बोधन गरिनेछ ।”

खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि आजदेखि मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएसँगै अहिले बितरण सुरु गरिएको हो ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इञ्जिनियर रत्न लामिछानेले बताउनुभयो ।

सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव

0

किमाथाङ्का (सङ्खुवासभा): जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ ।वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनुदानको चामल प्रशासनिक प्रक्रिया समयमा पूरा नहुँदा आपूर्ति गर्न नसकेको जनाएको छ । हटियागोला खाद्य डिपोमा गत वर्षदेखि चामल अभाव हुँदा समस्या भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनी विराटनगर र केन्द्रीय कार्यालय काठमाडौँलाई पत्राचार गरिएको भए पनि चाडबाडको समयमा समेत हटियागोला खाद्य डिपोमा चामल नआएको गाउँपालिका अध्यक्ष भोटेको गुनासो गर्नुभयो ।

डिपोमा चामल अभाव भएको र किमाथाङ्कानाका सीमापारिको चीनको चाँगामा पहिराका कारण नाका बन्द हुँदा भोटखोलावासीलाई थप समस्या भएको अध्यक्ष भोटेले बताउनुभयो ।

भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजार चाँगा र देन्दाङमा निर्भर रहँदै आएका छन् । चीनको चाँगामा पहिरो खसेका कारण असोज १२ गतेदेखि आवागमनमा रोक लगाइएको हो । सदरमुकाम खाँदबारीमा एक हजार पाँच सय क्विन्टल र उत्तरी क्षेत्र भोटखोलामा पाँच सय क्विन्टलको कोटा तोकिएको छ ।

एमाले केन्द्रीय सदस्य शेर्पा बहुविवाह मुद्दामा दोषी ठहर

0

काठमाडौँ: उच्च अदालत पाटनले नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको छ । उच्च अदालतका न्यायाधीशद्धय डालकुमार खड्का र डिल्लिरत्न श्रेष्ठको इजलासले असोज ६ गते शेर्पालाई बहुविवाहमा दोषी ठहर गर्दै एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ। उच्चले जिल्ला अदालतको फैसला सदर गरेको हो । जिल्ला अदालत काठमाडौँले २०७९ चैत २३ गते उनलाई दोषी ठहर गरेको थियो ।

पहिलो श्रीमती करिष्मा खरेल शेर्पाले कुटपिट, अंशसहित बहुविवाहमा मुद्दा दायर गरेकी थिइन् । उनको निवेदनमा उच्चले सुरुमा सदर गर्ने फैसला सुनाएको हो ।

खरेलले शेर्पा पासाङसहित कान्छी श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौँमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा जिल्ला अदालतले बहुविवाह भएको ठहर गरेको थियो । जिल्लाले पासाङ शेर्पा र करिश्मा खरेलसँग २०६१ असारमा र पुजासँग २०६३ मा विवाह गरेको ठहर गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले शेर्पाले पहिलो श्रीमतीसँग सम्बन्ध कायमै भएको अवस्थामा दोस्रो विवाद गरेको ठहर गर्दै एक वर्ष कैद पनि सुनाएको थियो । मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बरको कसुर गरेको ठहर जिल्लाले गरेको
हो ।

उक्त ऐनमा यस्तो कसुर गर्नेलाई १ वर्ष कैद र रु. ५ हजार जरिवाना हुने उल्लेख छ । शेर्पासँग विवाह गरेकी पूजा परियारको हकमा भने जिल्ला अदालतले सफाइ दिएको थियो । उच्च अदालत पाटनले पनि त्यसलाई सदर गरेको छ । उनले आफूले श्रीमती भएको थाहा पाएर विवाह नगरेको बयान दिएपछि सफाइ दिएको हो ।

क्रूर युद्धले गाजा हजारौं प्यालेस्टिनीको चिहानमा परिणत

0

न्युयोर्क। निकट पूर्वमा प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का आयुक्त–जनरल फिलिप लाजारिनीले १२ महिनाको क्रूर युद्धले गाजालाई भग्नावशेष र दशौँ हजार मानिसका लागि चिहानमा परिणत गरेको बताएका छन्।

उनका अनुसार युद्धको सिकार भई मृत्य वरण गर्नेहरूमा अधिकांश महिला तथा बालबालिका रहेका छन्।

उनका अनुसार गत वर्षको अक्टोबर ७ मा सुरु भएको गाजा युद्धको एक वर्ष बितिसकेको छ भने गाजामा २० लाख मानिस युद्धका कारण पीडाको सिकार बन्न बाध्य भई जबरजस्ती विस्थापन, रोग, भोकमरीको सामना गर्दै घेराबन्दी गरिएको इलाकामा फसेका छन्।

युद्धको प्रभावले गाजाका आवश्यक पूर्वाधारको चरम विनाश भएको उल्लेख गर्दै उनले बालबालिकाहरू सबैभन्दा बढी पीडित भएको बताए। उनका अनुसार गाजाका धेरै बालबालिकालाई हत्या र चोटपटकबाहेकका मनोवैज्ञानिक तथा अदृश्य घाउहरूले आघात पुर्याएको छ।

कक्षाकोठामा बसेर पढ्नुको सट्टा, निराशा र डरले भग्नावशेषबाट निस्केर ज्यान बचाउने प्रयास गर्न बाध्य छ लाख ५० हजारभन्दा बढी बालबालिकाले सिकाइ तथा शिक्षाको अधिकारसमेत गुमाउँदै गएको उनले बताए।

अमेरिकाको पेन्सिलभेनियामा श्रीप्रसाद पोख्रेलको लघुकथा संग्रह “श्रीधर” को लोकार्पण

0

पेन्सिलभेनिया (अमेरिका): अमेरिकामा रहेका नेपाली लेखक, साहित्यकार र साहित्यप्रेमीहरूको लागि विशेष कार्यक्रम “पुस्तक लोकार्पण समारोह” शनिबार पेन्सिलभेनियाको ह्यारिस्वर्ग शहरमा सम्पन्न भयो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित सो समारोहमा नेपाली साहित्यको संरक्षण, प्रवर्द्धन, र समृद्धिमा समर्पित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका सभाध्यक्ष दिपक जङ्ग बिश्वकर्मा तथा प्रमुख अतिथि कवियत्री तथा लेखक सीता पाण्डे थिए। अन्य प्रमूख अतिथिहरूमा डीसी नेपालका प्रधानसम्पादक चुडामणि भट्टराई, पेन्सिलभेनिया नेपाली समाजकी प्रमूख अर्चना शर्मा, भुटानी समाज ह्यासिस्वर्गका पूर्व अध्यक्ष विनय लुईंटेल, हिन्दु धर्म तथा सांस्कृतिक संगठनका अध्यक्ष प्रेम खनाल, त्रिवेणी साहित्य मंचका अध्यक्ष केशव बैरागी माइलो, विश्व भूटानी साहित्य संगठनका उपाध्यक्ष आभाष रिखाम मगर र महासचिव पातलो अन्तरे, क्रियामण फाउण्डेशनका सिइओ भरत तिम्सिना, एनआरएनए पेन्सिलभेनियाका उपाध्यक्ष अभिषेक थापालगायत अन्य साहित्यकारहरू थिए।

उक्त कार्यक्रम त्रिवेणी साहित्य मंचका संस्थापक अध्यक्ष, नेपाली शिक्षा कार्यक्रम ह्यारिस्वर्गका निर्देशक नबिन शर्मा भट्टराइले गरेका थिए भने कार्यक्रम संयोजन भरत के श्रेष्ठले गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षणहरूमा पुस्तक लोकार्पण, लघुकथा वाचन, शुभकामना मन्तव्य, कविता तथा गजल वाचन र सांस्कृतिक प्रस्तुति प्रदर्शन भएको थियो। कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले र संस्कृत विश्वविद्यालय दागंका उपकुलपति प्राडा भीम खतिवडाको रेकर्डिङ शुभकामना सन्देश पनि प्रस्तुत गरियो।

लेखक अतिथि श्रीप्रसाद पोख्रेलको विचार, भक्त घिमिरे र विष्णु लुईटेलको पुस्तक समीक्षा तथा विशेष अतिथिहरूबाट शुभकामना मन्तव्य हुँदै कार्यक्रमको औपचारिक समापन अघि अनेसास पेन्सिलभेनिया च्याप्टरको गठनका लागि १३ जनाको समन्वय समितिका सदस्यहरूको नाम कवि तथा लेखक गण्डकीपुत्रले घोषणा गरे।

अनेसास पेन्सिलभेनिया समन्वय समिति सदस्यहरूको नाम नबिन शर्मा भट्टराई, दिपकजंग विश्वकर्मा, विष्णु लुईटेल, अभिषेक थापा, भरत के श्रेष्ठ, गुन्जन उपाध्याय, विष्णु निरौला, सरिता सुनुवार, फुर्वा लामा, त्रिविक्रम न्यौपाने, खेम संगरौला, रेनु न्यौपाने, र रानी खरेई रहेको छ।

उक्त समितिले पेन्सिलभेनिया राज्यभरि छरिएर रहेका नेपाली भाषा तथा साहित्यप्रति रूचि राख्ने सदस्यहरूलाई एकजुट गरि आगामी मे महिनासम्ममा चुनावद्वारा कार्यकारी समिति गठन गर्ने उद्देश्य लिएको विषयमा समन्वय कर्ता कवि गण्डकीपुत्र र नबिन शर्मा भट्टराईले स्पष्ट पारे।

साहित्य र सांस्कृतिक गतिविधिहरूको उत्कृष्ट संयोजन भएको यो समारोहको औपचारिक समापनको घोषणा सभापति दिपकजंग विश्वकर्माले ४:५५ बजे गर्नु भयो र जलपान र सामूहिक तस्वीर सँगै समारोहको विसर्जन गरे।

बाढीपहिरोका कारण अझै पाँच सडकखण्ड पूर्णरुपमा अवरुद्ध

0

काठमाडौं: बाढी पहिरोले अवरुद्ध भएका ५ सडक अहिलेसम्म पनि पूर्ण रुपमा अवरुद्ध रहेका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार मंगलबार साँझ ५ बजेसम्मको अपडेट अनुसार अहिलेसम्म पहिरोका कारण देशभरमा ५ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध छन् भने ८ सडक खण्ड एकतर्फी संचालन भइरहेका छन्।

अवरुद्ध भएका सडकमा काभ्रे जिल्लामा विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको चारसयबेसीमा सडक अवरुद्ध छ भने विपी राजमार्गकै रोशीको भ्याकुरेमा पनि सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ।

त्यस्तै रामेछापको अरनिको राजमार्ग अन्तर्गतको रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा सडक पूर्ण अवरुद्ध रहेको छ। त्यस्तै सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडक खण्ड पनि भोटेकोशी–३ मा अवरुद्ध रहेको छ।

त्यस्तै बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथीभेरा–१ को बालुवाटारमा सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ।

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री ओली

0

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ। लगानी बोर्डको ५९औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यावहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारी रूपमा काम गर्न आग्रह गर्नुभएको हो।

‘हामीले सामान्य सुधार (रिफर्म) होइन, रुपान्तरण (प्याराड्याम सिफ्ट) नै गर्नुपर्छ। पुरानापुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन। बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यताबाट उता फाइल पठाउने र अध्ययन–विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन। कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा हुनुपर्ने उचित काम प्रभावकारी रूपमा हुनुपर्छ। त्यसका लागि हामीले फाइल कहाँ पुग्यो भन्ने ट्र्याकिंग प्रणाली कार्यान्वयन गर्दैछौँ। कुनै पनि फाइल सम्बन्धित कार्यालयमा आएको तीन दिनभित्र हुने नहुने निर्णय दिनुपर्ने पनि निर्णय गरेका छौँ।’

बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीबाट प्रस्तुत आगामी चार वर्षका लागि रणनीतिक तथा व्यावसायिक कार्ययोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ। यस्तै बैठकमा चालु तथा कार्यान्वयनको चरणमा रहेका, सम्झौता र मूल्यांकनका चरणमा रहेका विभिन्न परियोजनाबारे जानकारी गराइएको थियो। प्रधानमन्त्री ओली र प्रमुख कार्यकारी अधिकृत ज्ञवाली नियुक्त भएपछि बोर्डको यो पहिलो बैठक हो।

बोर्डले सरकारको लगानीसम्बन्धी बजेट र खर्च घट्दो रहेको अवस्थामा निजी क्षेत्र र प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धि गर्नुपर्ने, अन्तर्राष्ट्रिय लगानी सम्मेलनबाट प्राप्त प्रतिबद्धताबमोजिम काम हुनुपर्ने, स्वदेश र विदेशमा लगानी प्रवर्द्धनको काम गर्नुपर्ने, एकल विन्दु सेवा केन्द्रलाई पूर्ण कार्यान्वयनमा ल्याइ छिटो छरितो काम गर्नुपर्नेमा जोड दिएको छ। यस्तै विद्यमान कानुन संशोधन गरी बोर्डलाई अधिकार सम्पन्न र स्वायत्त बनाउनुपर्ने, प्रदेश र स्थानीय तहमा लगानी सहजीकरणका लागि विशिष्टीकृत केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ।

बैठकले बोर्डको चालु आर्थिक वार्षिकका लागि रु १८ करोड ८३ लाख बजेट तथा प्रमुख कार्यकारी अधिकृतको कार्यसम्पादन सम्झौता करारका सूचक स्वीकृत गरेको छ। बैठक लगत्तै बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अधिकृत ज्ञवालीबीच कार्यसम्पादन सम्झौता भएको छ। लगानी बोर्डले रु छ अर्बभन्दा माथि लगानी भएका परियोजना तथा २०० मेगावाटभन्दा माथि क्षमताका जलविद्युत् परियोजना सहजीकरण गर्दै आएको छ।