Tuesday, June 16, 2026
Home Blog Page 685

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा विकास कार्ययोजनामाथि छलफल

0

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा आज विभिन्न मन्त्री र उच्चाधिकारीसँग छलफल गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत उत्पादन गराउन कानुनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका साथै उत्पादन, पूर्वाधार, व्यापार र वित्तीय स्रोतको व्यवस्थापनका कार्यक्रमलाई छिटोछरितो रुपमा अघि बढाउने निष्कर्ष निकालिएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रका पूर्वाधार विकास आयोजना कार्यान्वयनमा वन, वातावरण र जग्गा प्राप्तिसँग जोडिएका समस्याको पहिचान गरी समाधानका उपायमाथि विमर्श गरिएको छ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियागत ढिलाइ र नीतिगत अस्पष्टताका कारण तोकिएको समयमा लक्ष्य हासिल नहुने र लागत बढ्ने स्थिति अन्त्य गर्न निर्देशन दिनुभयो।

उनले उत्पादन बढ्दो रहेको स्थितिमा विद्युत् व्यापारमा विविधीकरण गर्दै बंगलादेशमा विजुली निर्यात गर्न भारतको डेडिकेटेड ट्रान्समिटर लाइन बनाउने र बंगलादेश हुँदै अरु मुलुकमा पनि निर्यात गराउने गरी लाग्न आग्रह गरे। उनले आयोजनाका मुअब्जा र प्रसारणलाइनका विवाद मिलाउन तथा नेपाल विद्युत प्राधिकरणलाई औचित्यता र कार्यक्षेत्रका आधारमा व्यवस्थितरुपमा सञ्चालनमा ध्यान दिनुपर्ने बताए।

“यस क्षेत्रमा भइरहेको अनियमितता र चलखेललाई राज्यले देखेर पनि कारबाही गर्न नसक्ने स्थिति हुनु हुँदैन। शक्तिवालाले के भन्छ भनेर हाम्रो संयन्त्र चल्ने होइन”, प्रधानमन्त्री ओलीले भने, “शक्ति र बलका आधारमा होइन, नियम, काुनन, समयको माग र मुलुकको आवश्यकतामा चल्नुपर्छ। हामीले हाइड्रो इलेक्ट्रिकमा पनि जाने गरी लाग्नुपर्छ।”

आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत उत्पादन गराई खपत र निर्यात गरी मुलुकलाई वार्षिक २ दशमलव ६५ खर्ब आय हुने कार्ययोजनाको लक्ष्य रहेको छ।

यसले आठ लाख ६५ हजार एक सय १८ को संख्यामा रोजगारी सृजना हुने पनि प्रक्षेपण गरिएको छ। कार्ययोजना कार्यान्वयनका क्रममा उत्पादन, प्रसारणलाइन र वितरणका लागि करिब ४६ दशमलव ५ अर्ब अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ।

हाल मुलुकको विद्युत क्षमता तीन हजार दुई सय ४३ मेगावाट रहेको छ। प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा २०७२ फागुन ६ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दसकसम्बन्धी अवधारणापत्र र कार्ययोजना स्वीकृत भई कार्यान्वयनको आएको थियो। सोही कार्ययोजनाको जगमा विसं. २०७५ जेठ १ गतेदेखि मुलुक लोडसेडिङमुक्त भएको थियो।

नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उद्धार उडान गर्ने

0

काठमाडौं: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज २४ गते बडादसैंको फुलपातिका दिन काठमाडौं-भैरहवा गन्तव्यमा उद्धार उडान गर्ने भएको छ।

दसैंमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउने उद्देश्यले निगमले काठमाडौं-भैरहवा-काठमाडौं उद्धार उडान गर्ने निर्णय गरेको हो। निगमको न्यारोबडी ए ३२० विमानबाट उद्धार उडान गर्ने निर्णय भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।

राष्ट्रलाई समस्या परेकाबेला राष्ट्रिय दायित्व र जिम्मेवारीलाई बहन गर्दै निगमले सरकारको निर्देशनमा उद्धार उडान गर्न लागेको उनले बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशन अनुरुप भैरहवामा उद्धार उडान गर्न लागिएको निगमले उल्लेख गरेको छ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्ग बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आगमनमा कठिनाई भएको सन्दर्भमा यात्रुको सहजताका निम्ति निगमले उद्धार उडानको निर्णय लिएको हो।

निगमको उडान तालिका अनुसार २४ गते उडान नम्बर आए.ए. १७ ३३ विमान काठमाडौंबाट बिहान ११ बजे भैरहवाका लागि उडान भर्नेछ। भैरहवाबाट काठमाडौं उडान नम्बर आर.ए १७४३ १२ः ३० बजे भर्नेछ। यो गन्तव्यमा काठमाडौं-भैरहवा सात हजार र भैरहवा-काठमाडौं तीन हजार आठ सय ९० निर्धारण गरिएको छ।

काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै , हवाई टिकट पाउन मुस्किल

0

काठमाडौ: बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ ।

दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो । उहाँका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौँबाट बाहिरिएका छन् ।

दसैँका लागि काठमाडौँ उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् ।

बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरु दसैँको समयमा पनि घर जान नपाएर काठमाडौँ उपत्यकामै रोकिन बाध्य भएका आज काठमाडौँ बसपार्कबाट सुदूरपश्चिम जान हिँडेका कैलालीका लोकेश सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बस, हवाई केहीको पनि टिकट सहज पाउन सकिएको छैन, मैले त पहिले नै काटेकाले सिट पाए, मसँगका साथीहरू टिकट नपाएर काठमाडौँमै छुटेका छन् । कति नरमाइलो लागेको छ”, दसैँका लागि भन्दै अहिले यात्रुहरू महँगो मूल्य तिरेर बस तथा हवाईमा यात्रा गर्न बाध्य भएका छन् ।

यतिमात्र नभई कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर भए पनि यात्रा गर्न बाध्य भएका काठमाडौँबाट अछाम जानका लागि काठमाडौँको गोङ्गबु बसपार्कमा भेटिएका दीपकबहादुर खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्ष दिनको चाड घर जानैपर्यो, सिटका लागि टिकट पाइएन, गाडीले भाडा मिलाउला भनेपछि बोनटमा बसेर भए पनि घर जाँदैछु”, उहाँजस्तै टिकट नपाउँदा कतिपय यात्रुहरू बसमा राखिएका मुडा तथा बसको बोनटमा बसेर यात्रा गर्न बाध्य भएका छन् ।

मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिँदै

0

म्याग्दी: गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ ।

सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताउनुभयो ।

“जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ”, उहाँले भन्नुभयो, “गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो । यो सडकमा नियमित र सहज रूपमा यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ ।”

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले डोल्पाको सिमानामा पर्ने सुुकसाम्बामा बेलीब्रिज बनाउन चालुु आर्थिक वर्षमा रु ८५ लाख विनियोजन गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले थप तीनवटा बेलीब्रिज अथवा मोटरेबल पुल बनाउन र जोखिमयुक्त ठाउँको सडक स्तरोन्नति गरेर नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन स्घीय सरकारलाई प्रस्ताव गरिएको अध्यक्ष गुरुङले बताउनुुभयो ।

सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङबाट साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । रु २२ करोडको लगानीमा पाक्लिङबाट ५६ दशमलव पाँच किलोमिटर सडक खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघि नै सडक निर्माण भएको थियो । डोल्पा जोड्ने सडकको प्रवेशबिन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा दुई वर्षअघि प्रदेश सरकारमार्फत एक सय २० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले याकखर्कसम्म सवारी चल्न थालेपछि उपल्लो डोल्पाका बासिन्दा, व्यापारी र किसानको दुई दिनको यात्राअवधि तीन घण्टामा छोटिएको बताउनुभयो ।

“हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन थालेका छन्”, उहाँले भन्नुभयो, “छार्काताङसोङलगायत उपल्लो डोल्पाका बासिन्दाले दैनिक उपभोग्य सामान, निर्माण सामग्री ढुवानी, भेडाच्याङ्ग्रा र याक चाँैरी बिक्रीका लागि बजार लैजान यही सडक प्रयोग गर्छन् ।” डोल्पा र राजधानी काठमाडौँ जोड्ने यो छोटो दूरीको सडक हुने जनाइएको छ ।

सडक निर्माण भएपछि साङ्ता, याकखर्क घुम्न पर्यटक आउन थालेका साङ्ताका बासिन्दासमेत रहेका वडासदस्य छिरिङपासाङ गुरुङले बताउनुभयो । सडकमा थुप्रिएको हिउँ र पहिरो पन्छाएर गाउँपालिकाले याकखर्कसम्म नियमित यातायात सञ्चालनको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

समुद्री सतहबाट चार हजार मिटरभन्दा बढीको उचाइमा मानव बस्ती नभएको झमटङ डोल्मा हिमालको फेदीमा हुँदै निर्माण भएको सडकमा यात्रा गर्ने क्रममा वन्यजन्तु नाउरको बथान देखिन्छन् ।

बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

0

काभ्रेपलाञ्चोक: गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको
छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो ।

आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले बताउनुभयो । उहाँका अनुसार आज उक्त गाउँका लागि तयारी गरिएको सामग्री पठाइनेछ । भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहयता लिएको हो ।

बाढीपहिरोबाट पीडित उक्त गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमागाईँले बताउनुभयो । उहाँका अनुसार त्यस गाउँमा खाद्यान्न, बिजुली तथा पोषणको समस्या देखिएको छ । आज ड्रोनमार्फत चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइने हुमागाईँले बताउनुभयो ।

पनौती बजारबाट उक्त गाउँ पुग्ने सडक क्षतिग्रस्त भएकाले १२ नं वडास्थित भूमिडाँडाबाट ड्रोन उडाइ सामग्री पठाउन थालिएको हो । सामाजिक अभियन्तासमेत रहेका हुमागाईँका अनुसार ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामग्री ढुवानी गर्न सकिनेछ । “हावाको बहाव सामान्य रहे ६५ केजीसम्म राहत पठाउन सकिन्छ, नभए एकपटकमा २० किलोका दरले भए पनि राहत पठाउनेछौँ”, उहाँले भन्नुभयो । उहाँले आइतबार कानुनी प्रक्रिया पूरा गर्ने क्रममा सामग्री पठाउन ढिलो भएको बताउँदै आज ड्रोनमार्फत सामग्री पठाइने बताउनुभयो ।

संस्थाले अन्यत्र यस्तै अवस्थाको खबर आएकाले त्यस्ता स्थानमा प्राथमिकताका आधारमा ड्रोनमार्फत नै खाद्यान्न सामग्री पठाउने योजना बनाएको छ । त्यसका लागि सबैभन्दा बढी क्षति भई सडक सम्पर्क नभएको बस्ती, घरपरिवारको तथ्याङ्क सङ्कलनसमेत भएको हुमागाईँले बताउनुभयो ।

गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । घटनामा ७५ जना घाइते भएका छन् । यो सङ्ख्या गत साताको विपद्मा परी देशभर मृत्यु हुने सङ्ख्यामध्ये ३१ दशमलव ५६ प्रतिशत हो । तथ्याङ्कअनुसार देशभर बाढीपहिरोबाट हालसम्म दुई सय ४४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभे्रमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो ।

देखिन छाडे बारपाकमा परम्परागत ढुङ्गाका घर

0

गोरखा: प्राकृतिक सौन्दर्यता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो । जगदेखि छानोसम्म ढुङ्गा र काठले बनेका एकहजार तीन सय बढी एकै स्वरुपका घरहरु जोडिएर बनेकाले बारपाकको मौलिकता र छुट्टै चिनारी थियो ।

पूरै गाउँलाई एकै ठाउँबाट सजिलै दृश्यावलोकन गर्न सकिने बारपाकका प्रत्येक घरको आँगनमा एकै प्रकृतिका ढुङ्गा छापिएका हुन्थे । सबैका आँगनको पर्खाल एउटै स्वरुपका ढुङ्गाले उठाइएका हुन्थे । बारपाकमा घरको गारो उस्तै, घरको छाना कालो ढुङ्गाले छाएका थिए । तस्बिरमा हेर्दा कुनै कलाकारले कोरेको चित्र जस्तै देखिने बारपाक गाउँमा अहिले ढुङ्गाका घर देख्न मुस्किल पर्छ ।

विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले ढुङ्गाका अधिकांश घर एकै झट्कामा भत्काइदियो । घर भूकम्पले भत्काएपछि अधिकांशले परम्परागत शैलीको घर बनाउने कल्पनासम्म गरेनन् । ढुङ्गाले बनेका घर भुकम्प प्रतिरोधी हुँदैन भन्ने धेरैको मनमा प-यो ।

उनीहरुले कङ्क्रिटको प्रयोग गरेर आधुनिक घर बनाए । परम्परागत घर बलियो नहुने लागेकैले कङ्क्रिटको प्रयोग गरी घर बनाएको स्थानीय सुशीला घले बताउनुहुन्छ । ‘‘बारपाकको चिनारी दिने पुरानो शैलीका घर बनाएर बस्न मन नभएको होइन तर फेरि ठूलो भूकम्प आयो भने सुरक्षित नहुने रहेछ जस्तो लाग्यो । पुरानो घरको मौलिकतालाई सम्झिरहेका छौँ, तै पनि हामीसँग कुनै विकल्प भएन’’, उहाँ भन्नुहुन्छ ।

अहिले बनेका घर सुरक्षित भएपनि आधुनिक घरसँगै स्थानीय मौलिकता, सामाजिक, पारिवारिक सम्बन्ध कमजोर बनेको महसुस स्थानीयलाई छ । ‘‘भौगोलिक बनावटअनुसार स्थानीयस्तरमा पाइने सामग्रीबाट बनेको घर नै उपयुक्त हुने रहने छ भन्ने लाग्छ । आधुनिक घर चिसो हुँदा स्वास्थ्यमा असर परेको अनुभूति छ,’’ घलेले भन्नुभयो ।

भूकम्पको कहाली लाग्दो क्षति सम्झँदा कतिपयलाई त्यतिबेला अहिलेको जस्तो पक्की घर भइदिएको भए धेरैले ज्यान गुमाउनपर्ने थिएन की भन्ने लाग्छ । अर्का स्थानीयवासी सुकबहादुर गुरुङ भन्नुहुन्छ, ‘‘भूकम्पका बेला अहिले जस्तो पक्की घर भए धेरैको ज्यान बच्ने थियो कि । मौलिकताभन्दा सुरक्षित हुने घर नै राम्रो होला ।’’

भूकम्पपछि बारपाकमा निजी घर पुनःनिर्माण सकिएको छ । छिटपुट बाहेकले परम्परागत घर बनाएका छैनन् । थोरैले बनाए पनि ढुङ्गाको छानोको सट्टा टिनको छानो राखेका छन् । भूकम्पले बारपाकको मौलिकता र चिनारी खोसेको छ ।

पुरानो शैलीका घरमा अगाडि र पछाडि दुवैतर्फ आँगन थिए । भुइँ तल्लाको बीच भागमा अँगेना हुन्थे । अहिले बनेका सिमेन्टका घरमा चुल्हो कहाँ राख्ने भन्ने नै निश्चित छैन । परम्परागत घरलाई पनि भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने बुझाउन नसक्दा बारपाकलाई पुरानै शैलीमा पुनःनिर्माण गर्न नसकिएको केही स्थानीयको मत छ ।

पुनःनिर्माणका क्रममा मौलिकता जोगाउने ठोस योजना नबन्दा समस्या भएको बारपाक सुलिकोट गाउँपालिका–१, का वडाध्यक्ष धनबहादुर घले बताउनुहुन्छ । ‘‘बाउबाजेले स्थापना गरेको पुरानो डिजाइनको घरहरु जोगाउन सकेनौं । भूकम्पपछि परिवर्तनसँगै चल्नुपर्छ भन्ने धेरैको कुरा भयो । कतिपयले पुराना चिनारी जोगाउनुपर्छ नभनेका होइनन् तर पुनःनिर्माण गर्दा मौलिक चिनारी बचाउन सकिएन’’, उहाँले भन्नुभयो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँगको समन्वयमा बारपाकलाई पुरानै शैलीमा फर्काउन प्रयास गरिएपनि सफल हुन सकेन । वडाध्यक्ष घले भन्नुहुन्छ, ‘‘बारपाकमा पुराना डिजाइनका घर कहीँ छैन् । अब बारपाक परम्परागत बारपाक रहेन । अब सार्वजनिक ठाउँमा संरचना निर्माण गर्दा पुरानै मोडलमा निर्माण गर्ने योजना छ ।’’

बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले ढुङ्गाको पुराना घर नबने पनि बारपाकको सुन्दरता नहराएको बताउनुभयो । ‘‘बारपाकले नयाँ स्वरुप र सुन्दरता पाएको छ, पुराना शैलीका घर नबने पनि पुनः निर्माणले यहाँको सौन्र्दयता बढाएको छ । थुप्रै पर्यटकीय आर्कषणले साँच्चै बारपाक सिँगारिएको छ’’, उहाँले भन्नुभयो ।

बारपाक लाहुरेहरुको गाउँ हो । दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गर्नुभएका गजे घलेको गाउँ भएकाले बारपाकको इतिहास गर्विलो छ । बुद्ध हिमालको काखमा समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित बारपाकको कला, संस्कृति, परम्परागत रीतिरिवाज, वीरता र प्राकृतिक सौन्दर्यता विश्वसामु चिनाउन पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।

आज बसोवास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

0

काठमाडौँ: आज विश्व बसोवास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोवास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइन लागिएको हो।

सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट) को आह्वानमा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

‘कर्मशील युवा ः समुन्नत सहर’ नाराका साथ यस वर्षको विश्व बसोवास दिवस मनाउन लागिएको विश्व बसोवास दिवस २०८१ मूल तयारी समितिले जनाएको छ । यस अवसरमा आज सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग र युएन ह्याबिट्याटको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

दिगो विकास लक्ष्यको लक्ष्य एक दशमलव एकले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ । दिगो सहरीकरण र समृद्ध अर्थतन्त्रलाई मूलमन्त्र मानेर मन्त्रालय तथा विभागले सघन सहरी विकास कार्यक्रम, क्षेत्रीय सहरी विकास आयोजना, सहरी करिडोर आयोजना, नयाँ सहर आयोजनामार्फत विभिन्न स्थानीय तहमा सामाजिक तथा आर्थिक पूर्वाधार विकासका कार्यक्रमहरु कार्यान्वयन गर्दै आएका छन् । त्यसै क्रममा यस वर्षको नाराले समुन्नत सहर निर्माणमा कर्मशील युवा वर्गलाई जागरुक बनाउने विषय अघि सारेको छ ।

दिवसका अवसरमा आज यस क्षेत्रका विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला आयोजना गरिएको विभागले जनाएको छ । यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याबिट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले विविध कार्यक्रम आयोजना गरेको दिवस मूल समारोह समितिले जनाएको छ । यस वर्षको नारामा आधारित रही सहरी अर्थतन्त्रका विभिन्न पक्षसहितको प्राविधिक सत्र र छलफल कार्यक्रम आयोजना हुने जनाइएको छ ।

राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालका नगरपालिकाको जनसङ्ख्या ६६ दशमलव १७ प्रतिशत रहेको छ । समग्र अर्थतन्त्रमा यस क्षेत्रको योगदान ७६ दशमलव एक प्रतिशत रहेको विभागले जनाएको छ ।

अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित

0

काठमाडौँ: अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिबलको गुडविल एम्बेस्डरमा उनीहरूलाई शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो।

कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौँमा बलुनमा उडेर चलचित्रको सुटिङ गरेको अनुभव सुनाए । साथै अब नयाँ चलचित्रमा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए ।

नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो समय एडभेन्चरले समेत प्राथमिकता पाउँदै गएको उनले बताए । जसको उदाहरण बलुन नेपालमार्फत हट एयर बलुनमा उड्न पाउनु समेत रहेको उनको भनाइ छ। अन्तर्राष्ट्रिय बलुन महोत्सवले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने समेत महानायक हमालले विश्वास व्यक्त गरे ।

लोकप्रिय नायिका कार्कीले आफूले पोखरामा प्याराग्लाइडिङदेखि विभिन्न धेरै एड्भेन्चर गरिसकेको र बलुनले पनि छुट्टै किसिमको मनोरञ्जन दिलाउने विश्वासका साथ सहकार्यका लागि आबद्ध भएको बताइन्। “म यो ऐतिहासिक कार्यक्रमको एउटा हिस्सा बन्न पाउँदा अत्यन्त खुसी छु”, उनले भनिन् ‌।

बलुन नेपाल प्रा लिको आयोजना र रिज्म्याटिक इन्टरटेन्मेन्टसँगको सहकार्यमा पर्यटन राजधानी पोखरामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना गर्न लागेको हो।

क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आगामी पुस ९ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो । ‌कार्यक्रममा बलुनमा उड्न चाहने पर्यटकका लागि कम्पनीको आधिकारिक वेबसाइटमार्फत अग्रिम बुकिङ समेत खुला गरिएको छ ।

साथै गैर आवासीय नेपाली समाज (एनआरएनए)बाट पनि यस कार्यक्रमको प्रवर्द्धन हुँदैछ। जसका लागि कम्पनीका निर्देशक समेत रहेका बेलायतका दीपककुमार श्रेष्ठ र रोबर्ट विश्वकर्माले समन्वय गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक सबिन महर्जनले जानकारी दिए ।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहनेछ । जसमा बेलुन नेपालको तर्फबाट ५ वटा हट एयर बलुन सञ्चालन गरिनेछ। स्पेन, फ्रान्स, अमेरिका, युके, लाटभिया, जर्मनी, लाओस, अस्ट्रिया, कोरिया, इटलीलगायत विभिन्न मुलुकबाट २५ वटा देश सहभागी हुने गरी तयारी भइरहेको कम्पनीका निर्देशक बिबि ढकालले जानकारी दिए ।

महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए । महोत्सवका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरूले अपेक्षा गरेको उनले बताए ।

कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिवल प्रभावकारी हुने उनको भनाइ छ।

महोत्सवमा बलुनभित्रै डिजे सेसन पनि रहनेछ जसलाई मुख्य आकर्षणको रूपमा समावेश गरिएको कम्पनीले जनाएको छ। रातिको समयमा पनि बलुन उडाएर बेलुन ग्लो लगायतका हट एयर बेलुनसम्बन्धी खेलमार्फत मनोरञ्जन दिलाइने कम्पनीले बताएको छ।
सन २०१८ बाट बेलुन नेपालले हट एयर बेलुन उडान सेवा पोखराबाट दिँदै आएको छ।

हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

0

पाटन (ललितपुर): गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको
छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उहाँले हेलिकप्टर प्रयोग गरेर भएपनि राहत वितरण गर्न निर्देशन दिनुभएको हो ।

“विपदको समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्छ, ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्याङ्क छ र सरकारले दिने रु दुई लाख राहत ३९ जनाले पाउनुभएको छ”, उहाँले भन्नुभयो, “बाँकी छ जनाले पनि तत्कालै पाउनुहुन्छ, पूर्ण रुपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउनुस्, प्राधिकरणले नाम प्राप्त गरेको तीन दिनभित्र लाभग्रागीलाई पैसा पठाउँछ ।”

नागरिकले खुला आकास मुनि बस्न नपरोस् भन्नुहुँदै गृहमन्त्री लेखकले नागरिकले प्रमुख जिल्ला अधिकारी आएपछि पानी खान पाउँछु भनेर बस्नुपर्ने अवस्था आउनुहुँदैन भन्नुभयो ।

“एकद्वार प्रणालीबाट राहात वितरण गर्ने भनिएपनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्बन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरुले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुहोस्”, गृहमन्त्रीले भन्नुभयो ।

उहाँले अहिलेको संविधान कानुनले चार तहको संरचना तय गरेको भन्नुहुँदै चारवटै विपद् व्यवस्थापनका संयन्त्रहरु जोडिएर मिलेर काम गर्नुपर्छ भन्नेमा जोड दिनुभयो ।

“विपद्मा सङ्घ, प्रदेश र स्थानीय तह तीन वटै तहको विपद् व्यवस्थापन समिति मिलेर काम गर्नुपर्छ, मानिसको आवागमन खोल्ने कुरा महत्त्वपूर्ण हुन्छ, मानिस बिरामी भएको ठाउँमा चिकित्सक पु¥याउन पनि गाह्रो छ”, उहाँले भन्नुभयो, “जसरी भएपनि अहिले सडक खुलाउने काम गर्नुस्, जनशक्ति र साधन थपेर भएपछि टीकाभैरबको पुल सञ्चालन ल्याउनुपर्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पाेखरेलले घर पूर्ण क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि प्रतिघर रु ५० हजार उपलब्ध गराउने व्यवस्था रहेको बताउनुभयो । उहाँले तथ्याङ्क उपलब्ध भएको तीन दिनभित्र रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

पूर्वअर्थराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले विपद् क्षेत्र घोषणा भएका स्थानीय तहलाई सडक मर्मतमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले धरापमा भएका घरहरुलाई मर्मतका लागि तत्कालै ध्यान दिन आग्रह
गर्नुभयो ।

ललितपुर क्षेत्र नं २ का सङ्घीय संसद प्रेमबहादुर महर्जनले भौतिक क्षतिको विवरण खोज्न मिहिन ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानवीय संवेदना बुझेर काम गर्न राज्यले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

बागमती प्रदेशका स्वास्थमन्त्री रामेश्वर श्रेष्ठले शुद्ध पिउने पानी र सञ्चार क्षेत्रमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले राहत वितरणलाई प्रभावकारी बनाउन पनि जोड दिनुभयो ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाभित्र प्राकृतिक विपद्मा परी छ जनाको मृत्यु भएको जानकारी गराउनुहुँदै विपद् व्यवस्थापनमा आवश्यकता अनुसार प्रत्येक वडाले तत्कालै व्यवस्थापन गर्न सक्नेगरी बजेट व्यवस्थापन गरेको बताउनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पालिकाभित्र २० जनाको मानवीय क्षति, एक सय आठ वटा सरकारी संरचनामा क्षति र ५५ वटा खानेपानी योजनामा क्षति पुगेको जानकारी दिनुभयो

उहाँले नल्लु र बासुकीको खानेपानी तत्कालै सञ्चालन गर्नुपर्ने भन्दै २७ वटा कल्भर्ट, तीन वटा पूल, २० वटा सडकखण्ड र दुई सय १६ घरमा क्षति पुगेको बताउनुभयो । उहाँले वटा नं. ७ देबिचौरमा हालसम्म विद्युत् र टेलिफोन सेवा पुग्न नसकेको जानकारी गराउनुभयो ।

महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठले पालिकाभित्र सात जना मृत्युु भएको बताउनुभयो । उहाँले वडा नं ९ मा खानेपानीको समस्या रहेको, वडा नं. १० सम्म जाने सडक मर्मत भैरहेको र प्रभावित क्षेत्रमा लागत सङ्कलन भैरहेको जानकारी गराउनुभयो । महालक्ष्मी नगरपालिकाका वडा नं. १, ५ र ७ बढि प्रभावित भएको उहाँले जानकारी
गराउनुभयो ।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले विपद्का कारण गाउँपालिकाभित्र खानेपानीको पाइपमा पूर्ण रुपमा क्षति भएकाले सञ्चार सम्बन्ध टुटेको जानकारी गराउनुभयो । उहाँले पालिकाभित्र एक सय ५० घर पूर्ण रुपमा क्षति भएको, नल्लु र भारदेउका बस्ती बगरमा परिणत भएको बताउनुभयो । उहाँले दुई वटा सामुदायिक र एउटा निजी विद्यालयमा क्षति भएको बताउँदै सबैभन्दा पहिलो बाटो सञ्चालनमा ल्याइ विद्युत् र सञ्चारलाई व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष शिव कट्टेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, नेपाली कांग्रेसका जिल्ला सचिव राजनप्रसाद घिमिरेलगायतले विपद्ले निम्त्याएको समस्या र समाधानबारे जानकारी गराउनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले घरमै पुगेर राहत वितरणका काम गरिरहेका जानकारी दिँदै अस्थायी आवास निर्माणका लागि स्थानीय तहलाई जिम्मा दिन सक्ने बताउनुभयो । उहाँले ललितपुरमा हालसम्म पनि छ जना बेपत्ता रहेको बताउनुभयो ।

पर्यटन राजधानी पोखराको लेकसाइड असुरक्षित

0

पोखरा । गण्डकी सरकारले पोखरालाई गत चैतमा पर्यटन राजधानी घोषणा गरी सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत गण्डकीलाई पर्यटन हबका रूपमा व्याख्या गर्दै आइएको छ ।

राजधानी घोषणा गरेपछि पर्यटक संख्या २० लाख नाघ्ने अनुमान गरिएकोमा अहिले हरेक वर्ष औसतमा नौ लाख पर्यटक मात्र गण्डकी प्रदेश आउने गरेको अनुमान छ ।

राजधानी घोषणा गर्नुपूर्व अध्ययन गर्न गठित समितिले घोषणापछि गर्नुपर्ने कामको सिफारिस गरेको थियो । पूर्वाधार निर्माणसँगै विद्यमान संरचनामा सुधार गर्नुपर्ने समितिको सिफारिस वा सुझाव भए पनि सो अनुरूपको काम सुरु भएको छैन ।

पर्यटक सवारीका लागि छुट्टै हरियो प्लेटको गाडी व्यवस्था गर्नुपर्ने, नेपालको भिसा लिएर आएका विदेशी तथा स्वदेशी पर्यटकसँग कुनै पालिका विशेषमा प्रवेश शुल्क लिन नपाउने व्यवस्था गर्नुपर्ने, पर्यटकको बसाइ लम्ब्याउन भारतीय सवारी–साधन नेपालमा रहन पाउने, भन्सार अवधि थप गर्न पाउने व्यवस्था पोखरामै हुनुपर्ने समितिको सुझाव थियो ।

यस्तै, ६ हजार मिटर उचाइसम्मका हिम चुचुराको आरोहण अनुमति पोखराबाटै दिने व्यवस्था मिलाउनुपर्ने, विदेशी पर्यटकले भारतीय भिसाको आवेदन पोखराबाट गर्न पाउने व्यवस्था मिलाउन पेन्सन क्याम्पसँग समन्वय गर्नुपर्ने, गण्डकीको निश्चित नदीलाई र्‍याफ्टिङ हेरिटेज र निश्चित पदमार्गलाई ट्रेकिङ हेरिटेजका रूपमा ब्रान्डिङ गर्नुपर्ने, पोखरादेखि मनाङ जोड्ने नयाँ पदमार्गको विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

राउन्ड अन्नपूर्ण, धवलागिरि, माछापुच्छ्रेको पदमार्ग विकास गर्नुपर्ने, पोखराबाट जुम्ला र डोल्पासम्म नियमित सिधा उडानको व्यवस्था गरी कर्णालीका पर्यटकीय सम्पदालाई मूलधारको पर्यटन बजारसम्म पुर्‍याउने, पोखराबाट अन्तर्राष्ट्रिय उडान भएपछि पनि प्याराग्लाइडिङ उडानलाई नियमित गर्नुपर्ने, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाभित्र सञ्चालनमा रहेका होटलको समस्या समाधान गर्नुपर्ने, भविष्यमा हुने मागलाई पनि सम्बोधन गर्ने गरी नीति निर्माण गर्नुपर्ने, चीनले सुरु गरेको ‘ड्रागन बोट फेस्टिभल’ र ‘क्रस कन्ट्री म्याराथन’लाई नियमित रूपमा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने समितिको प्रस्ताव थियो । प्रस्ताव अनुसारका कुनै पनि काम अघि बढेका छैनन् ।

‘पर्यटकको राजधानी भएको आभास दिलाउन प्रदेशले जति गर्नुपर्ने हो, गरेको छैन । पोखरा महानगरपालिकाको पञ्चवर्षीय योजनामा केही कार्यक्रम समेटिएका त छन्,’ पोखरा महानगरपालिकाका पर्यटन संयोजक रवीन्द्र पौडेल भन्छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न र छिटो पोखराबाटै पर्यटक आउजाउ गर्न पाउने व्यवस्था मिलाउनुपर्ने थियो । त्यो हुन सकिरहेको छैन ।’

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठ पोखरालाई पर्यटनको राजधानी घोषणा गरे पनि सरकारको बजेट प्राथमिकतामा पर्यटन नपरेको बताउँछन् । ‘राजधानी घोषणा भयो, राम्रो हो । त्यही अनुसार सरकारले बजेट विनियोजन गर्नुपर्थ्यो,’ उनी भन्छन्, ‘बजेटले समेट्न सकेन ।’

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारको चासो र पहल नपुगेको उनको भनाइ छ । ‘नेपाल एयरलायन्सको न्यारो र वाइड बडी थपेर भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ,’ उनी भन्छन् ।

गण्डकीमा औसत बसाइ
राष्ट्र बैंकको पोखरा कार्यालयले गरेको एक अध्ययन अनुसार, गण्डकी प्रदेशमा पर्यटकको बसाइ घट्दो देखाउँछ । चार सय जना पर्यटकमा गरिएको अध्ययनले सबैभन्दा धेरै मनाङमा औसत १८ दिनसम्म पर्यटकले समय बिताउँछन् भने सबैभन्दा कम गोरखामा चार दिन मात्रै समय गुजार्छन् ।

पर्यटकले औसत दैनिक आठ हजार ३५५ रुपैयाँ खर्च गर्छन् । सबैभन्दा बढी खर्च खानामा २८.२२ प्रतिशत गरेका छन् भने बसाइमा २७.६ प्रतिशत । यस्तै, यातायातमा २१.७ र मनोरञ्जनमा १२.३ प्रतिशत खर्च गर्छन् ।’

गत वर्ष ४१ देशबाट पर्यटकहरू गण्डकीको भ्रमणमा आएकामा सबैभन्दा बढी भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका थिए । अर्को रोचक तथ्याङ्क के छ भने पहिलोपटक आउने पर्यटक ६८ प्रतिशत छन् भने ३२ प्रतिशतले दोहोर्‍याएर गण्डकीको भ्रमण गरेका छन् । जसमा युवा पुस्ता बढी देखिन्छन् ।

३१ देखि ४५ वर्ष उमेर समूहका ३३ प्रतिशत पर्यटकले गण्डकीको भ्रमण गर्ने उक्त अध्ययन रिपोर्टमा उल्लेख छ । ४० प्रतिशतभन्दा बढी पर्यटक साहसिक गतिविधिमा रमाउनका लागि आउँछन् । सबैभन्दा कम करिब तीन प्रतिशत व्यापारिक प्रयोजनका लागि घुम्ने गरेका छन् ।

अध्ययन अनुसार पोखरा आउने केही पर्यटक व्यापारका लागि पनि आएका छन् । यस्तै, ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटक साहसिक क्रियाकलाप र ४६ देखि ५५ वर्ष उमेर समूहका धार्मिक कामका लागि आउँछन् ।

पदयात्रा
पदयात्रा पर्यटनका लागि आउने पर्यटक बिस्तारै घट्दै छन् । अनुमानित सरकारी तथ्याङ्क अनुसार नेपाल आएका ४० प्रतिशतले पोखराको भ्रमण गर्छन् । तीमध्ये ५० प्रतिशतभन्दा बढी पदयात्राका लागि जान्थे । त्यसको अद्यावधिक विवरण पछिल्लो २० वर्षयता छैन । पुरानै अनुमानको निरन्तरताले गण्डकीमा पर्यटकको तथ्याङ्क चलिरहेको छ ।

१९५० जुन ३ तारिखमा मौरिस हार्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेपछि पोखरा र यस क्षेत्रमा पदमार्ग पर्यटन फस्टाएको हो । अहिले उक्त पदमार्गहरू सडकका कारण हराएका छन् । २१ दिनको अन्नपूर्ण सर्किट घटेर चार दिनदेखि सात दिनमा झरेको छ । त्यसैले व्यवसायी र सरोकारवालाले नयाँ र वैकल्पिक मार्गहरूको खोजी र विकास गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारले ११ वटा सेटलाइट गन्तव्य पहिचान गरेर विकासका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ ।

नीति योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाका अनुसार, सेटलाइट गन्तव्यहरूको विकास भएपछि पर्यटकको बसाइ लम्बिनेछ । अहिले पोखराको पर्यटनले दक्ष जनशक्तिको अभाव पनि बेहोरिरहेको छ । आर्थिक मन्दीका कारण व्यापार घटेपछि २० प्रतिशत हाराहारी व्यवसायी विस्थापित भएको अनुमानित आकलन पर्यटन सम्बद्ध संघ–संस्थाले गरेका छन् । पोखरा छिर्ने पृथ्वीराजमार्ग निर्माणाधीन छ । सिद्धार्थ राजमार्ग स्तरोन्नतिको प्रस्ताव गरिएको छ । सडक निर्माण र स्तरोन्नति तीव्र बनाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निर्देशन छ ।

गण्डकीमा अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष, चितवन राष्ट्रिय निकुञ्जसँगै हिमाली क्षेत्रहरू पर्यटनका हिसाबले प्रख्यात छन् । त्यसबाहेक पोखराको साहसिक खेलकुद, प्राकृतिक र सांस्कृतिक गतिविधि पनि पर्यटक तान्ने क्षेत्र हुन् ।

गण्डकीको पर्यटन क्षेत्रमा सात खर्बभन्दा बढी लगानी छ । अझै थपिने क्रम जारी छ । पोखरा र यहाँका पर्यटकीय गन्तव्यमा पुग्ने हवाई र स्थलमार्गहरू सुरक्षित नभएका कारण पर्यटनमा चेतावनी बढेको छ भने लगानी उठ्नेमा व्यवसायीहरू सशंकित छन् । पोखराको पर्यटन विकासका लागि केही समयअघि सातै प्रदेशका पर्यटनमन्त्रीहरूले बैठक बसेर नीति संवाद गरे । उक्त बैठकबाट पदमार्ग विकास र विस्तारका लागि मापदण्ड बनाउन समिति गठन भएको छ ।

पर्यटनविज्ञ वासु त्रिपाठी नियमन नहुँदा लेकसाइड क्षेत्र झनै असुरक्षित भएको बताउँछन् । ‘४२ बुँदे निर्देशिका अनुसार लेकसाइडलाई चौबिसै घण्टा खुला गर्ने भनियो । खुला भए पनि न सुरक्षाकर्मी थपिएको छ, न त नियमन अनुगमन भएको छ,’ उनी भन्छन्, ‘त्यसकारण लेकसाइड इतिहासमै सबैभन्दा असुरक्षित भएको छ । तत्कालै कानुनी झन्झट हटाउनुपर्छ ।’